७ वैशाख २०८१ शुक्रबार
अर्थ

सोह्र श्राद्ध : मांसाहारी घटे, शाकाहारी बढे

अहिले सोह्र श्राद्ध चलिरहेको छ। यही बेला धनगढीमा मासुको व्यापार घटेको छ भने तरकारी तथा फलफूलको व्यापार बढेको छ। सोह्र श्राद्धमा मासु तथा लसुन, प्याज खान नपाइने हुँदा यहाँ मासुको व्यापारमा मन्दी आएको हो। मासुसँगै अण्डा, लसुन र प्याजको व्यापारमा मन्दी आए पनि तरकारी तथा फलफूलको माग भने बढेको छ। अन्य दिनको तुलनमा सोह्र श्राद्धका समयमा यहाँ मांसाहारी घटेका छन् भने शाकाहारी बढेका हुन्।  

दैनिक ५० केजी ब्रोइलर कुखुराको मासु बिक्री गर्दै आएका सेन्ट्रल पोल्ट्री फर्म एण्ड मिट सप धनगढीका गोकर्ण चौधरीले भने, ‘सोह्र श्राद्ध चलिरहेका बेला मुस्किलले २५ केजी मासु बिक्री हुने गरेको छ।’ सोह्र श्राद्ध लागेदेखि भने मासुको काराबार घटेको उनले बताए। ‘सोह्र श्राद्धभरी धनगढीमा मासुजन्य पदार्थको बिक्री घट्ने गरेको छ,’ उनले भने, ‘हरेक वर्ष सोह्र श्राद्धमा हिन्दू धर्मावलम्बीहरु पितृ सम्झँदै माछामासु बर्जित गर्छन्।’

खासगरी सोह्र श्राद्धमा मासुको कारोबारमा मन्दी आउने गरेको बताउँदै हिमचुली मासु पसलका सञ्चालक आशाराम चौधरीले भने, ‘यो बेला मासुको कारोबारमा कमी आउने गरेको छ।’  सोह्र श्राद्धमा रेष्टुरेन्टमा पनि मांशाहारीको कारोबारमा कमी आउने गरेको कैलाली होटेल व्यवसायी संघका अध्यक्ष कलम बमले बताए। उनले भने, ‘सोह्र श्राद्धमा टिनएजरलाई त्यति फरक नपरे पनि अलि उमेर छिप्पिएका व्यक्तिहरु भने अहिले पनि ‘ननभेज’का परिकार खान मान्दैनन्।’ अहिले मांशहारीमा ५० प्रतिशतले व्यापारमा कमी आएको उनले बताए।  

सोह्र श्राद्ध चलिरहेकाले पछिल्ला दिनहरुमा मासुका परिकार बिक्री घटेको शुभारम्भ होटेल बसपार्कका सञ्चालक मनोज देउवा बताउँछन्। ‘सोह्र श्राद्धले मासुमात्रै नभई मदिराको समेत बिक्री घटेको छ,’ उनले भने। धार्मिक परम्पराअनुसार सोह्र श्राद्ध भरी यहाँका प्रायःले माछामासु, अण्डा र लसुन, प्याज खाँदैनन्। मासु खानेहरु नै अहिले सोह्र श्राद्ध चलिरहेको भन्दै ‘भेज’ का परिकार रोज्न थालेको उनले बताए। ‘मासुका परिकार खान आउने ग्राहकहरु नै हिजोआज श्राद्ध चलिरहेको बताउँदै ‘भेज’का परिकार ‘अर्डर’ गराउँछन्,’ उनले भने।

श्राद्धले गर्दा कुखुरा र खसीको मासुका साथै माछाको व्यापार घट्दै गइरहेको उनले बताए ।  सोह्र श्राद्धमा भेजका परिकार खाने बढे पनि माछामासुका परिकार खानेको संख्या प्रायः शून्य नै भएको उनको भनाइ छ।’ पूजापाठ तथा श्राद्ध  अन्तरआत्मादेखि नै श्रद्धाले गर्ने कार्य भएकाले त्यस्तो कार्य गर्दा उग्र भोजन गर्नु हुन्न भन्ने मान्यता रहेको पण्डित तीर्थराज ओझा बताउँछन्।  

सोह्र श्राद्ध चलिरहेका बेला माछामासुको व्यापार घटे पनि तरकारी तथा फलफूलको माग भने बढेको छ। सोह्र श्राद्ध सुरु भए यतादेखि बजारमा तरकारी तथा फलफूलको माग बढेको हो। श्राद्धमा शाकाहारी भइने हुँदा तरकारी तथा फलफूलको माग बढेको तरकारी पसल सञ्चालक भवानसिंह चौसिर बताउँछन्। ‘अन्य समयमा दैनिक ४० केजी काँक्रो बेच्नै मुस्किल पथ्र्यो भने हिजोआज दैनिक चार क्विन्टलसम्म काँक्रा बेचिन थालेको छ,’ उनले भने, ‘यो सब सोह्र श्राद्धले गर्दा हो।’ 

प्रकाशित: १६ आश्विन २०७८ १३:२४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App