माजोङ एन्टरटेन्मेन्ट सेन्टर नामको कम्पनीको लगानीमा क्यासिनो नेपाल फेरि सञ्चालन हुन लागेको हो। सेन्टरले क्यासिनो नेपालको नाम परिवर्तन गरेर 'क्यासिनो माजोङ' राखेको छ। यही नामको क्यासिनो भारत सिक्किममा पनि चलिरहेको छ।
'क्यासिनो नेपाल अब क्यासिनो माजोड भएको छ,' सम्बद्ध स्रोतले मंगलबार नागरिकसँग भन्यो, 'आगामी पुस ९ मा खुला गरी ११ गतेबाट पूर्णरूपमा सञ्चालनमा आउँछ।'
-नयाँ नाम 'क्यासिनो माजोङ'
-माजोङ एन्टरटेन्मेन्ट सेन्टरको ३५ करोड रुपैयाँ लगानी
-भारतीय नामको कम्पनी भए पनि लगानीकर्ता सबै नेपाली
-पुस ११ बाट पूर्णरूपमा सञ्चालन हुने
-साढे ९ सय मजदुरलाई काममा फर्काइने
-मजदुरले एक महिनाको तलब पाए
-क्यासिनोको भित्री सजावट परिवर्तन
स्रोतका अनुसार भारतीय नामको कम्पनी भए पनि लगानीकर्ताहरूमा नेपाली नै छन्। मनोज सुवेदी, विनय शाह, विनोद श्रेष्ठलगायतले क्यासिनोमा लगानी गरेका छन्। 'सिक्किमका मुख्य मन्त्री पवन चाम्लिङका छोरा विकास चाम्लिङले पनि लगानी गरेका छन्,' स्रोतले दाबीका साथ भन्यो।
क्यासिनोका एक अधिकारीका अनुसार अहिले क्यासिनोका भित्री सजावट पूर्णरूपमा परिवर्तन गर्ने काम भइरहेको छ। सबै मजदुर कर्मचारीलाई पोसाक सिलाउन मापन कार्य भइसकेको छ। मजदुरलाई एक महिनाबराबरको तलबवापत् करिब १ करोड रुपैयाँ दिइएको छ।
'नयाँ लगानीकर्ताले ३५ करोड रुपैयाँ लगानी गर्ने प्रतिबद्धता जनाएका छन्,' उनले भने, 'मजदुरदेखि सबैलाई यसले आशा जगाएको छ।' अहिले क्यासिनोमा १ हजार ६८ मजदुर आबद्ध रहेका र तीमध्ये नयाँ व्यवस्थापनले बढीमा साढे ९ सयलाई पुनः काममा लगाउने उनले जानकारी दिए।
उनका अनुसार नयाँ व्यवस्थापनले ५५ वर्ष उमेर नाघेका मजदुर (करिब १ सय २५ जना) लाई जनही ५ लाख ५ हजार रुपैयाँ, २० वर्षभन्दा माथि काम गरेकालाई साढे २ लाख, १० देखि २० वर्षसम्म काम गरेकालाई २ लाख र १० वर्षभन्दा मुनि काम गरेकालाई १ लाख २० हजार रुपैयाँ पाउने गरी स्वेच्छिक अवकास योजना पनि ल्याएको छ।
यो रकम भने तीन किस्तामा दिने व्यवस्थापनको सर्त छ। तर, ५५ वर्ष उमेर नाघेकाहरूले भने एकमुष्ट रकम दिनुपर्ने माग गर्दै आएका छन्। त्यसै गरी ६ महिनापछि प्रत्येक महिना कर्मचारी कल्याणकारी कोषमा व्यवस्थापनले १० लाख रुपैयाँ राखिदिने प्रतिबद्धता जनाएको छ।
क्यासिनो नेपाल पाँचतारे होटल सोल्टी परिसरमा छ। क्यासिनोको लाइसेन्स सोल्टीको नाममा छ। स्रोतका अनुसार होटल र माजोङ एन्टरटेन्मेन्ट सेन्टरबीच नाम परिवर्तन गरी पुनः सञ्चालन गर्ने सम्झौता भएको छ।
नयाँ कम्पनीलाई सघाउन १३ सदस्यीय व्यवस्थापन समिति पनि गठन गरिएको छ। समितिमा एकीकृत नेकपा माओवादी, नेपाली कांग्रेस, एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टीका ट्रेड युनियनका प्रतिनिधि, क्यासिनो नेपालको पूर्वसञ्चालक कम्पनी नेपाल रिक्रिएसन सेन्टर व्यवस्थापनका एक र टे्रड युनियनका एकलगायत सदस्य छन्।
बन्द भएयता स्वदेशीदेखि विदेशी लगानीकर्तासम्मले क्यासिनो पुनः सञ्चालन गर्न चासो देखाए पनि काम हुन सकेको थिएन। त्यसबीचमा मलेसियाको एक कम्पनीले ३० लाख अमेरिकी डलर लगानी गरी पुनः सञ्चालन गर्ने गरी काम सुरु गरे पनि विभिन्न कारण सफल हुन सकेको थिएन।
लगातार १९ महिनादेखि तलब नपाएका मजदुरले बाध्य भएर गत साउन दोस्रो साताबाट आफैं क्यासिनो चलाउन थालेका थिए। त्यसबेला ५ सय ६३ मजदुरले हस्ताक्षर गरी क्यासिनो चलाउने निर्णय गरेका थिए। क्यासिनो चलाउन मूल समितिले करिब २५ लाख रुपैयाँ जोहो गरेको थियो। रिक्रिएसन सेन्टरका कर्मचारी कल्याण कोषबाट १० लाख ५७ हजार, क्यासिनो नेपालको यस्तै कोषबाट १२ लाख २८ हजारसहित अन्य गरी खर्च व्यवस्था गरिएको थियो।
२०२३ सालमा स्थापना भएको क्यासिनो नेपालले सरकारलाई तिर्नुपर्ने हालसम्मको रोयल्टी, करलगायत बक्यौता २० करोड रुपैयाँभन्दा बढी भइसकेको छ। क्यासिनोमध्येकै यो सबैभन्दा धेरै बक्यौता हो।
रिक्रिएसनका नाममा कुनै पनि क्यासिनो सञ्चालन गर्न नपाउने सरकारले यसअघि नै निर्णय गरेको थियो। सरकारले रिक्रिएसनको बैंक खाता, राजधानीको ताहाचलस्थित तीन रोपनी जग्गा रोक्का गरेको छ। सरकारले पक्राउ पुर्जी जारी गरेकाले रिक्रिएसनका सञ्चालक भारतीय नागरिक राकेश वाधवा फरार छन्।
क्यासिनोको लाइसेन्स होटल सोल्टीले पाएकाले रोयल्टी तिर्ने जिम्मा पनि उसैको हुने मजदुरले बताउँदै आएका छन्। यता होटलले भने क्यासिनोको रोयल्टी आफूले तिर्न नसक्ने जानकारी सरकारलाई दिइसकेको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव रञ्जनकृष्ण अर्यालले होटल सोल्टीले क्यासिनो नेपाल सञ्चालनको लाइसेन्स नवीकरण नगरेकाले कानुनी रूपमा पुनः सञ्चालन गर्न नपाइने बताए।
प्रकाशित: १९ मंसिर २०६९ २३:४७ मंगलबार





