१४ पुस २०८२ सोमबार
image/svg+xml
अर्थ

कर्णालीमा दुई लाख ५८ हजार मेट्रिक टन मकै उत्पादन

कर्णाली प्रदेशमा उत्पादन हुने खाद्यन्नमध्ये सबैभन्दा बढी मकै उत्पादन हुने गरेको छ। प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका अनुसार यो वर्ष कर्णालीमा सबैभन्दा बढी दुई लाख ५८ हजार आठ सय ७६ मेट्रिक टन मकै उत्पादन भएको छ। कृषि मन्त्रालयका अनुसार कर्णालीमा ८२ हजार आठ सय आठ हेक्टर क्षेत्रफलमा मकैखेती हुँदै आएको छ। मकैपछि बढी उत्पादन हुने बाली गहुँ हो।

प्रदेशका दसवटै जिल्लाको तथ्यांक अनुसार ७१ हजार सात सय ६९ हेक्टर क्षेत्रफलमा गहुँ खेती गरिँदै आएको छ। गत वर्ष मात्रै प्रदेशभर एक लाख ५१ हजार नौ सय ९० मेट्रिक टन गहुँ उत्पादन भएको कृषि निर्देशनालयको तथ्यांकले देखाउँछ।

निर्देशनालयका निर्देशक तिलक पाण्डेका अनुसार धान उत्पादन तेस्रो स्थानमा पर्दछ। पाण्डेका अनुसार गत वर्ष एक लाख ४६ हजार ६ सय ७९ मेट्रिक टन धान उत्पादन भएको थियो। उनले भने, कर्णालीमा ४१ हजार तीन सय चार हेक्टर क्षेत्रफलमा धानखेती हुँदै आएको उल्लेख गरे।

कोदो १८ हजार आठ सय २६ मेट्रिक टन, जौ नौ हजार सात सय नौ मेट्रिक टन र फापर दुई हजार ६ सय ३३ मेट्रिक टन उत्पादन भएको पाण्डे बताउँछन्। कोदो र फापर विशेषगरी हिमाली क्षेत्रमा उत्पादन हुने गरेको छ। जसअन्तर्गत १३ हजार सात सय चार हेक्टर क्षेत्रफलमा कोदो र दुई हजार तीन सय ७७ हेक्टर क्षेत्रफलमा फापरखेती हुँदै आएको निर्देशनालयले जनाएको छ।

निर्देशनालयको जिल्लागत तथ्यांक अनुसार सबैभन्दा बढी मकै उत्पादन हुने जिल्ला सल्यान हो। सल्यानमा यो वर्ष ७४ हजार सात सय मेट्रिक टन मकै उत्पादन भएको छ। सुर्खेतमा ४५ हजार चार सय ७५ मेट्रिक टन मकै उत्पादन हुँदा दैलेखमा ४५ हजार तीन सय १० मेट्रिक टन, जाजरकोटमा ३३ हजार तीन सय १३ मेट्रिक टन, रुकुम पश्चिमा ३५ हजार तीन सय ४० मेट्रिक टन मकै उत्पादन भएको निर्देशक पाण्डेले बताए।

उनका अनुसार कालीकोटमा आठ हजार ६० मेट्रिक टन, जुम्लामा १० हजार पाँच सय मेट्रिक टन, मुगुमा दुई हजार एक सय ३८ मेट्रिक टन, डोल्पामा तीन हजार सात सय ५० मेट्रिक टन र हुम्लामा दुई सय ९० मेट्रिक टन मकै उत्पादन भएको छ।

यस्तै गहुँ उत्पादनमा सुर्खेत अगाडि देखिएको छ। सुर्खेतमा यो वर्ष ३४ हजार एक सय दुई मेट्रिक टन उत्पादन भएको छ भने सल्यानमा २८ हजार पाँच सय २८ मेट्रिक टन गहुँ उत्पादन भएको छ। जाजरकोटमा २५ हजार एक सय मेट्रिक टन, रुकुम पश्चिममा २१ हजार सात सय १३ मेट्रिक टन, दैलेखमा १७ हजार दुई सय ७४ मेट्रिक टन, कालीकोटमा ११ हजार तीन सय १३ मेट्रिक टन, जुम्लामा पाँच हजार चार सय आठ मेट्रिक टन, डोल्पामा चार हजार एक सय ६५ मेट्रिक टन, मुगुमा तीन हजार दुई सय ७२ मेट्रिक टन र हुम्लामा एक हजार एक सय १५ मेट्रिक टन गहुँ उत्पादन भएको छ। धान उत्पादनमा पनि सुर्खेत पहिलो देखिएको निर्देशक पाण्डेले बताए।

यो वर्ष उत्पादन भएको धानको तथ्यांक हेर्दा सुर्खेतमा ६३ हजार ८० मेट्रिक टन उत्पादन भएको छ। उनका अनुसार दैलेखमा २७ हजार एक सय ५२ मेट्रिक टन, सल्यानमा २३ हजार सात सय १० मेट्रिक टन, रुकुम पश्चिममा नौ हजार चार सय ५५ मेट्रिक टन, जाजरकोटमा नौ हजार तीन सय सात, जुम्लामा पाँच हजार नौ सय ८७, कालीकोटमा पाँच हजार पाँच सय मेट्रिक टन धान उत्पादन भएको छ। यस्तै, हुम्लामा एक हजार एक सय २० मेट्रिक टन धान उत्पादन हुँदा मुगुमा एक हजार २३ मेट्रिक टन र डोल्पामा तीन सय ४५ मेट्रिक टन धान उत्पादन भएको छ।

कर्णालीमा सात जिल्ला खाद्यान्नमा आत्मनिर्भर छन् भने अन्य तीन जिल्ला खाद्यान्नमा आत्मनिर्भर हुन सकेका छैनन्। कर्णालीमा उत्पादन बढाउन विभिन्न कार्यक्रमहरू सञ्चालन गरिँदै आइएको प्रदेश सरकारले जनाएको छ। सरकारले ब्याज अनुदानमा ऋण उपलब्ध गराउनेदेखि उत्कृष्ट किसानलाई पुरस्कृत गर्नेलगायत कार्यक्रम सञ्चालन गरिरहेको निर्देशक पाण्डेले बताउँछन्। 

टेकराज केसी/रासस

प्रकाशित: २२ चैत्र २०८१ ०९:५९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App