२० चैत्र २०८१ बुधबार
image/svg+xml २२:१४ अपराह्न
अर्थ

४२ जनालाई अन्नपूर्ण आरोहणको अनुमति

वसन्तयाममा अन्नपूर्ण प्रथम हिमाल आरोहणका लागि ४२ जनाले अनुमति लिएका छन्। आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमाल म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको भूगोलमा पर्छ। वसन्तयामका लागि चार समूहका ३० पुरुष र १२ जना महिलाले अन्नपूर्ण आरोहणका लागि अनुमति लिएको पर्यटन विभागका निर्देशक आरती न्यौपानेले जानकारी दिए।  

उनका अनुसार वसन्तयामका लागि हालसम्म नेपालका पाँचवटा हिमाल आरोहण गर्न ५८ जनाले अनुमति लिएकामा सबैभन्दा बढी अन्नपूर्ण आरोहण गर्नेहरू छन्। अघिल्लो वर्षभन्दा यो वर्ष अन्नपूर्ण आरोहण गर्न अनुमति लिने आरोहीहरू बढेका छन्। अन्नपूर्ण हिमाल आरोहण अनुमति दिएबापत विभागले एक करोड ४७ लाख नौ हजार चार सय २० रुपैयाँ शुल्क सङ्कलन गरेको विभागका निर्देशक न्यौपानेले जानकारी दिए। उनका अनुसार अघिल्लो वर्षको वसन्तयाममा २५ जनाले अनुमति लिँदा ५९ लाख ६१ हजार सात सय ८० रुपैयाँ शुल्क सङ्कलन भएको थियो।  

अनुमति लिएका आरोहीहरू आधार शिविर पुग्न थालेको अन्नपूर्ण आधार शिविर र मौरिस हर्जोग पदमार्गका अभियन्ता तेज गुरुङले बताए। अन्नपूर्ण आरोहणका लागि यो याम उपयुक्त मानिन्छ। उनका अनुसार अन्नपूर्णको हालसम्म चार सय ८८ जनाले सफल आरोहण गरेका छन्। आरोहणको ७५ वर्ष पूरा भएको अवसरमा आगामी जेठ २० गते अन्नपूर्ण गाउँपालिकाले अन्नपूर्ण आधार शिविरमा विशेष कार्यक्रमको तयारी गरेको पालिका कार्यालयले जनाएको छ।  

सन् १९५० मा फ्रान्सका मौरिस हर्जोगले अन्नपूर्णमा पहिलो पटक आरोहण गरेका थिए। मौरिसले अन्नपूर्ण आरोहण गरेको तीन वर्षपछि सन् १९५३ मा सर एडमन्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाले सर्वोच्च शिखर सगरमाथाको आरोहण गरेका थिए। रासस  

प्रकाशित: १८ चैत्र २०८१ १०:२८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App