३ जेष्ठ २०८१ बिहीबार
image/svg+xml
अर्थ

मुख्यमन्त्री राउत भन्छन्: संघको नीतिले प्रदेश २ मा सौर्य ऊर्जाको विकास भएन

 प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले संघीय सरकारको नीतिकै कारणले सो प्रदेशमा सौर्य ऊर्जाको विकास हुन सकेको बताएका छन्। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) र अन्तराष्ट्रिय वित्त निगम (आइएफसी)ले आयोजना गरेको प्रदेश नम्बर २ को दिगो विकासको लागि ऊर्जा विषयक भर्चुअल कार्यक्रममा उनले संघीय सरकारकै कारणले प्रदेश २ मा दुई सय मेगावाट सौर्य ऊर्जा उत्पादन गर्ने कार्यक्रम अन्योलमा परेको बताए।

‘प्रदेश २ मा निजी तथा वैदेशिक लगानीकर्ता सौर्य ऊर्जाको क्षेत्रमा लगानी गर्न इच्छुक देखिएका छन्। तर संघीय सरकारको अवरोधकै कारणले यसको विकास गर्न सकिरहेका छैनौं।’ मुख्यमन्त्री राउतले संघीय सरकारको बारम्बार गर्ने अवरोधकै कारणले सौर्य ऊर्जाको विकास हुन नसकेको बताए। ‘जबसम्म ऐन, कानुन र नियम बनाइँदैन, तबसम्म निजी क्षेत्र लगानी गर्न आकर्षित हुँदैन,’ उनले भने, ‘संघीय सरकारले प्रदेशमा ठूला लगानीका परियोजना भित्रिनै नदिने षडयन्त्र गरिरहेको छ। यस्तो अवरोध अब तोडेर अघि बढ्नुको विकल्प छैन।’

मुख्यमन्त्री राउतले संघीय सरकारको नीतिगत समस्याकै कारणले लगानी भित्र्याउन नसकिएको दाबी गरे। ‘दुई वर्षअघिको पावर समिटमा प्रदेश २ मा दुई सय मेगावाट सौर्य ऊर्जा उत्पादनको लागि लगानी भित्र्याउने योजना अघि बढेको थियो। तर अहिले यो संघीय सरकारकै कारणले अघि बढ्न सकेको छैन,’ उनले भने, ‘प्रदेश २ का स्थानीय तह सौर्य ऊर्जाको लागि जग्गा उपलब्ध गराउन समेत तयार भइसकेका छन्। तर विकासविरोधी संघीय सरकारकै कारणले अघि बढ्न सकेको छैन।’ अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी)का नेपाल प्रतिनिधि बाबाकर सेदिका फायले नेपालको निजी क्षेत्रसँग सहकार्य गरेर ऊर्जा तथा जलविद्युत् क्षेत्रको प्रवद्र्धन गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे।  

‘आइएफसीले जलविद्युत् तथा सौर्य ऊर्जाको प्रर्वद्धनको लागि सरकार तथा निजी क्षेत्रसँग साझेदारीमा कार्य गर्दै आइरहेको छ,’ उनले भने, ‘आगामी दिनमा पनि निजी क्षेत्रसँग हातेमालो गर्दै अघि बढ्नेछौं।’ आइएफसीका फायले निजी क्षेत्रलाई अझै साझेदार बनाएर अघि बढ्न सुझाए।

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)का उपाध्यक्ष आशिष गर्गले प्रदेश २ मा सौर्य ऊर्जाको अथाह सम्भावना भए पनि अहिले नगन्य मात्रामा यसको विकास भएको बताए। ‘प्रदेश २ मा चार सय मेगावाटभन्दा धेरै सौर्य ऊर्जा उत्पादन गर्न सकिन्छ,’ उनले भने, ‘अहिलेसम्म १४ मेगावाट मात्रै उत्पादन भएको छ।’ उपाध्यक्ष गर्गले तराई समथर भूभाग भएकाले पनि सौर्य ऊर्जा उत्पादनको लागि एकदमै उपयुक्त रहेको तर पर्याप्त लगानीमैत्री वातावरण नभएको बताए। सिँचाइयोग्य जमिनमा सौर्य ऊर्जा उत्पादन गर्न प्रतिबन्ध लगाइएको छ । यस्तो प्रावधानले सौर्य ऊर्जा उत्पादन गर्न सकिँदैन।’

उनले यस्ता खालका नीतिगत प्रावधान तत्कालै हटाउनुपर्ने बताए। उपाध्यक्ष गर्ग तराईमा ६महिनाभित्रै सौर्य ऊर्जा उत्पादन गर्न सकिने भएपनि प्रक्रियागत झन्झटको कारणले समस्या भइरहेको बताउँछन्।

प्रकाशित: १५ असार २०७८ ०१:४५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App