उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले यसपटक ठुला नेता र मन्त्री केन्द्रीत बजेट विनियोजन नहुने दाबी गरेका छन्। बुधबार नागरिक फ्रन्टलाइन संवाद कार्यक्रममा अन्तर्वार्ता दिँदै अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन्। संवादको पूर्ण भिडिओ सामग्री अहिले साँझ सात बजे नागरिकन्युजमा प्रशारण हुँदैछ।
‘यो गुनासोमा केही परम्परागत मनोविज्ञानले काम गरेको छ। कहिलेकाही यस्ता घटना घटे होलान्, अभ्यास भए होलान्,’ अर्थमन्त्री पौडेलले भने,‘तर म के विश्वास दिलाउन चाहन्छु भने ठुला नेता र मन्त्रीलाई आधार मानेर बजेट विनियोजन हुँदैन। बजेट त्यो ढंगले विनियोजन गर्ने कुरा उचित पनि हुँदैन, सम्भव पनि हुँदैन।’
सरकार मूलतः अहिलेको राष्ट्रिय आवश्यकता, राष्ट्रिय प्राथमिकता र स्रोतलाई अत्यधिक प्रतिफल दिने योजनामा विनियोजन गर्न केन्द्रीत रहेको उनले बताए।
‘हुनसक्ला कतिपय योजना कुनै न कुनै निर्वाचन क्षेत्रमा पर्ला। त्यो कुनै न कुनै मन्त्री, सांसद वा नेताको निर्वाचन क्षेत्र हुन्छ नै,’ उनले भने, ‘त्यसो हुँदा उसकोमा प¥यो भन्ने होला । तर, हामी मन्त्री केन्द्रीत, नेताकेन्द्रीत बजेट विनियोजन गर्दैनौँ।’
प्रकाशित: २४ वैशाख २०८२ १८:२२ बुधबार





