बजेट अभाव र काममा ढिलासुस्तीले ट्र्याक खुल्नै डेढ दशक लागेको बहुचर्चित कर्णाली करिडोरको खुलालु–हिल्सा सडकअन्तर्गत ५० किलोमिटर सडक कालोपत्र गर्न चार अर्बभन्दा बढीको बहुवर्षीय ठेक्का प्रक्रिया सुरु भएको छ।
खुलालु–सल्लीसल्ला खण्डको स्तरोन्नतिसहित कालोपत्र गर्न कर्णाली करिडोर खुलालु–सल्लीसल्ला सडक योजनाले फागुन २ मा चार अर्ब २३ करोडको बहुवर्षीय ठेक्का आह्वान गरेको हो। बाजुराको पिलिचौरदेखि हुम्ला चुम्चासम्म ५० किलोमिटरका लागि दुई खण्डमा ठेक्का खुलाइएको हो। कालीकोटको खुलालुदेखि बाजुरको पिलिचौरसम्म अघिलो वर्ष लगाइएका ठेक्काको काम भइरहेकाले माथिल्लो भागमा ठेक्का खोलिएको योजनाले जनाएको छ।
भारतको जमुनाहदेखि चीनको हिल्सासम्म त्रिदेशीय सडक कर्णाली करिडोरलाई सरकारले राष्ट्रिय गौरवको आयोजनामा राखेको छ। तीन वर्षभित्र स्तरोन्नतिसहित कालोपत्रको काम सकिने गरी बहुवर्षीय ठेक्का भएको कर्णाली करिडोर खुलालु–सल्लीसल्ला सडक योजना प्रमुख तुलाराम शर्माले बताए।
शर्मा भन्छन् ‘कर्णाली करिडोरमा हालसम्मकै बढी रकमको ठेक्का लागेको छ। कर्णाली करिडोरमा पर्ने नदीमा पक्की पुल निर्माण गर्न गत वर्ष कालीकोटको खुलालदेखि बाजुराको पिलिचौरसम्मका लागि एक अर्बभन्दा बढीको ठेक्का लागेर कम सुरू भइरहेको छ।
खुलालुदेखि पिलिचौरसम्मको कालेपत्रका लागि बजेट सुनिश्चितता भए पछि अर्को आर्थिक वर्षमा ठेक्का हुने योजना प्रमुख शर्माले बताए। कालीकोट खण्डमा फुकोट जलविद्युत्का कारण डुबान हुने ठाउँमा सडकको लाइन परिवर्तन गर्नुेपर्नेबारे छलफल भइरहेको उनले सुनाए।
कालीकोटदेखि हुम्लासम्मको १३ वटा स्थानीय तहसहित भारत र चीन जोड्ने कर्णाली करिडोरको स्तरोन्नति भएपछि यस क्षेत्रको जीवनस्तरमा सुधार हुने स्थानीयको विश्वास छ। यो सडक सुधार भए मानसरोवर जान भारतीय पर्यटकको संख्या बढ्ने स्थानीयको आशा छ।
उत्तर–दक्षिण लोकमार्ग कर्णालीको विकासको मेरुदण्ड भएको कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले बताए। उनले राष्ट्रिय गौरवका आयोजनामा महŒवका साथ सरकारले बजेट दिन थाल्नु पनि उपलब्धि भएको बताएका छन्। ‘संघ सरकार पनि प्रदेशलाई अधिकार दिने सवालमा सकारात्मक देखिएको छ। उपलब्ध स्रोतसाधनको अधिकतम परिचालन गर्न हामी पनि चुक्नु हुँदैन,’ उनले भने। कर्णाली करिडोरअन्तर्गत हालिएका सबै बेलिब्रिज विस्थापन गरेर पक्की पुल निर्माणका लागि काम भइरहेको छ।
कालीकोटको खुलालु, सान्नीगाड, फुगाड, जुड्डी, कुवाडी खोला, गल्फागाड, सल्लीसल्लालगायत ठाउँमा पक्की पुल निर्माण भइरहेका कर्णाली करिडोर खुलालु–सल्लीसल्ला सडक योजना इन्जिनियर युवराज जोशीले बताए।
केही ठाउँमा काम सुरु भइसकेको र केहीमा यसै वर्षभित्र सम्पन्न हुने आयोजनाले जनाएको छ। कालीकोटको खुलालुदेखि बाजुराको पिलिचौरसम्म गत वर्षदेखि ठेक्कामार्फत सडक स्तरोन्नतिसहित पुलको काम भइरहेको छ भने थप ५० किलोमिटरका लागि सवा चार अर्बको ठेक्का लागेको हो।
गत वर्ष खुलालुदेखि बाजुरासम्म ६० किलोमिटरका लागि सडक सुधार, केही ठाउँमा मर्मतसम्भार, ग्याबिन पर्खाल, ग्राभेललगायत कामका लागि ६० करोडमा ६ वटा ठेक्का भएर काम भइरहेको छ।
बाजुराको पिलिचौरदेखि हुम्लाको कुवाडी खोला हुँदै सल्लीसल्ला सडकखण्ड स्तरोन्नतिका लागि चालु आर्थिक वर्षका लागि एक अर्ब १२ करोड ४८ हजार बजेट विनियोजिन भएको छ। यो ठेक्काको काम तीन वर्षभित्र सम्पन्न गर्ने योजना छ। ठेक्का चार अर्ब २३ करोडको भए पनि भ्याट कटाएर तीन अर्ब ८ करोडको मात्र काम हुने सडक विभागको भनाइ छ।
कर्णाली करिडोरको सलीसल्लादेखि हिल्सासम्मको एक सय ४६ किमि सडक मर्मत–सुधारका लागि पनि ३४ करोडको ठेक्का लागेर काम भइरहेको छ। हिल्साबाट हुम्लाको सदरमुकाम सिमकोट जोड्न सात जग्गा विवादले हुम्ला सदरमुकामनजिकै सात सय मिटर सडक बन्न बाँकी छ। ‘घुमाउरो बाटोबाट त हिल्सा सिमकोट सडक जोडिएको छ,’ हुम्लास्थित हिल्सा–सिमिकोट आयोजना प्रमुख बेलबहादुर नेपालीले भने, ‘स्थानीयले विवाद गरेकाले सात सय मिटर सडक खन्न बाँकी छ।’
वर्षामा हुम्लाको खार्पुनाथस्थित चुवा खोला तर्न नसकेर गाडी सिधै सुर्खेत जान सक्ने अवस्था छैन। उक्त ठाउँमा हाल नेपाली सेनाले बेलिब्रिज निर्माण गरिरहेको छ।
खुलालुबाट हुम्ला सदरमुकाम सिमकोट जोड्ने सडक एक वर्षअघि सम्पन्न भएर स्थानीय रूपमा गाडी गुडिरहेका छन्। कडा चट्टान, बजेट अभाव र निकासमा हुने ढिलासुस्तीले राष्ट्रिय गौरवको आयोजना भनिए पनि ट्र्याक खुल्ने डेढ दशक लागेको स्थानीयको भनाइ छ। कर्णाली करिडोरमा सडकको दुरवस्थाका कारण गाडी भाडा पनि अचाक्ली महँगो भएको हुम्ला सर्केगाडका नवराज रोकायाको गुनासो छ। ‘गाडी त आयो तर भाडा अचाक्ली वृद्धि भएको छ। सर्केगाडबाट सुर्खेत पुग्न चार हजार तिर्नुपर्छ,’ उनले भने, ‘सडक स्तरोन्नति भए गाडी भाडा पनि घट्ला भन्ने आशा छ।’
२०७१ चैत ५ को मन्त्रीपरिषद् बैठकले खुलालु–सिमकोट सडक विशेष परिस्थितिको भन्दै निर्माणको जिम्मा नेपाली सेनालाई दिएपछि कामले केही गति लिएको थियो। कालीकोटको खुलालुदेखि हुम्लाको सदरमुकाम सिमकोटसम्म एक सय ९६.३ किमि लामो कर्णाली करिडोर पाँच वर्षभित्र सक्ने गरी नेपाली सेनाले जिम्मा लिएर सम्पन्न गर्न सात वर्ष लगाएको थियो। सेनाले बजेट अभाव र कोभिडको कारण देखाउँदै म्याद थपेको थियो।
सेनाले चट्टानी भाग रहेको कालीकोटको घाटपारी चौरबाट भुक्काखोलासम्म ११ किमि सडकको विस्फोटनसहित निर्माण कार्य गरिरहेको छ। अघिल्लो आर्थिक वर्षको अन्तिमसम्म घाटपारी चौर भुकका खोला खण्डको ३.५ किमि ट्र्याक खोलेको छ भने यो आर्थिक वर्षमा सरकारले सेनालाई दिएको १० करोडबाट साढे दुई किमि सडकको ट्र्याक खोल्ने लक्ष्य छ।
कर्णालीको मुहार फेरिंदै
रोग भोक र गरिबीको उदाहरण बनेको कर्णालीले अब भने समृद्धिको परिचय दिने भएको छ। कर्णाली करिडोर निर्माण कार्य सम्पन्न भए देशकै नमुना प्रदेशका रूपमा मुहार फेरिने छ। कालीकोट देखिको दूरी हेर्दा पहिलाको तुलनामा निर्माणको गति निकै बढ्दो छ। कर्णाली करिडोर अन्तर्गतको हिल्सा–सिमकोट खण्ड छोटिँदै गएको छ । ९५ किलोमिटर लम्बाइ भएको यो खण्डमा हिल्सादेखि दक्षिण नाम्खा गाउँपालिकाको ओखरथलासम्म १५ किलोमिटर सडकमा ट्र्याक खुलेपछि गाडी आवतजावत गर्न थालेका छन्।
समृद्धिको प्रमुख आधार करिडोर
कर्णाली करिडोर निर्माण पूरा भए कर्णाली प्रदेशकै आर्थिक समृद्धिको प्रमुख आधार सडक हुने छ। भौगोलिक विकटताले पछि परेको कर्णालीका विकट जिल्लामा सडकको पहुँच पुगे पछि आर्थिक समृद्धिको प्रमुख आधारका रूपमा सडक रहेको छ। कर्णाली प्रदेशको विकासको मुख्य गेट कर्णाली करिडोर भएको यहाँका जानकारहरू बताउँछन्।
सात वटा प्रदेश मध्यकै छिमेकी देशसँग नाका नखुलेको प्रदेश कर्णाली हो तर कर्णाली करिडोर निर्माण कार्य पूरा भएमा चीनसँगको नाका नजिक पर्ने भएको छ। नेपाल सरकारले राष्ट्रिय गौरवको आयोजनाको रूपमा घोषित गरेको बहुचर्चित कर्णाली करिडोरमा गाडी गुड्दा अब कर्णाली समृद्धिको यात्रामा अघि बढेको यहाँका जानकारहरूको बुझाइ छ।
प्रकाशित: २९ फाल्गुन २०८१ १०:४० बिहीबार