४ वैशाख २०८१ मंगलबार
अर्थ

महानगरको बजेट तीन अर्ब ३७ करोड

विराटनगरको बजेट सार्वजनिक कार्यक्रममा सहभागि प्रदेश प्रमुख सोमनाथ अधिकारी लगायत । तस्बिर : चुमन बस्नेत

विराटनगर महानगरपालिकाले आर्थिक वर्ष ०७७/७८का लागि तीन अर्ब ३७ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ । बुधबार विराटनगरमा आयोजित छैठौं नगरसभामा तीन अर्ब ३७ करोड ८१ लाख १० हजार रुपैयाँको बजेट नीति तथा कार्यक्रम महानगरपालिकाले सार्वजनिक गरेको हो ।

महानगरपालिकाकी उपप्रमुख इन्दिरा कार्कीले कोरोना महामारीका कारण विराटनगरको आगामी आर्थिक वर्षको बजेट प्रभावित भएको बताइन्। कार्कीले आर्थिक वर्ष ०७६/७७का लागि चार अर्ब १३ करोड ५० लाख ९२ हजार रुपैयाँ बजेट सार्वजनिक गरेको महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि करिब २२ प्रतिशत बजेट घटाउनुपरेको जानकारी दिइन्। 

कार्कीले आगामी आर्थिक वर्षका लागि आन्तरिक आम्दानी तर्फ ८९ करोड ८२ लाख ९६ हजार, राजस्व बाँडफाँटबापत ७६ करोड ८२ लाख, वित्तीय समानिकरण तर्फबाट ३८ करोड ७ लाख ६८ हजार, संघीय सरकार ससर्त अनुदानतर्फ एक अर्ब दुई करोड नौ लाख, प्रदेश सरकार ससर्त अनुदानतर्फ दुई करोड १० लाख नौ हजार रुपैया“ प्राप्त हुने अनुमान  महानगरपालिकाले गरेको छ । 

यस्तै संघीय सरकार विशेष अनुदानतर्फ १३ करोड, प्रदेश सरकार समपुरक अनुदानतर्फ तीन करोड, वैदेशिक र अन्य संघसंस्था अनुदानतर्फ तीन करोड २६ लाख, जनसहभागिताबापत नौ करोड ६२ लाख पाँच हजार प्राप्त हुने अनुमान छ । यस्तै महानगरपालिकाको प्रशासनिक खर्चतर्फ ३४ करोड १९ लाख ५० हजार, सामाजिक सुरक्षातर्फ ३६ करोड, फोहोरमैला व्यवस्थापन तथा ल्याण्डफील साईडको जग्गा खरिदतर्फ ११ करोड ४९ लाख ५० हजार रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

नगर स्वास्थ्यतर्फ १९ करोड ५७ लाख, शैक्षिक विकास कार्यक्रमतर्फ ५६ करोड १३ लाख, युवा विकास तथा खेलकुदतर्फ दुई करोड ९ लाख, अन्य कार्यक्रमतर्फ ६ करोड रुपैयाँ विनियोजन गरेको छ । यस्तै भौतिक पूर्वाधारलगायत पूँजीगत खर्च एक अर्ब ७१ करोड ७९ लाख ६५ हजार रुपैयाँ विनियोजन गरिएको नगर उपप्रमुख कार्कीले जानकारी दिइन् ।  

नगरसभामा विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । नीति तथा कार्यक्रम प्रस्तुत गर्दै पराजुलीले महानगरलाई पूर्वाधारका हिसावले प्रदेश राजधानीका लागि आवश्यक पूर्वाधारहरू विकास गर्न क्षेत्रगत गुरुयोजना तयार पारिने बताए । 

उनले एशियाली विकास बैंकसंग विराटनगरको फोहोरमैला व्यवस्थापनलगायत थप पूर्वाधार विकासका लागि महानगरपालिकाले तेस्रो चरणको परियोजना कार्यान्वयनका लागि पहल थाल्ने जानकारी दिए । यस्तै महानगरपालिकाले ठोस र ठूला योजनालाई प्राथमिकतामा राखेर टुक्रे योजनालाई निरुत्साहित गर्ने नीति लिएको सभामा जानकारी दिए ।

प्रकाशित: १० असार २०७७ १०:२४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App