२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

विदेशी पर्यटक आगमन बढ्दै, अप्रिलमा ५८ हजार बढी भित्रिए

कोरोना भाइरस संक्रमणले थलिएको पर्यटन क्षेत्रलाई राहत दिलाउने गरि विदेशी पर्यटकको आगमनमा वृद्धि भएको छ। यो अप्रिल महिनामा मात्र नेपालमा ५८ हजार ३ सय ४८ जना विदेशी पर्यटक भित्रिएको नेपाल पर्यटन बोर्डले बताएको छ। बोर्डका अनुसार कोरोना संक्रमण सुरु भएपछिको यो नै सबैभन्दा ठुलो आगमन संख्या हो।  

बोर्डका अनुसार गत मार्चमा नेपालमा ४२ हजार ६ जना विदेशी पर्यटक भित्रिएका थिए। मार्चको तुलनामा अप्रिलमा ३८ प्रतिशत आगमन वृद्धि भएको पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेले जानकारी दिए। ‘विदेशी पर्यटक आगमनको गति अघि बढिरहेको छ। केही दिनपछि हुने स्थानीय तहको निर्वाचनका कारण यो महिना (मे) मा आगमन केही घट्न सक्छ। तर, निकै नै तल भने झर्दैन,’ उनले भने, ‘कोरोनाले थलिएको पर्यटन क्षेत्रमा विदेशीको यो आगमनले राहत दिने अपेक्षा छ।’

कोरोनाले थलिएको बेला २०२१ को अप्रिलमा मात्र नेपालमा २२ हजार ४ सय ५० जना विदेशी पर्यटक भित्रिएका थिए। अघिल्लो भन्दा अहिलेको अप्रिलमा झन्डै १६० प्रतिशत आगमन बढेको निर्देशक लामिछानेले बताए। कोरोनाले सबैभन्दा बढी प्रभावित पारेको २०२० को अप्रिल महिनाको आगमन संख्या जम्मा १४ थियो। करिब शुन्यमा झरेको पर्यटन क्षेत्रले छोटो समयमै गति लिने संकेत यो आगमनले देखाउने लामिछानेको भनाई छ। कोरोनाको प्रभाव नरहँदा २०१९ को अप्रिलको आगमन भने १ लाख ९ हजार ३९९ रहेको थियो।  

निर्देशक लामिछानेका अनुसार २०१९ को तुलनामा २०२२ को अप्रिलमा नेपालमा पर्यटक आगमनमा ५३ प्रतिशत ‘रिभाईभ’ भएको छ। ‘कोरोना संक्रमण कम रहेकोले अब नेपालमा विदेशीको आगमनमा वृद्ध हुने संकेत देखिएको छ। अहिले आगमनको ग्राफ पनि उकालो लागिरहेको छ,’ लामिछानेले भने, ‘कोरोना संक्रमणले पर्यटन क्षेत्रमा सबैभन्दा बढी मार परेको थियो। अब त्यो आगमन सुधार हुने देखिएको छ। व्यवसायीले पनि पाहुना पाउन थाल्दा सहज ठानेका छन्।’

२०२२ लागेपछिका हरेक महिना नेपालमा आगमनमा सुधार देखिएको छ। गत जनवरीमा नेपालमा १६ हजार ९ सय ७५ जना विदेशी भित्रिएका थिए। यो संख्या फेब्रुअरीमा १९ हजार ७ सय ६६ थियो। बोर्डको तथ्यांक अनुसार सार्क सदस्य मुलुकका मात्र अप्रिल महिनामा २४ हजार ५ सय ४८ जना पाहुना नेपाल भित्रिएका छन्। ती मध्ये सबैभन्दा बढी भारतीय २२ हजार ४ सय ७७ रहेका छन्। त्यस्तै चीनबाट २८१, जापानबाट ३२० जना पाहुना भित्रिएको बोर्डको तथ्यांक छ। 

यूरोपियन मुलुकहरु फ्रान्सबाट १९ सय २२, जर्मनीबाट २ हजार ९७ जना पाहुना नेपाल भित्रिएका छन्। युक्रेनसँगको युद्धमा रहेको मुलुक रसियाका ९ सय ५३ जना पर्यटक अप्रिल महिनामा नेपाल भित्रिएका छन्। अध्यागमन विभागको तथ्यांक अनुसार कोरोना महामारीबीच पनि २०२१ मा रुसबाट २१०७ जना पाहुना नेपाल भित्रिएका थिए। त्यस्तै त्यहीवर्ष युक्रेनबाट आएका पर्यटकको संख्या ९ सय ९७ थियो।  

गत अप्रिल महिनामा सबैभन्दा धेरै अमेरिकाबाट नेपालमा ६ हजार ९ सय ५४ जना र त्यसपछि बेलायतबाट ५ हजार २ सय ५२ जना पाहुना नेपाल भित्रिएका छन। त्यस्तै अस्टे«लियाबाट समेत २७ सय २६ जना पर्यटक नेपाल भित्रिएको बोर्डको तथ्यांक छ।  

पर्यटक आगमन बढ्न थालेकोमा व्यवसायी पनि खुसी छन् । पोखरा पर्यटन परिषद् (पिटिसी)का उपाध्यक्ष पोमनारायण श्रेष्ठ भन्छन, ‘पाहुना आउन थालेपछि थोरै भएपनि राहतको महसुस भएको छ। अहिले विदेशी देखिन थालेका छन्। यसले व्यवसायीलाई उत्साही बनाएको छ,’ उनले भने, ‘कोरोना संक्रमण नबढ्ने हो भने आगामि दिन हाम्रा लागि सुखद् हुनेछन्।’ अहिले पोखरा सहित आसपासका क्षेत्रमा विदेशी पाहुना पुग्न थालेका छन् भने साहसिक पर्यटकीय गतिविधिमा पनि उत्तिकै रमाउन थालेका छन्। 

प्रकाशित: १९ वैशाख २०७९ ०९:३८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App