६ वैशाख २०८१ बिहीबार
अर्थ

तेलको माग ह्वात्तै बढ्यो

नेपाल आयल निगमको अमलेखगन्ज डिपोमा पेट्रोलियम पदार्थ लोड गरेर निस्किँदै ट्यांकर ।

मुलुकमा आर्थिक क्रियाकलाप बढ्न थालेपछि पेट्रोलियम पदार्थको माग ह्वात्तै बढेको छ । बन्दाबन्दी (लकडाउन)ले इन्धन कारोबार घटेर १५ प्रतिशतमा खुम्चिएकोमा आर्थिक गतिविधि बढेसँगै माग बढेर ७० प्रतिशत पुगेको छ । 

साढे दुई महिनादेखिको बन्दाबन्दीपछि बजारसँगै विकास निर्माणका काम, उद्योगधन्दा खुलेर सवारी साधन गुड्न थालेपछि पेट्रोलियम पदार्थको माग क्रमशः बढ्दै गएको छ ।  

नेपाल आयल निगमका प्रवक्ता विनितमणि उपाध्यायका अनुसार इन्धन कारोबार पुरानो लयमा फर्किन थालेको छ । ‘माग बढेपछि सबै डिपो नियमित खोल्न थालेका छौं,’ उपाध्यायले भने, ‘इन्डियन आयल कर्पोरेसनबाट आयात पनि बढिरहेको छ ।’

बन्दाबन्दीमा पेट्रोल दैनिक तीन सय किलोलिटर मात्र बिक्री हुने गरेकोमा अहिले  दैनिक एक हजार ४० किलोलिटरभन्दा बढीको कारोबार भएको छ ।  त्यसैगरी, डिजेलको कारोबार बढेर दैनिक ६ हजार ६ सय किलोलिटर  पुगेको छ । डिजेल दैनिक करिब हजार किलोलिटरमा सीमित थियो ।  

‘सामान्य अवस्थामा आठ हजार किलोलिटर डिजेल बिक्री हुन्थ्यो,’ प्रवक्ता उपाध्यायले भने, ‘क्रमशः पुरानै अवस्थामा आउँदै छ ।’

आयात बढाउन आइओसीसँग पनि कुरा भइरहेको उनले बताए । ‘सोमबारदेखि आइओसीको रक्सौल डिपोले नियमित तेल दिने भनेको छ,’ उपाध्यायले भने, ‘हप्तामा दिन बिराएर खोल्ने डिपो नियमित खोल्न थालेका छौं ।’

काठमाडौं उपत्यकामा सवारी चाप बढेकाले माग बढेको नेपाल आयल निगम थानकोट डिपो प्रमुख प्रदीप यादवले बताए । थानकोटबाट शुक्रबार मात्र चार सय किलोलिटर पेट्रोल   र सात सय किलोलिटर डिजेल  बिक्री भएको छ ।

‘पेट्रोलियम पदार्थको कारोबार सामान्य अवस्थातर्फ फर्किन थालेको छ,’ यादवले भने, ‘उपत्यकामा माग बढेर करिब ७० प्रतिशत पुगेको छ ।’  

आयल निगमको प्रदेश नं २ बारा अमलेखगञ्जका प्रादेशिक प्रमुख भरत रेग्मीले भने, ‘कसैले पनि भण्डारण गरेर राख्न डिजेल र पेट्रोल लैजाँदैन,’ प्रमुख रेग्मीले भने, ‘सवारी साधनसँगै विकास निर्माणका कामले गति लिएकाले इन्धनको माग बढेको छ ।’  

अल्टरनेटमा पाइपलाइनबाट डिजेल आयात भइरहेकामा अहिले नियमित आयात गर्न थालिएको रेग्मीले जानकारी दिए । अमलेखगन्ज सबैभन्दा इन्धन कारोबार हुने डिपो हो । त्यहाँबाट काठमाडौंं, पोखरा, विराटनगर, झापा, भैरहवाका डिपो अन्तर्गतका जिल्लामा पेट्रोलियम पदार्थ वितरण हुन्छ ।

प्रकाशित: ३२ जेष्ठ २०७७ १०:४८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App