निम्न वर्गिय समुदायले किनमेल गर्ने बजार भनेर चिनिएको काठमाडौं उपत्यकाको भृकुटीमण्डप बजार खुलेपनि ग्राहक नआउँदा सुनसान छ । लकडाउनका कारण तीन महिनासम्म बन्द रहको बजार असार १५ गतेदेखि खुलेको हो । लकडाउनका कारण चैत महिना यताको भाडा तिर्न नसकिएको र व्यापार नै नभएपछि दैनिकी चलाउन समेत कठिन भएको व्यवसायीहरुले बताएका छन् ।
करिब १३ सय पसल रहेको यो बजार लुगा, चुत्ताचप्पल इलेक्ट्रोनिक सामान किनमेल गर्नका लागि सजिलो बजार पनि हो । सस्तोमा सामान पाउने भएपछि निम्न वर्गिय समुदायका मानिसहरु किनमेल गर्न जाने यो बजार लकडाउनको तीन महिना बन्द रहेपनि अहिले भने खुलेको छ । भृकुटीमण्डमा व्यापार गर्ने साना व्यवसायीहरुको संगठन काठमाडौं निम्न व्यापारी संघका सहअध्यक्ष चिन्तामणि प्रसाईंले अझैपनि पूर्णरुपमा पसलहरु खुल्न नसकेको बताए ।
लकडाउन सुरु हुन भन्दाअघि नै चैत ७ गतेदेखि नै बजार बन्द भएकाले कतिपय व्यापारीहरु गृह जिल्ला पुगेकाले अझै केही पसल खुल्न नसकेको प्रसाईंले बताए । उनले सरकारले असार १ गतेदेखि बजार खोल्न दिएपनि भिडभाड हुने बजार भएकाले १५ गतेदेखि मात्रै खोलेको बताए । कोरोना संक्रमणको अवस्थालाई ध्यान दिई विहान १० बजेदेखि साँझ ६ बजेसम्मका लागि बजार खुल्ला गरिएपनि ग्राहक नआएकाले सुनसान रहेको बताए । उनले ग्राहक नभएपनि दैनिकी चलाउन सजिलो हुन्छ की भन्ने आशामा पसल खोलिएको बताए ।
लकडाउन अघि दैनिक १५/२० हजारको व्यापार हुने गरेकोमा अहिले बोहनी समेत हुन नसकेको व्यापारीहरुले बताएका छन् । पसल खोलेको झण्डै १५ दिन भइसक्दा पनि व्यापार हुन नसकेको व्यवसायी बोधराज थापाले बताए । उनले जनजीवन सहज नभएसम्म ग्राहक आउने सम्भावना नरहेको बताए ।
भृकुटीमण्डपमा अहिले करिब १३ सय पसल रहेका छन् । प्रत्येक पसलले प्रति स्क्वारफुट महिनाको १४ रुपैयाँका दरले हरेक महिनाको १५ गतेभित्र भाडा तिर्नुपर्छ । लकडाउन पछि खुलेको बजारमा व्यापार नहुँदा भाडा तिर्न समेत पैसा नभएकाले चैत महिना यताको भाडा तिर्न नसकेको व्यवसायीहरु बताउँछन् । उनीहरुले व्यापार नै नभएपछि दैनिक गुजारा चलाउन समेत कठिन भएको बताएका छन् ।
प्रकाशित: २८ असार २०७७ १३:१४ आइतबार