coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

रसुवा भन्सारमा जाँचपास प्रक्रिया अघि बढ्यो

रसुवागढी नाका। तस्बिर: हिमनाथ/नागरिक

सोमबारदेखि आयात भएर भन्सार यार्डमा राखिएको सामग्रीको भन्सार जाँचपास प्रक्रिया अघि बढेको छ। चीनको केरुङबाट सोमबारयता नियमित सामग्री आयात भइरहे पनि विभिन्न समस्याका कारण जाँचपास सुरु हुन सकेको थिएन।  

आयातकर्ता र तिनका प्रतिनिधि नाकासम्म जान नपाउँदा समस्या सिर्जना भएको थियो भने कताको कामदार गएर काम गर्ने भन्ने विवाद कायम थियो। यी समस्याको समाधान भएसँगै प्रक्रिया अघि बढेको प्रमुख भन्सार अधिकृत पुण्यबिक्रम खड्काले बताए।  

‘अझै केही समस्या समाधान गर्न बाँकी छ,’ उनले भने, ‘शनिबारदेखि सामग्रीको प्याकिङ लिस्ट बनाउने र गाडीको डिसइन्फेक्सन गर्ने कार्य सुरु भएको छ।’ आइतबारदेखि जाँचपास सुरु हुनेछ। नाकामा दैनिक चारवटा चिनियाँ सवारीले सामान ओसारिरहेका छन्। आएका सामग्री नेपाली कन्टेनरले भन्सार यार्डसम्म ल्याउने गरेका छन्।

व्यवसायी ईश्वर गुभाजुले नाकामा व्यापारी पुग्न कठिनाइ भएको, गाडीमा सिन्डिकेट भएको र भाडामा उच्च वृद्धि भएकाले समस्या आएको बताए। ‘सामग्री आएको धेरै दिन भइसक्यो,’ उनले भने, ‘यसलाई गन्तव्यसम्म पु¥याउने वातावरण छैन।’

अहिले चीनबाट रेडिमेड, इलेक्ट्रोनिक्स सामग्री, जुत्ताचप्पल, घरेलु उद्योगका सामग्री आइरहेको छ। चिनियाँ पक्षले मितेरी पुलसम्म सामान ल्याएर झार्ने र त्यहाँबाट चिनियाँ गाडी फर्किएपछि मात्र नेपाली सवारी त्यहाँ जान पाउने व्यवस्था मिलाइएको छ।  

चिनियाँ गाडीबाट आएको सामग्री चिनियाँ कामदारले नै झारेर फर्कन्छन्। मितेरी पुलमा सामान लोड–अनलोड गर्न व्यक्तिगत सुरक्षा सामग्री ९पिपिई० सेट लगाएका कामदार रहने छन्। चिनियाँ पक्षले एउटा गाडीमा ल्याएको सामग्री नेपाली दुईवटा कन्टेनरमा राख्ने व्यवस्था मिलाइएको छ। नेपाली पक्षले क्वारेन्टिनमा राखिएका १५ चालक र १६ कामदारलाई त्यहाँ पठाएको छ।  

नुवाकोट उद्योग वाणिज्य संघको आपत्ति

संविधानले व्यवस्था गरेको व्यावसायिक हक, अधिकारलाई कुण्ठित हुने गरी कोरोना भाइरसको परिस्थिति देखाएर रसुवामा ७६ जिल्लाका व्यवसायी, सवारी चालक र मजदुरलाई निषेध गरेको भन्दै नुवाकोट उद्योग वाणिज्य संघको आपत्ति जनाएको छ।  

संघले रसुवा उद्योग वाणिज्य संघ, रसुवा चेम्बर अफ कमर्स र रसुवाका व्यवसायीले गरेको निर्णयप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै निर्णय सच्याएर प्रतिस्पर्धात्मक हिसाबले सबै जिल्लाका कन्टेनर तथा चालक र लोडअनलोडमा संलग्न मजदुरले अवसर पाउनुपर्ने माग अघि सारेको छ।  

रसुवाका कन्टेनर व्यवसायी र चालकले मात्र अवसर पाएको खण्डमा यहाँबाट गएका कन्टेनर लगायत अन्य सवारी साधन नुवाकोट प्रवेशमा रोक लगाउने संघले जनाएको छ।  

नाका खोलेसँगै नेपाली तथा चिनियाँ पक्षले स्वास्थ्य सुरक्षालाई उच्च प्राथमिकतामा राखेका छन्। कोरोना भाइरस संक्रमण हुन सक्ने भन्दै गएको माघ १५ गतेदेखि नाका बन्द भएको थियो। चीनबाट रेडिमेड, इलेक्ट्रोनिक, जलविद्युत् आयोजनाका सामग्री, फलफूल र टेलिकमका सामग्री आयात हुँदै आएको छ। 

प्रकाशित: २८ असार २०७७ ०३:४५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App