१५ चैत्र २०८० बिहीबार
अर्थ

कित्ताकाट खुलाऊ, ब्याज मिनाहा गर

रियलस्टेट व्यवसायीको माग

जग्गा तथा आवास विकास संघको मागबारे जानकारी दिन आयोजित पत्रकार भेटघाटमा गण्डकी जग्गा तथा आवास विकास संघका अध्यक्ष अरुण स्टोम त्रिपाठी (बोल्दै)सहित अन्य पदाधिकारी। तस्बिर: सन्देश/नागरिक

गण्डकी प्र्रदेशका रियलस्टेट व्यवसायीहरुले कित्ताकाट खुलाउन माग गरेका छन्। गण्डकी जग्गा तथा आवास विकास संघले आइतबार पोखरामा पत्रकार सम्मेलन गरी कित्ताकाट रोकिँदा घरजग्गा व्यवसाय चौपट भएको भन्दै उनीहरुले चार वर्षदेखि रोकिएको जमिनको कित्ताकाट खुलाउन माग गरेका हुन्।  

कित्ताकाट गर्न नपाउँदा थलिएका घरजग्गा व्यवसायी कोरोना महामारी र लकडाउनका कारण थप थिलथिलो भएको भन्दै व्यवसायीलाई जोगाउन कित्ताकाट खुलाउन आवश्यक रहेको उनीहरुको भनाइ छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई जग्गाको कित्ताकाट खुलाउन आदेश दिए पनि सरकारले कित्ताकाट खुलाउन आलटाल गरिहेको संघको आरोप छ। संघले अख्तियारको आदेश तत्काल कार्यान्वयन गर्दै कित्ताकाट खुलाउन माग माग गरेको छ।

कित्ताकाट पनि रोकिएको र अहिले कोरोना नियन्त्रणका लागि गरिएको लकडाउनले व्यवसाय धरासायी भयो,’ संघका अध्यक्ष अरुण स्तोम त्रिपाठीले भने, ‘तत्काल कित्ताकाट नखुलाउने हो भने हामी रियलस्टेट व्यवसायी टाँट पल्टिन्छौं।’ लकडाउनका कारण निर्माणाधीन हाउजिङ र अपार्टमेन्टको काम अहिले रोकिँदा व्यवसायी थप मारमा परेको उनले बताए।

संघले व्यवस्थित सहर बसाउने योजना नबन्दा अव्यवस्थित बसोबास र सहरीकरण बढिरहेको बताएको छ। पछिल्लो क्रममा जग्गा कित्ताकाट रोकिँदा अपारदर्शी तरिकाले कित्ताकाट गर्ने र अव्यवस्थित बसोबासको क्रम बढेको उसको आरोप छ। संघले व्यवस्थित जग्गा कित्ताकाट गर्ने व्यवस्था गर्न माग गरेको छ। कित्ताकाट गर्ने वैधानिक बाटो रोकिदा अवैध तरिका अप्नाउने गतिविधि बढ्यो,’ उनले भने, ‘जसका कारण पारिवारिक अंशवण्डा भन्दै जग्गा काट्ने र बिक्री गर्ने क्रम ह्वात्तै बढ्यो, यसले व्यवस्थित बसोबासभन्दा अव्यवस्थित र भद्रगोल बसोबास बढ्यो।’ कित्ताकाट रोक्दैमा मानिसको सहरमा बस्ने चाहना नरोकिने संघले बताएको छ। हामी जबरजस्ती कित्ताकाट गर्ने पक्षमा छैनौं,’ अध्यक्ष त्रिपाठीले भने, ‘खेतीयोग्य जमिनमा बस्ती बसाल्न हुँदैन भन्नेमा हामी स्पष्ट छौं।’  

संघले रियलस्टेट, हाउजिङ र अपार्टमेन्टका लागि निश्चित मापदण्ड कायम गर्दै मापदण्ड पूरा गरेकाले मात्र यसको व्यवसाय गर्न पाउने नियम बनाउन माग गरेको छ। खेतीयोग्य जमिनलाई जोगाउँदै व्यवस्थित बस्ती विकास गर्नुपर्छ,’ संघका निवर्तमान अध्यक्ष अर्जुन पोखरेलले भने, ‘कडा भू–वनोट भएको क्षेत्रमा आवास क्षेत्र बनाउने, उर्भर जमिनमा खेती लगाउने पद्धति विकास गर्न अब ढिला गर्नु हुँदैन।

संघले बैंकको कर्जाको रिइन्स्टलमेन्ट (पुनर्तालिकीकरण) गर्न र ब्याज मिनाहा गर्न पनि माग गरेको छ। चार वर्षदेखि कित्ताकाट रोकिँदा रियलस्टेट व्यवसाय थिलथिलो भएको थियो,’ उनले भने, ‘अहिले आएर कोरोनाले घस्रेर हिँडिरहेको यो व्यवसायको गति ठप्प भयो, राज्यले कित्ताकाट पनि रोक्ने अनि कोरोनाले पनि थला पारेकाले अब हामी बैंकको लोन र ब्याज बुझाउन सक्दैनौं।’ बैंकले कर्जाको किस्ता र ब्याजका लागि ताकेता गरिरहेको भन्दै यसले व्यवसायीलाई आतंकित पारिरहेको उनले बताए। कर्जाको पुनर्तालिकीकरण र ब्याज मिनाहा गर्दै जग्गाको कित्ताकाट खुलाउन सके रियलस्टेट व्यवसायले राहत महशुष गर्ने अध्यक्ष त्रिपाठीले बताए।

गण्डकी प्रदेशमा एक सय ८० रियल स्टेट व्यवसायी वैधानिक रुपमा रहेको र उनीहरुको पाँच अर्ब लगानी रहेको संघले जनाएको छ।

प्रकाशित: २९ असार २०७७ ०३:३८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App