सुगौली सन्धिपछि नेपाली सेनाले प्रयोग गरेको बाटोलाई पर्यटन प्रोडक्टका रूपमा विकास गर्न निसान पदमार्ग पदयात्रा गरिएको छ । नेपाल एकीकरणका बेला पूर्वमा नेपालले आफ्नो सिमाना पुर्याएको ठाउँ (अहिले भारतको नागरीगढी)देखि इलाम सदरमुकामसम्मको मार्गलाई पदमार्गका रूपमा तयार गर्न स्थानीय सरकार र नेपाली सेना जुटेका हुन् ।
नेपाल एकीकरणपछि सुगौली सन्धि भएका बेला दुई सय वर्षअघिको इतिहास स्मरण गर्दै ४ दिने निसान (विशेष किसिमको झन्डा) पदयात्रा सम्पन्न गरिएको छ । पुस २३ मा नेपाल–भारत सीमाको मेची बजारबाट सुरु भएर करफोक, हात्तीटार हुँदै इलाम सदरमुकामसम्म गरिएको पदयात्रामा सयभन्दा बढी सहभागी भए ।
इलाम नगरपालिका, सूर्योदय नगरपालिका, माइजोगमाई गाउँपालिका, पर्यटन कार्यालय, काँकडभिट्टा र नेपाली सेनाको इलामस्थित रणशार्दूल गणले पदयात्राको आयोजना र व्यवस्थापन गरेका थिए ।
‘वीरतापूर्ण इतिहासलाई पर्यटकीय अवसरमा बदल्न र इतिहास अध्ययनमा सहयोग गर्न पनि यो पदमार्गको अवधारणा आएको हो,’ सूर्योदय नगरपालिकाका मेयर रणबहादुर राईले भने, ‘तर, अब यो पदमार्गलाई प्रदेश सरकार र संघीय सरकारले पनि सहयोग गर्नुपर्छ, स्थानीय सरकार र नेपाली सेनाले आफूले सक्नेजति गरिरहेकै छौं ।’

उनले यो मार्गमा विभिन्न ऐतिहासिक वस्तुहरू रहेको, लोपोन्मुख लेप्चालगायत जातजातिको सांस्कृतिक विशेषतासमेत रहेको, जैविक विविधताका हिसाबले पनि आकर्षक रहेकाले पर्यटन प्रवद्र्धन आवश्यक रहेको जनाए ।
नेपाल एकीकरणताका पूर्वी सीमा विजय गरेर गाडिएका निसान जुन बाटो भएर फर्काइएको थियो, त्यही बाटो संरक्षण गर्दै पर्यटन प्रवद्र्धन गर्न लागिएको हो । यो सूर्योदयको मेची बजारबाट इलाम बजारसम्म यो मार्गको दूरी ४१.१ किलोमिटर छ । नेपाली फौजको तत्कालीन श्रीनाथ पल्टनले पूर्वको भू–भाग विजय गरेर नागरीगढी (अहिले भारत)मा गाडेका निसान सुगौली सन्धीपछि फर्काएर अहिलेको इलाम सदरमुकाम ल्याइएको थियो । त्यहाँबाट करफोकको पूर्णेडाँडा–नामसालिङको हात्तीटार हुँदै अहिलेको सदरमुकामम्म ल्याइएको इतिहास छ ।
पदयात्रामा सूर्योदयका मेयर राई, इलाम नगरका मेयर केदार थापा, माइजोगमाई गाउँपालिका अध्यक्ष कुशबहादुर थेबे, नेपाली सेनाको रणशार्दूल गणका प्रमुख प्रह्लाद घलेलगायत सहभागी भए । उनीहरूसँगै सुरक्षाकर्मी, जनप्रतिनिधि, स्थानीयलगायत पनि सहभागी भएका थिए ।
श्रीनाथ पल्टनले त्यसबेला प्रयोग गरेकै कालो पोसाकका नेपाली सैनिक सांकेतिक रूपमा निसान, खुँडा, ढाल, तरबारलगायत बोकेर पदयात्रा गरेका थिए । नौमती बाजा र विभिन्न भाँकीसमेत प्रदर्शन गरिएको छ । समापन अवसरमा नेपाली सेनाको २१ नम्बर बाहिनी अड्डाका बाहिनीपति मनकुमार श्रेष्ठसमेत सहभागी भए ।
गतवर्ष पनि यसरी पदयात्रा आयोजना गरिएको थियो । यो वर्ष पदयात्रासँगै करफोकमा यही इतिहासलाई समेटेर हाजिरीजबाफ प्रतियोगितासमेत सञ्चालन गरिएको छ । सूर्योदय नगरपालिका ९, बरबोटेमा पर्यटनसम्बन्धी अन्तरक्रिया कार्यक्रम पनि सम्पन्न गरिएको छ । पदयात्रीलाई स्थानीयले ठाउँ–ठाउँमा घडा, कलशलगायत राखेर स्वागत गरेका थिए ।
निसान पदमार्गले इलाममा मुख्य बसोबास रहेको आदिवासी लोपोन्मुख लेप्चा र लिम्बू जातिको पुरानो थातथलोको इतिहास झल्काउने, नेपालको पुरातात्विक सम्पदाबारे नयाँ पिँढीलाई जानकारी दिने इतिहासकार युद्धप्रसाद वैद्यले बताए ।
नेपाल एकीकरण गर्दैजाँदा पूर्वमा टिस्टा नदीसम्म पुगेको नेपालको सीमा सुगौली सन्धिपछि अहिलेको विन्दु (मेची नदी) कायम भएको इतिहास छ । नेपाल एकीकरण गर्दैजाँदा नेपाली सेनाको तत्कालीन श्रीनाथ पल्टनले पुरानो सीमाविन्दु नागरीगढीमा गाढेको निसान सुगौली सन्धिपछि १८७५ सालमा इलाम ल्याइएको थियो ।
नागरीगढीबाट इलाम बजार ल्याइएको निसान र तोप इलामको माइस्थान मन्दिरमा नेपाली सेनाको निगरानीमा राखिएको थियो । सशस्त्र द्वन्द्वका बेला असुरक्षाको कारण देखाउँदै नेपाली सेनाले यहाँको निसान र तोप काठमाडौं स्थानान्तरण गरेको थियो । तर, इलामबासी, पर्यटनकर्मी र इतिहासकारलगायतको निरन्तर दबाबपछि २०७४ सालमा निसान र २०७९ सालमा तोप माइस्थान मन्दिरमै ल्याएर पुनस्र्थापित गरिएको छ ।
इलाम नगरका मेयर थापाले पदयात्राका माध्यमबाट पर्यटक आकर्षित गर्न यो कार्यक्रम तय गरिएको बताए । यो सम्झौताको ऐतिहासिक महŒव रहेकाले उही महŒवलाई दर्साउँदै पर्यटन प्रवद्र्धन गर्नु जरुरी रहेको उनको भनाइ छ । ऐतिहासिक निसान ल्याएको र जिल्ला सदरमुकाम स्थापना भएको दुई सय वर्ष पुगेको अवसरमा २०७५ सालमा इलाम नगरले महोत्सवसमेत आयोजना गरेको थियो । नेपाल–अंग्रेज युद्धपछि १८७२ फागुन २० मा भएको सुगौली सन्धिले पूर्वमा मेची नदीलाई नेपाल–भारत सीमा कायम गरेको थियो । मिरिकस्थित नागरीगढीमा रहेको श्रीनाथ पल्टन अहिले इलामको सूर्योदय नगरपालिकाको करफोकस्थित पूर्णेडाँडामा आएर बस्यो । मेचीदेखि नागरीगढी हुँदै टिस्टासम्मको भू–भाग ४० दिनभित्र गढी खाली गर्न सम्झौता भयो ।
इलामको यही इतिहासबारे सबैलाई जानकारी गराउन जरुरी रहेको इलामका इतिहासकार युद्धप्रसाद वैद्य बताउँछन् । ‘यो विषय नेपालको इतिहासमा समेत लेखिएको छैन,’ इतिहासकार वैद्य भन्छन्, ‘इलाम नेपालमा गाभिनु पृथ्वीनारायण शाहको राज्य एकीकरणको सुरुआत थियो । सुब्बा जयन्त खत्रीले नागरीगढी खाली गरी सदरमुकाम सारेर करफोक ल्याएका हुन् । पूर्णेडाँडा भारतीय सीमानजिक भएको र अंग्रेजले जुनसुकै बेला आक्रमण गर्न सक्ने भएकाले मुकाम खडा गर्नेक्रममा यो पल्टन इलामको माइस्थान ल्याइएको थियो ।’ निसान रहेको माइस्थान मन्दिर १८८० सालमा स्थापना भएको अनुमान छ ।
प्रकाशित: २६ पुस २०८२ १८:२० शनिबार





