कोरोना महामारीले धेरै क्षेत्रमा समस्या सिर्जना गर्यो। खासगरी भौतिक रूपमा उपस्थित भएर गर्नुपर्ने काम, पेसा व्यवसाय सबै प्रभावित भए। तर यही बीचमा प्रविधिको प्रयोग गरेर भौतिक रूपमा उपस्थित नभए पनि गर्न सकिने काममा भने तिव्रता आयो। कोरोना संक्रमणको त्रासका कारण सर्वसाधारण बैंक तथा वित्तिय संस्थामा पुग्न डराए। सर्वसाधारण यसको विकल्पमा डिजिटल कारोबारमा गए। यसैका कारण कोरोना कालमा बैंक तथा वित्तीय संस्थाको डिजिटल कारोबार सोचेभन्दा धेरै बढन पुग्यो।
नेपाल राष्ट्र बैंकका अनुसार अहिले सक्रिय मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या एक करोड २७ लाख पुगेको छ। बैंकरहरू लकडाउनले गर्दा धेरै ग्राहकमा डिजिटल कारोबार सजिलो र सुरक्षित रहेछ भन्ने चासो बढेको बताउँछन्। यतिखेर मोबाइल बैंकिङ प्रयोगकर्ता मात्र नभई इन्टरनेट बैंकिङ ग्राहक संख्या पनि बढेर ११ लाख पुगेका छन्। यस्तै ८३ लाखले कार्ड लिएका छन्।
मेगा बैंककी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेली डिजिटलाइजेसनले सुरक्षा र सहजता प्रदान गर्ने भएकाले ग्राहक र बैंक द’वै उत्साही रहेको बताउँछिन्। ‘डिजिटलाइजेसनमा जाने बैंकहरूको चाहना पहिलेदेखिकै हो,’ उनले भनिन्, ‘कोरोना महामारीको बेला गरिएको लकडाउनले धेरैलाई डिजिटलाइजेसनको महत्वबारे झनै ज्ञान भयो।’
लकडाउन अघि डिजिटल कारोबार गर्न सम्झाइ बुझाई गर्नुपर्ने ग्राहकलाई लकडाउनपछि यस्तो कारोबारका लागि त्यति धेरै मेहनत गर्नुपरेन। नबिल बैंकका डिजिएम मनोज ज्ञवाली डिजिटल कारोबार गर्ने ग्राहकको संख्या र कारोबार बढ्दा बैंक र ग्राहक दुवैलाई फाइदा भइरहेको बताउँछन्। यतिखेर बैंक तथा वित्तीय संस्थामा खाता खोल्नेको संख्या भने करिब साढे तीन करोड पुगेको छ। पछिल्लो एक वर्षमा करिब २० प्रतिशतले डिजिटल कारोबार गर्नेहरू बढेको बैंकरहरू बताउँछन्।
लकडाउनले यसरी भयो सहजता
लकडाउनमा भौतिक रूपमा घरबाहिर निस्कन कठिन भएपछि बिजुली, खानेपानी, इन्टरनेटलगायतको बिल झुक्तानीदेखि दैनिक उपयोग्य वस्तु र प्रयोगका सामान खरिद गर्न उपभोक्ताले विद्युतीय भुक्तानीलाई जोड दिए। कोरोना रोकथामका लागि सरकारले २०७६ चैत ११ बाट २०७७ साउन ६ सम्म लकडाउन गरेको थियो।
कोरोना संक्रमण र लकडाउनको अवधिमा कनेक्ट आइपिएस, इ–कर्मश, इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ, वालेट, क्युआर पेमेन्ट, पोन्ट अफ सेल्स (पिएसओ) का प्रयोगकर्ता बढेको राष्ट्र बैंक भुक्तानी प्रणाली विभागले जनाएको छ। बैंकका अनुसार २०७६ चैत ११ देखि २०७७ माघसम्म कनेक्ट आइपिएस, इ–कमर्स, इन्टरनेट, मोबाइल बैंकिङ, वालेट, क्युआर पेमेन्टमार्फत १२ खर्ब ६७ अर्ब ५४ करोड रूपैयाँ बराबरको कारोबार भएको छ। २०७६ चैतमा कनेक्ट आइपिएस, इ–कमर्स, इन्टरनेट, मोबाइल बैंकिङ, वालेट, क्युआर पेमेन्टमार्फत ३५ अर्ब ९४ करोड ८१ लाख रूपैयाँ बराबरको कारोबार भएको थियो भने २०७७ माघमा यस्तो कारोबार दुई खर्ब ७२ अर्ब ४६ करोड ४० लाख रूपैयाँ पुगेको राष्ट्र बैंकले जनाएको छ।
त्यस्तै, २०७७ वैशाखमा ४८ अर्ब ३२ करोड ८० लाख, जेठमा ७९ अर्ब ४९ करोड ९० लाख, महिनामा ९९ अर्ब ४१ करोड ५० लाख, साउनमा ८० अर्ब ६ करोड ९० लाख, भदौमा ९६ अर्ब ८१ करोड रूपैयाँ बराबरको कारोबार हुँदै विद्युतीय कारोबार बढेको छ। असोजमा एक खर्ब ३८ अर्ब ९ करोड २० लाख, काक्तिकमा एक खर्ब १८ अर्ब ७ करोड ३० लाख, मंसिरमा एक खर्ब ५७ अर्ब २३ करोड २० लाख पुसमा एक खर्ब ५७ अर्ब २३ करोड २० लाख रूपैयाँ बराबरको विद्युतीय कारोबार भएको छ।
२०७६ चैतमा ६२ करोड ६३ लाख रूपैयाँ रहेको इन्टरनेट बैंकिङको कारोबार २०७७ माघमा ९ अर्ब २२ करोड ७० लाख रूपैयाँ पुगेको छ। अघिल्लो वर्ष पाँच अर्ब ६४ करोड २९ लाख रूपैयाँ रहेको मोबाइल बैंकिङको कारोबार माघ महिनासम्म ३८ अर्ब ५९ करोड ७० लाख रूपैयाँ पुगेको छ।
२०७६ चैतमा एक अर्ब २६ करोड २३ लाख रूपैयाँ रहेको वालेटमार्फतको कारोबार २०७७ माघमा ९ अर्ब ९४ करोड ८० लाख रूपैयाँ पुगेको छ। साथै अघिल्लो वर्ष २० करोड १६ लाख रूपैयाँ रहेको क्युआर पेमेन्टमार्फतको कारोबार माघमा बढेर एक खर्ब ७१ अर्ब २० करोड रूपैयाँ पुगेको छ।
बिजुली, खानेपानी बिल भुक्तानी गर्ने, मोबाइल रिचार्ज, फण्ड ट्रन्सफर, हवाई टिकट तथा लामो दुरीका सवारी साधनको टिकट खरिद मोबाइल बैंकिङ र वालेट प्रयोग गरी गर्न सकिने सुविधा छ। खाद्यान्नलगायत अन्य दैनिक प्रयोगका सामान पनि इ–कमर्समार्फत खरिद गर्ने प्रचलन बढ्दा विद्युतीय कारोबार र यससँग सम्बन्धित कम्पनीको एप प्रयोगकर्ता बढेका छन्।
मोबाइल बैंकिङ एप पनि बढे
एफ वान सफ्टका अनुसार २०७६ फागुन मसान्तसम्म मोबाइल बैंकिङ एप ११ लाख १५ हजार ५ सय ५९ प्रयोगकर्ताले डाउनलोड गरेका थिए भने २०७७ फागुन मसान्तमा आइपुग्दा यो संख्या २६ लाख १४ हजार ३ सय १७ पुगेको छ।
२०७६ फागुन मसान्तसम्म डाउनलोड भएका मोबाइल बैंकिङ एप दर्ता गर्नेको संख्या ९७ लाख ७२ हजार ३ सय ५७ थियो भने त्यो संख्या २०७७ फागुन मसान्तसम्म आइपुग्दा एक करोड ३१ लाख ७७ हजार ४ सय ९४ पुगेको छ। साथै, मोबाइल बैंकिङ एप मार्फतको कारोबार संख्या २०७६ साल फागुन मसान्तमा १० लाख ३७ हजार ८९ थियो। २०७७ फागुन मसान्तमा आइपुग्दा यो संख्या २१ लाख ५९ लाख ८ सय ३७ पुगेको छ।
२०७६ फागुन मसान्तमा वाणिज्य बैंकहरूको मोबाइल बैंकिङ एप डाउनलोडको संख्या १० लाख १४ हजार ७ सय ५१, विकास बैंकहरूको ८९ हजार ३ सय ६५ र अन्य वित्त कम्पनीको ११ हजार ४ सय ४३ थियो। २०७७ फागुन मसान्तमा आइपुग्दा वाणिज्य बैंकहरूको २३ लाख ९९ हजार २ सय ४४, विकास बैंकको १ लाख ८४ हजार १ सय ७३ र अन्य वित्त कम्पनीको ३० हजार ९ सय पुगेको छ।
२०७६ फागुन मसान्तमा मोबाइल बैंकिङ एप मार्फत दैनिक वाणिज्य बैंकमा ९ लाख ५६ हजार ९ सय ७९, विकास बैंकमा ७१ हजार ७ सय ६४ र अन्य वित्त कम्पनीहरूको ८ हजार ३ सय ४६ ले कारोबार गर्ने गरेकोमा २०७७ फागुन मसान्तमा यो संख्या वाणिज्य बैंकहरूमा २० लाख १ हजार ६ सय ४४, विकास बैंकमा १ लाख ३६ हजार ९ सय ३४ र अन्य वित्त कम्पनीमा २१ हजार २ सय ५९ पुगको छ।
राष्ट्र बैंकका अनुसार २०७६ चैतदेखि २०७७ पुस मसान्त (जुन लकडाउनको उत्कर्षमा रहेको समय हो) अवधिमा एटिएम ७.८३, डेबिट कार्ड ११.१३, क्रेडिट कार्डको संख्या १२.५५ र प्रिपेड कार्डको संख्या १७.८२ प्रतिशतले बढेको छ।
त्यस्तै शाखारहित बैंकिङ सेन्टरको संख्या ६.२४, शाखारहित बैंकिङ ग्राहकको संख्या ६.०१, मोबाइल बैंकिङ ग्राहकको संख्या १८.९३ र इन्टरनेट बैंकिङ ग्राहकको संख्या ९.८३ प्रतिशतले बढेको छ। निक्षेप खाता संख्या ८.७४ र कर्जा खाता ५.०२ प्रतिशतले वृद्धि भएको राष्ट्र बैंकले जनाएको छ।
आरटिजिएस कारोबारतर्फ यस अवधिमा ७.४०, एटिएम नगद खिचाइ ७.३१ र आरपिएस कारोबार ८.४४ प्रतिशतल बढेको छ। कनेक्ट आइपिएस कारोबार ९६.४३, डेबिट कार्ड कारोबार १३७.९० र प्रिपेड कार्ड कारोबार २०१.०६ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ। साथै क्रेडिट कार्ड कारोबार ६३.६१ र मोबाइल बैंकिङ कारोबार ७५.९८ प्रतिशतले बढेको छ।
क्युआर पेमेन्टको सुरुवात
प्रविधिले कार्ड माध्यमलाई पनि विस्थापित गर्न खोज्दैछ। पछिल्लो समय क्युआर (क्विक रेस्पोन्स) पेमेन्टको अवधारणा आएको छ। क्युआर पेमेन्टलाई राष्ट्र बैंकले प्रबद्र्धन गर्न खोजिरहेको छ। राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी क्युआर पेमेन्ट सिस्टमको उदघाट्न गर्न तरकारी बजारदेखि विभिन्न स्थानमा पुगिरहेका हुन्छन्।
राष्ट्र बैंकदेखि बैंक तथा डिजिटल भुक्तानी संस्थाहरूले क्युआर कोड प्रयोगलाई प्राथमिकतामा राखेपछि क्युआरमा आधारित भुक्तानी तीव्र रूपमा बढेको छ। माघ महिनामा मात्रै एक अर्ब ७१ करोड २० लाख रूपैयाँ भुक्तानी क्युआरबाट भएकोमा फागुनमा क्युआर कोडबाट दुई अर्ब बढीको कारोबार भएको राष्ट्र बैंकले जनाएको छ।
फागुनमा हालसम्मकै सबैभन्दा बढी क्युआर कोड स्क्यानबाट भुक्तानी भएको हो। राष्ट्र बैंकका अनुसार फागुनमा दुई अर्ब पाँच करोड ५० लाख रूपैयाँ भुक्तानी भएको हो। कारोबार रकमका तुलनामा यो सबैभन्दा धेरै हो। त्यस्तै कारोबार संख्याका आधारमा फागुनमा हालसम्मकै सबैभन्दा बढी ६ लाख ३५ हजार सात सय ३८ कारोबार भएका छन्। जबकि माघमा यस्तो संख्या पाँच लाख ३५ हजार सात सय ९० थियो। चालु आर्थिक वर्षको पहिलो महिनामा यस्तो भुक्तानी ५८ करोड ९० लाख रूपैयाँ थियो।
विद्युतीय कारोबार सीमा दोब्बर
राष्ट्र बैंकले विद्युतीय भुक्तानीको सीमा बढाएको छ। मोबाइल बैंकिङ, मर्चेन्ट र अकाउन्ट ट्रान्सफरमा हुने कारोबारको सीमालाई दोब्बर बनाएको हो। राष्ट्र बैंकले हाल कायम गरेको मोबाइल बैंकिङको सीमा प्रतिदिन एक लाख रूपैयाँबाट बढाएर दुई लाख पुर्याइएको छ। त्यसैगरी १० लाख रूपैयाँ सीमा कायम गरिएको इन्टरनेट बैंकिङको सीमा बढाएर २० लाख रूपैयाँ बनाइएको छ। विद्युतीय कारोबारलाई प्रोत्साहन तथा सहजीकरणका लागि कारोबारको सीमा बढाइएको राष्ट्र बैंकले जनाएको छ।
प्रकाशित: ११ वैशाख २०७८ ०२:०३ शनिबार