नेकपा एकता महाअभियानका संयोजक वामदेव गौतमले पार्टीलाई कसरी अगाडि बढाउने भन्नेबारे कुनै योजना नरहेको बताएका छन्। 'पार्टीलाई कसरी अगाडि बढाउने भन्नेबारे अहिले कुनै योजना छैन,' गौतमले बिहीबार (आज) नागरिकसँग भने।
यसबीचमा आफ्नो पार्टीले कुनै गतिविधि नगरेको गौतमले बताएका छन्। तपाईंको पार्टी कसरी अगाडि बढ्दैछ, के छ योजना ? भन्ने नागरिकको जिज्ञासामा उनले भने, 'अहिले कुनै गतिविधि छैन, त्यसैले कुनै योजना पनि छैन।'
यद्यपि, यसअघि उनले नेकपा (एमाले) र नेकपा (एकीकृत समाजवादी) सँग पार्टी एकता गर्नेगरी तयारी गरेका थिए। एकीकृत समाजवादीसँग एकताका लागि तयार भइसकेका उनी पछि एमालेले आस देखाएपछि उक्त तयारी छाडेर एमालेतिरै मोडिए।
तर, पछि एमालेले 'भाउ' नदिएपछि उनी बिचल्लीमा परेका हुन्। आफूसँगको एकताको तयारी छाडेर हिँडेपछि एकीकृत समाजवादीले पनि कुनै सुनिश्चितताबिना गौतमसँग पार्टी एकता नगर्ने अडान लियो। यसपछि 'यता न उता' भएका वामदेव त्यसयता चुपचापप्राय: छन्।
त्यसपछि उनले पार्टीको नाम परिवर्तन गरेर आफैँले पार्टी सशक्त बनाएर अगाडि बढ्ने बताएका थिए। तर, अहिले आएर फेरि पार्टीलाई कसरी अगाडि बढाउने भन्नेबारे कुनै योजना नरहेको बताएका हुन्।
प्रकाशित: २९ फाल्गुन २०८१ १६:५५ बिहीबार