वाणिज्य बैंकहरूले चैत महिनाका लागि निक्षेपको ब्याजदर यथावत् राखेका छन्। चैतका लागि निक्षेपको ब्याजदर सार्वजनिक गरेका बैंकहरूले फागुनको ब्याजदरलाई निरन्तरता दिएका छन्। केही महिनाअघि ब्याजदर निरन्तर घट्दै आएकोमा पछिल्ला दुई महिनामा ब्याजदर स्थिर देखिएको छ। बैंकहरूको निक्षेपको औषत ब्याजदर ४.६२ प्रतिशत रहेको छ।
बैंकहरूले चैतका लागि संस्थागत मुद्दती निक्षेप ३.५ प्रतिशतदेखि ५.६ प्रतिशतसम्म ब्याज तय गरेका छन्। बैंकहरूले ५.५ प्रतिशतदेखि ६.६ प्रतिशतसम्म ब्याजदर दिइरहेका छन्। व्यक्तिगत मुद्दती निक्षेपको भन्दा संस्थागत मुद्दती निक्षेपको ब्याजदर एक प्रतिशत बिन्दुले कम हुनुपर्ने व्यवस्था छ।
बैंकहरूले व्यक्तिगत मुद्दती निक्षेपतर्फ एनएमबि र एनआइसी एसिया बैंकले सबैभन्दा धेरै ६.६ प्रतिशत ब्याजदर दिने भएका छन्। त्यसैगरी, प्राइम कमर्सियल बैंकले ६.२५ प्रतिशत, सानिमा बैंकले ६.०५ प्रतिशत, प्रभु बैंकले ६.१ प्रतिशत, कुमारी बैंकले ६.०१ प्रतिशत, ग्लोबल आईएमई, माछापुच्छ«े, सिद्धार्थ बैंक, एभरेष्ट बैंक र राष्ट्रिय वाणिज्य बैंकले ६ प्रतिशत, नेपाल बैंक लिमिटेड, नेपाल एसबिआई र हिमालयन बैंकले ५.५ प्रतिशत अधिकतम अवधिको मुद्दती निक्षेपमा ब्याज दिने भएका छन्। सिटिजन्स इन्टरनेसनल बैंकले ५.६५ प्रतिशत र कृषि विकास बैंकले ५.५१ प्रतिशत व्यक्तिगत मुद्दती निक्षेपतर्फ ब्याज दिएका छन्।
बैंकिङ प्रणालीमा अधिक तरलता भएको भन्दै बैंकहरूले निरन्तर ब्याजदर घटाउँदै आएका थिए। खराब कर्जा बढेको र केही बैंकहरूको पुँजीकोषमा दबाब परेकाले कर्जा प्रवाह बढ्न नसकेको भन्दै ब्याजदर घटाएको भए पनि अहिले यथावत् राखेका छन्। बैंकहरूले तीन प्रतिशतमा राष्ट्र बैंकमा निक्षेप राख्नुभन्दा लागतमै कर्जा प्रवाह गर्दा फाइदा हुने भन्दै प्रिमियम दर नै नजोडी कर्जा प्रवाह गर्दै आएका छन्।
प्रकाशित: १ चैत्र २०८१ १०:५१ शुक्रबार





