३ चैत्र २०८२ मंगलबार
image/svg+xml
अर्थ

ग्याँस र इन्धनमा कालोबजारी गर्नेमाथि महानगरको निगरानी

काठमाडौं महानगरपालिकाले बजारमा खाना पकाउने ग्याँस र सवारी इन्धनको कृतिम अभाव सिर्जना गरी कालोबजारी गर्नेहरूमाथि निगरानी थालेको छ।

डिपोमा ग्याँस र तेल मौज्दात हुँदाहुँदै ‘छैन’ भन्दै उपभोक्ता फर्काउने र बढी मूल्य असुल्ने उजुरी बढेपछि महानगरले आफ्नो संयन्त्रलाई सक्रिय बनाएको हो।

महानगरपालिकाका प्रशासन विभाग प्रमुख महेश काफ्लेले गलत सूचना फैलाएर अभाव देखाउने जो-कोहीलाई कानुनी दायरामा ल्याउने बताएका छन्।

उनले उपभोक्तालाई ठग्ने नियत राख्ने व्यापारीमाथि निर्मम हुने बताए। ‘ग्याँस छैन भन्ने भ्रम फैलाएर महँगोमा बेच्ने र जनजीवन असहज बनाउनेमाथि हामीले सूक्ष्म निगरानी थालेका छौँ,’ उनले थपे, ‘नेपाल आयल निगमले ग्याँसको मूल्य प्रति सिलिण्डर १ हजार ९१० रुपियाँ तोकेको छ, यही मूल्यमा मात्रै खरिद-बिक्री गर्न हाम्रो आग्रह छ।’

उनले उपभोक्ताहरूलाई पनि आवश्यकताभन्दा बढी सञ्चिती नगर्न आग्रह गरेका छन्। ग्याँस अभाव हुने डरले धेरै सिलिण्डर थुपार्दा बजारको आपूर्ति चक्र नै बिग्रने उनको तर्क छ। सहज जनजीवनका लागि उपभोक्ता, व्यवसायी र सरकार सबैले आ-आफ्नो जिम्मेवारी पूरा गर्नुपर्नेमा काफ्लेले जोड दिए।

महानगरले ग्याँस मात्र नभई पेट्रोलियम पदार्थको बिक्री वितरणमा निगरानी गरेको छ।

कतिपय पेट्रोल पम्पले तेल भए पनि ‘नो स्टक’ को बोर्ड झुण्ड्याएर सवारी साधनलाई फर्काउने गरेको सूचना आएपछि अनुगमन तीव्र पारिएको हो।

‘पम्पहरूले इन्धन लुकाएर सवारी चालकलाई सास्ती दिएको पाइएको छ, यस्तो गतिविधिमा संलग्नलाई कारबाहीको दायरामा ल्याइनेछ,’ काफ्लेले भने।

महानगरले ग्याँस र इन्धनको कालोबजारी वा कृतिम अभावबारे जानकारी दिन हटलाइन नम्बरहरू समेत सार्वजनिक गरेको छ।

सर्वसाधारणले तथ्यसहितको विवरण महानगरको हटलाइन ११८० वा मोबाइल नम्बर ९८५१३५६५०९ मा टिपाउन सक्ने व्यवस्था मिलाइएको छ।

ग्याँस बिक्रेता महासंघ, नेपालका अध्यक्ष ज्ञानेश्वर अर्यालले भारतबाट हुने ग्याँसको आपूर्तिमा कुनै अवरोध नभएको बताएका छन्।

उनका अनुसार सीमा नाकाबाट नियमित रूपमा ग्याँस भित्रिरहेको छ। ‘ग्याँस नियमित आइरहेको छ, तर उपभोक्ताले अभाव हुने डरले सञ्चिती गर्न थाल्दा माग अस्वाभाविक देखिएको हो,’ उनले सुनाए।

उपभोक्ताले अनावश्यक सञ्चिती नगर्ने हो भने बजारमा ग्याँसको कुनै अभाव नहुने उनको दाबी छ।

प्रकाशित: ३० फाल्गुन २०८२ १५:११ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App