८ वैशाख २०८१ शनिबार
अर्थ

‘यसपालि नेपालमा सलह आउँदैन’

वैज्ञानिक र प्राविधिक सम्मिलित सरकारी समितिले यसपटक नेपालमा सहल किरा नआउने निष्कर्ष निकालेको छ । भारतमा यसको प्रकोप फैलिएसँगै नेपालमा पनि आउन सक्ने सम्भावनालाई हेरेर कृषि तथा पशुपक्षी विकास मन्त्रालयले प्लान्ट क्वारेन्टिन तथा विषादी केन्द्रका प्रमुख सहदेवप्रसाद हुमागाईंको संयोजकत्वमा वैज्ञानिक तथा प्राविधिक सम्मिलित समिति बनाएको थियो । समितिले भारतको मध्यप्रदेशतिर आएको सलह फेरि राजस्थानतिर फर्किएको र हावाको बहावले पनि साथ नदिएको कारण नेपालमा आउने सम्भावना टरेको बताएको हो ।

‘यसलाई नजिकबाट हेरिरहेका अन्तर्राष्ट्रिय विज्ञको सुझाव पनि त्यसैअनुरुप आएकोले हामी यो निष्कर्षमा पुगेका हौं,’ समिति संयोजक हुमागाईले भने, ‘अहिले नआए पनि अर्को वर्ष आउन सक्दैन भन्ने चाहिँ होइन ।’ उनले पछिल्ला केही दिनदेखि देशैभर परेको वर्षा पनि सहल रोक्न सहयोगी बनेको बताए । ‘यसले सुक्खा मौसम र ठाउँ मन पराउने हो, पछिल्ला दिनमा देशैभर परेको झरीले मौसम ओसिलो बनेको छ,’ उनले भने ।

हुमागाईंले समितिले प्रतिवेदनमार्फत आगामी दिनमा सहल आउन सक्ने सम्भावना, यसले गर्न सक्ने क्षति र क्षति कम गर्न आवश्यक सुझाव सहित प्रतिवेदन बुझाएको बताए । ‘सहल जस्ता किराको प्रकोप डरलाग्दो र धेरै क्षति गर्ने पाइएको छ, तसर्थ यसको रोकथामको लागि सबैको प्रयास जरुरी देखियो,’ उनले भने, ‘त्यसको लागि संघ, प्रदेशदेखि स्थानीय तहसम्म एउटा संरचना तोकेर तयारी गर्नुपर्ने हाम्रो सुझाव छ ।’  

उनले यसको रोकथामको लागि स्रोत, साधनयुक्त रहनुपर्ने र किरा आउनेबित्तिकै उक्त संरचनाले काम गर्नुपर्ने औंल्याए । उनले यही अवस्थामा सलह आए मकै, धान, तरकारी, फलफूल र घाँस सखाप पार्ने बताए । समितिले नियन्त्रणका लागि आवश्यक विषादी सिफारिस पनि गरेको छ । यसअघि सन् १९६२ मा सलह पहिलोपटक नेपालमा आएको र काठमाडौं उपत्यका लगायत क्षेत्रमा ठूलो विनाश गरेको बताइन्छ ।

प्रकाशित: २५ जेष्ठ २०७७ २३:१५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App