१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

घान्द्रुकका व्यवसायी भन्छन्ः खोप नपाएसम्म पाहुनालाई सेवा दिन्नौ

कास्कीको पर्यटकीय गाउँ घान्द्रुकमा विदेशी पाहुना । फाइल तस्बिरः नागरिक

कोरोना भाइरस संक्रमणको दोश्रो लहरसँगै जारी निषेधाज्ञा केही खुकुलो बनाउँदै सरकारले आगामि सातादेखि आन्तरिक हवाई उडान खोल्ने तयारी गरिसकेको छ । अरु सार्वजनिक यातायातका साधन पनि संचालनमा ल्याउन सरकारलाई चौतर्फि दवाव छ । हवाई उडानसँगै अरु सार्वजनिक यातायातका साधन पनि संचालनमा आउँदाको दिनदेखि एकठाउँका यात्रुको अर्काे ठाउँमा आउजाउ बढ्नेछ ।  

यो सँगै आन्तरिक पाहुनाको थोरै भएपनि चहलपहल बढ्ने अपेक्षा पर्यटन व्यवसायीको छ । पाहुनाको आउजाउ बढ्दा कोरोनाको संक्रमणको जोखिम झनै बढ्ने भन्दै पोखराका पर्यटन व्यवसायीले यसअघि नै कोरोना विरुद्धको खोप नपाएसम्म पाहुनालाई सेवा दिन नसक्ने बताईसकेका छन । पोखरेली व्यवसायीले खोप नपाएसम्म सेवा नदिने बताईरहेका बेला अन्नपूर्ण आधारशिविर (एबिसी) पदमार्गको महत्वपूर्ण गन्तव्यका पर्यटन व्यवसायीले पनि खोपबिना सेवा नदिने निर्णय गरेका छन् ।  

एबिसी पदमार्गको प्रवेशद्वार मानिने घान्द्रुकका पर्यटन व्यवसायीले केहीदिन अघि बैठक बसेर कोरोना विरुद्धको खोप नपाएसम्म पाहुनालाई सेवा नदिने निर्णय गरेको पर्यटन व्यवस्थापन समिति घान्द्रुकका अध्यक्ष किसम गुरुङले जानकारी दिए । ‘अहिलेसम्म यो क्षेत्रमा एकजनालाई पनि कोरोना संक्रमण पुष्टि भएको छैन । घान्द्रुक भन्दा माथिका सबैजसो गाउँ अहिलेसम्म सुरक्षित छन,’ गुरुङले भने, ‘अब यातायात खुल्दा थोरै भएपनि आउजाउ हुनसक्छ । त्यो आउजाउले पर्यटकीय गाउँमा संक्रमण भिœयाउने त्रास भएकोले खोप नपाएसम्म हामीले व्यवसाय नखोल्ने निर्णय गरेका हौं ।’

खोप नलगाएसम्म होटल नखोल्ने भन्ने बारेमा सबै व्यवसायी एकमत रहेको उनले बताए । ‘हामी नै सुरक्षित रहने अवस्था हुँदैन । त्यसैले खोप नपाएसम्म हामीले सेवा दिन्नौ,’ उनले भने, ‘जहिलेसम्म खोप पाइदैन, त्यो बेलासम्म हामीले व्यवसाय खोल्दैनौ । भदौ मसान्तसम्म होटल खोल्ने अवस्था रहन्न, त्यसपछिको अवस्था हेरेर थप निर्णय हुनेछ ।’ पर्यटकीय गाउँ घान्द्रुकमा मात्र सानाठुला गरि ५ दर्जन बढी होटल संचालनमा छन । ती सबै होटलमा अहिले तालाबन्दी गरिएको छ । गाउँका नियमित काम बाहेक बजारतिर आउजाउ पनि कम हुँदा अहिलेसम्म संक्रमण भित्रिन नपाएको पनि उनले बताए ।  

‘कोरोनाको दुईवटा लहरलाई हामीले संक्रमणविहीन अवस्थामा पार लगाएका छौ । सचेत हुँदा सुरक्षित रहन सकियो,’ उनले भने, ‘अब पनि गाउँलाई सुरक्षित बनाएर मात्र व्यवसायमा फर्किने हो । त्यसका लागि खोपको विकल्प छैन ।’ उनले यातायात खुलेर पाहुना आएपनि सेवा दिन नसक्ने बताए । ‘कोरोना विरुद्धको खोप नपाएसम्म पाहुनाले सेवा पाउँदैनन । व्यवसायमा चाबी लगाएर बसेका छौ,’ उनले भने, ‘पाहुनाको आउजाउले गाउँ असुरक्षित हुनसक्छ ।’  

आधारशिवीर पदमार्गको मुख्यद्वार नै घान्द्रुक भएकोले अरु गन्तव्यका व्यवसायीले पनि घान्द्रुकले जस्तै सेवा दिन नसक्ने बताएका छन । ‘अरुतिरका गन्तव्यका व्यवसायी पनि यो बेला सेवा दिन तयार छैनन । व्यवसाय खोलेर सेवा दिन थाल्दा संक्रमण भित्रियो भने एकाएक गाउँमा माहोल बिग्रन्छ,’ उनले भने ।

एबिसी पदमार्गको अर्काे महत्वपूर्ण गन्तव्य छोमरोङका पर्यटन व्यवसायीले पनि कोरोनाविरुद्धको खोप नलगाएसम्म सेवा दिन नसकिने बताएका छन् । छोमरोङ पर्यटन व्यवस्थापन समितिका सचिव दिलीप गुरुङले भने, ‘पहिलो भन्दा दोश्रो लहर जोखिमपूर्ण रह्यो । त्यसैले खोप नलगाएसम्म व्यवसाय संचालन गर्न कठिन छ ।’ व्यवसायी आफै खर्च गरेर खोप लगाउन तयार रहेकोले सरकारले शुल्क लिएर भएपनि खोप लगाउने व्यवस्था गरिदिनुपर्ने उनले बताए ।

‘खोप बिना पर्यटन चल्ने अवस्था रहन्न । सरकारले पनि बुझ्नुपर्छ । खोप हुने हो भने मनले ढुक्क सोच्छ र काम गर्न सकिन्छ,’ उनले भने, ‘त्राससहितको सेवा उचित हुँदैन ।’ उनका अनुसार छोमरोङदेखि आधारशिविरसम्म ६० वटा होटल छन् । ती सबै होटलका सबै कामदार र संचालकलाई खोप दिन नसकेपनि एउटा होटलको दुईजनाको दरले खोप दिने हो भने व्यवसाय संचालन गरेर पाहुनालाई सेवा प्रवाह गर्न सकिने उनले बताए ।  

‘होटल चलाउनका लागि पनि हरेक होटलका २ जनाका दरले खोप दिएपनि केही सुरक्षित महसुस हुनेछ । मास्क र फेससिल्डको भरमा मात्र अबको सेवा सम्भव हुँदैन,’ उनले भने, ‘खोप नलगाएसम्म हामीले व्यवसाय संचालन गर्न सक्दैनौ, सेवा पनि दिन सकिन्न ।’ अहिलेसम्म गाउँ सुरक्षित रहेकोमा अब पाहुना आउजाउ गर्दा संक्रमण भित्रिने त्रास रहेको उनले बताए ।

‘अत्यावश्यक काममा बाहेक गाउँले पनि पोखरा झरेका छैनन । गाउँका सामाजिक र धार्मिक काम पनि रोकेर सुरक्षित बसेका छौ,’ उनले भने, ‘बरु केही महिना पर्यटन नचल्दा केही फरक हुँदैन । तर, खोप विना सेवा दिन सकिन्न ।’

अन्नपूर्ण आधारशिविर क्षेत्रका लागि यो समयलाई मुख्य अफसिजन मानिन्छ । अवस्था सहज हुँदा भदौ मध्यपछि बल्ल होटलमा पाहुना आउन थाल्थे । अहिले कोरोनाको त्रास भएकोले खोप नपाएसम्म असोज पहिलो सातासम्म सेवा दिन नसक्ने र त्यसपछि बल्ल निर्णय हुने उनले बताए ।

घान्द्रुक अन्नपुर्ण आधारशिविर पदमार्ग क्षेत्रको प्रमुख पर्यटकीय गाउँ हो । घान्द्रुकबाट भित्रिएका आन्तरिक तथा बाह्य पर्यटक छोमरोङ हुँदै एबिसी, टाढापानी, घोरेपानीसम्म आउजाउ गर्छन । घान्द्रुक हुँदै पर्यटकहरु अन्नपुर्ण क्षेत्रको टाढापानी, घोरेपानी, छोमरोङ हुँदै अन्नपुर्ण आधारशिविर जाने हुँदा त्यस क्षेत्रका व्यावसायीले समग्र क्षेत्रलाई सेन्चुरी पर्यटन विकास समितिको नाममा बजारीकरण गर्छन ।  

अन्नपूर्णको सेन्चुरी क्षेत्र आन्तरिक पर्यटकका लागि निकै नै चर्चित गन्तव्य हो । यो क्षेत्रमा मात्र साना ठुला गरि करिब ३ सय होटल रहेका छन् । सेन्चुरी क्षेत्रमा मात्र वर्षमा करिब ७० हजार विदेशी पर्यटक पुग्ने गरेका छन् । पोखराबाट नजिकको दुरी र हिमाली श्रृंखला सहित वनजंगलको दृष्यावलोकन तथा अन्नपुर्ण आधारशिविरसम्मको साहसिक पदयात्रा गर्न सकिने भएकोले विदेशी पर्यटक यो रुटको पदयात्रामा जान रुचाउँछन् । आन्तरिक पाहुनाको रोजाइमा पनि यो क्षेत्र पर्छ ।

प्रकाशित: १० असार २०७८ ११:४९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App