coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

भेरी बबई आयोजनाको प्रगति ४० प्रतिशत

राष्ट्रिय गौरवमा सूचीकृत भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको समष्टिगत प्रगति ४० प्रतिशत भएको छ । गत आर्थिक वर्षभित्रै आयोजनाको १२.२ किलोमिटर सुरुङ निर्माणको काम सकिएको थियो । टिबिएम प्रविधि प्रयोग गरेर सुरुङ खनिएको हो । गत आर्थिक वर्षसम्म आयोजनाको कुल खर्च ११ अर्ब ७३ करोड रूपैयाँ पुगको छ ।  

आयोजनाको वित्तीय प्रगति ३५ र भौतिक प्रगति ४० प्रतिशत भएको आयोजनाको वार्षिक प्रतिवेदनमा उल्लेख छ । आयोजनाको हेडवक्र्स तथा पावरहाउसको लागि अस्थायी बाँध, डाइभर्सन सडक, साइट क्याप, इन्स्टेलन क्रसर एन्ड ब्याचिङ प्लान्ट र ल्याब लगायत काम निर्माणाधीन अवस्थामा छन् । आयोजनाका सूचना अधिकारी कृष्ण उपाध्यायले सुरुङ निर्माण कार्य सम्पन्न भएर हस्तान्तरणको चरणमा पुगेको बताए । ‘आयोजनाको १२.२ किलोमिटर सुरुङ तयार भइसक्यो,’ उनले भने, ‘अबको केही समयभित्रै हस्तान्तरणको चरणमा छ ।’ आयोजनाले बाँधस्थलको जलाशययुक्त क्षेत्रको जग्गा प्राप्तिको लागि रैकर जग्गाको मूल्य निर्धारण भई आठ हेक्टर जग्गाको मुआब्जा वितरण गरेको ऊर्जा, जलस्रोत गरेको छ । गत आर्थिक वर्षमा लक्ष्यअनुसार प्रगति हात पार्न नसकेको आयोजनाको वार्षिक प्रतिवेदनमा उल्लेख छ । सूचना अधिकारी उपाध्यायले लकडाउनको कारणले आयोजनाको सिभिल निर्माण कार्यको कार्यतालिका प्रभावित भएकाले लक्ष्यअनुसार प्रगति हासिल गर्न नसकेको बताए । ‘लकडाउन अघिसम्म लक्ष्यअनुसार नै काम भइरहेको थियो । तर लकडाउनको कारण लक्ष्यअनुसार काम हुन सकेको छैन,’ उनले भने, हिउँदको समयमा लकडाउन र वर्षात सुरु भएसँगै काम प्रभावित भएकाले कार्ययोजना अनुसार प्रगति हुन सकेको छैन ।’  

त्यसैगरी, हाइड्रोमेकानिकल निर्माण कार्यको बोलपत्रको प्राविधिक मूल्यांकनमा लामो समय व्यतित भई अन्तमा विभागद्वारा बोलपत्र रद्द भएको लक्ष्यअनुसार कार्यप्रगति हुन नसकेको हो । इलेक्ट्रोमेकानिकल कार्यको हकमा डिजाइन इस्टिमेटको फाइल हालसम्म स्वीकृत हुन नसकेको आयोजनाले जनायो । सरकारले यो आयोजना ०७९÷८० सम्म सम्पन गरी बाँके र बर्दियाको ५१ हजार हेक्टर जमिनमा १२ महिना सिँचाइ सेवा उपलब्ध गराउन भेरी नदीबाट ४० घनमिटर प्रतिसेकेन्ड पानी बबई नदीमा खसालिने योजनासहित सुरु गरेको थियो । यसबाट ४६.८ मेगावाट बिजुली पनि उत्पादन गर्ने लक्ष्य छ । यसैबीच, सरकारले भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय (सिँचाइ÷जलविद्युत्) आयोजना कम्पनी मोडलमा निर्माण गर्ने टुंगो लगाइसकेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनताको जलविद्युत् कार्यक्रम अन्तर्गत कम्पनी मोडलमा निर्माण गर्ने ढाँचा तय गरेको हो । नेपाल सरकारको स्वामित्व रहने गरी ‘भेरी–बबई डाइभर्सन जलविद्युत् कम्पनी’ नामको सार्वजनिक कम्पनी स्थापना गरिने छ । आयोजना निर्माणको संशोधित लागत ३३ अर्ब १९ करोड रूपैयाँ छ । जसमध्ये सिभिल निर्माण कार्यका लागि ४० प्रतिशत, सुरुङ निर्माणका लागि ३५ प्रतिशत, सुरुङ निर्माण परामर्श सेवाका लागि दुई प्रतिशत तथा इलेक्ट्रोमेकानिकल निर्माण तथा जडानका लागि ११ प्रतिशत रकम लगानी हुनेछ ।  

आयोजना सम्पन्न भएपछि बाह्रै महिना सिँचाइ उपलब्धताबाट कृषि उत्पादन बढ्न गई वार्षिक ३.१० अर्ब रूपैयाँ अप्रत्यक्ष लाभ लिन सकिन्छ । त्यसैगरी, बिजुलीबाट ३.२३ अर्ब रूपैयाँ (८.४ रूपैयाँ प्रतियुनिटको दरमा) प्रत्यक्ष गरी वार्षिक जम्मा ६ अर्ब ३३ करोड रूपैयाँ फाइदा हुने अनुमान गरिएको छ ।

भेरी बबई डाइभर्सन जलविद्युत् आयोजनाको लागि संघबाट २६ प्रतिशत, कर्णाली प्रदेश सरकारबाट २० प्रतिशत तथा आयोजना निर्माण हुने सम्बन्धित स्थानीय तहबाट पाँच प्रतिशत गरी सरकारी लगानी ५१ प्रतिशत हुनेछ । सर्वसाधारणबाट २९, कर्णाली प्रदेशका सर्वसाधारणबाट १० र आयोजना प्रभावित क्षेत्रका बासिन्दाबाट १० प्रतिशत लगानी हुने गरी ढाँचा तयार पारिएको छ ।

प्रकाशित: २८ श्रावण २०७७ ०३:१२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App