नेकपा एमालेका महासचिव शंकर पोखरेलले जेनजी आन्दोलनको नाममा भएको विध्वंसात्मक घटनाप्रति कडा आपत्ति जनाउँदै एकै दिनमा भएको ठूलो क्षति कुनै पनि हालतमा जनताको आन्दोलन हुन नसक्ने बताएका छन्।
सरकारी प्रतिवेदन अनुसार जेठ २३ र २४ गते भएको जेनजी आन्दोलनबाट ८४ अर्ब ४५ करोडको क्षति भएको छ भने पुनर्निर्माणमा ३६ अर्ब आवश्यक रहेको समाचार प्रकाशित भएलगत्तै पोखरेलले यस्तो प्रतिक्रिया जनाएका हुन्।
सामाजिक सञ्जालमार्फत् प्रतिक्रिया जनाउँदै उनले जनताको नाममा हुने आन्दोलन कहिल्यै पनि विध्वंसात्मक हुन नसक्ने उल्लेख गरेका छन्। 'कुनै पनि बहानामा यस्तो प्रकारको तोडफोड र क्षति स्वीकार्य हुँदैन,' उनले भनेका छन्।
पोखरेलले विशेषगरी जेनजीका नाममा नेपाली नवयुवामाथि षड्यन्त्रको आरोप लगाइएको प्रति पनि आपत्ति जनाएका छन्। उनले युवालाई दोषारोपण गर्नु अनुचित भएको भन्दै यस्तो कार्य आफूले स्वीकार गर्न नसक्ने स्पष्ट पारेका छन्।
'अहं, यस्तो हुनै सक्दैन,' भन्दै उनले उक्त घटनाका योजनाकार र मतियारलाई नबिर्सिने चेतावनीसमेत दिएका छन्। 'हामी बिर्सने छैनौँ—यस विध्वंसका योजनाकार र मतियारहरूलाई,' उनको भनाइ छ।
प्रकाशित: १४ पुस २०८२ ११:११ सोमबार





