२ चैत्र २०८२ सोमबार
image/svg+xml
राजनीति

कार्की नेतृत्वको वर्तमान सरकारलाई संविधान र प्रदेशले चिन्दैन : मन्त्री पौडेल

बागमती प्रदेशका कृषि तथा पशुपन्छी विकास मन्त्री मधुसूदन पौडेलले सुशीला कार्की नेतृत्वको वर्तमान केन्द्र सरकारलाई संविधान र प्रदेश सरकारले नचिन्ने बताएका छन्।

पौडेलले मन्थली नगरपालिकाले आयोजना गरेको दुई दिने कृषि तथा लघुउद्यम मेलाको शनिबार उद्घाटन गर्दै यस्तो बताएका हुन्। उनले बागमती प्रदेश सरकार जनमतबाट बनेको सरकार भएको तर हालको केन्द्र सरकार जनादेश प्राप्त नभएको दाबी गरे। ‘अहिले केन्द्रमा बनेको सरकारलाई नेपालको संविधानले चिन्दैन, संविधानमा पूर्वप्रधानन्यायाधीश प्रधानमन्त्री बन्न सक्ने उल्लेख छैन,’ मन्त्री पौडेलले भने, ‘संविधान जति पटक पढ्दा पनि अहिलेको केन्द्र सरकारलाई बामती प्रदेश सरकारले चिन्दैन।’

पौडेलले २०७२ को संविधान जनताले बनाएको संविधान भएको बताउँदै सो संविधानका विषयमा बहस गर्ने अधिकार मात्र जननिर्वाचित संस्थासँग रहेको स्पष्ट पारे। त्यसैले अहिलेको केन्द्र सरकार संविधानको भावना विपरीत कुनै पनि परिवर्तन गर्न नसक्ने उनको भनाइ छ।

उनले भदौ २३ को आन्दोलनलाई युवा विद्रोहको रूपमा मूल्याङ्कन गर्दै त्यसलाई दुरुपयोग गरेर भदौ २३ र २४ गते हिंसा मचाइएको र देश जलाइएको बताए। ‘देश जलाउनेहरुलाई जनताले चिन्न जरुरी छ,’ मन्त्री पौडेलले थपे।

मेलाको उद्घाटन मन्थली नगरपालिका प्रमुख लब श्रेष्ठको अध्यक्षतामा भएको थियो। कार्यक्रममा बागमती प्रदेश उद्योग, पर्यटन तथा वातावरण समिति सभापति आनन्दकुमार श्रेष्ठ लगायतले पनि धारणा राखेका थिए। मेलामा ५४ वटा स्टल राखिएका छन्।

प्रकाशित: २६ पुस २०८२ १८:१५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App