१६ चैत्र २०८१ शनिबार
image/svg+xml १५:८ अपराह्न
अर्थ

पोखरालाई ‘नाइस फर माईस’ ले निम्त्याएको अवसर

माइस पर्यटन पोखराका लागि उपयुक्तः व्यावसायी

पोखरामा चलिरहेको नाइस एक्स्पोका सहभागि स्वदेशी तथा विदेशी पाहुना। तस्बिरः नागरिक

पोखरामा अघिल्लो वर्ष भएको एसिया प्रशान्त क्षेत्रका ट्राभल संघ–संस्थाको छाता संंस्था ‘प्यासिफिक एसिया ट्राभल एसोसिएसन’ (पाटा) को वार्षिक शिखर सम्मेलन तथा एडभेन्चर मार्टको उद्देश्य थियो पोखरालाई ‘माइस टुरिजम’ (मिटिङ, इन्सेन्टीभ, कन्फेरेन्स र एक्जिविसन) को गन्तव्यको रुपमा पहिचान दिलाउनु।  

पोखरा क्षेत्रले साहसिक पर्यटकीय गन्तव्यको रुपमा लामो समयदेखि पहिचान बनाइसकेकोले भविश्यमा पोखरालाई ‘माइस टुरिजम’को गन्तव्यको रुपमा चिनाउन पाटाको उक्त सम्मेलनले सघाउने त्यो बेला विज्ञहरुले बताएका थिए। यतिबेला पोखरामा फेरि पाटा नेपाल च्याप्टर र पोखरा पर्यटन परिषद् (पिटिसी) लगायतका निकायको आयोजनामा नेपाल–इन्डिया–चाइना (नाइस) एक्स्पो चलिरहेको छ। नाइस एक्स्पोको नारा पनि उस्तै छ ‘नाईस फर माइस’ अर्थात पोखरालाई माइस टुरिजमको गन्तव्य बनाउनका लागि नाइस एक्स्पो।  

नेपाल–भारत र चीनका व्यवासायीको तीनदिने यो भेला र एक्स्पोले पोखरामा आगामि दिनमा माइस टुरिजम भित्र्याउनका लागि सघाउने व्यावसायीको विश्वास छ। एक्स्पो संयोजक सुनिल भट्टराई भन्छन, ‘केही समय अघिसम्म त माइस टुरिजमका लागि पोखरामा पर्याप्त पूर्वाधार थिएनन। अहिले भने केही ठुला संरचना बन्न थालेका छन्, केही व्यावसायीले ठूला पूर्वाधार बनाइरहेका पनि छन। त्यसैले अब भने पोखरा माइस टुरिजमको गन्तव्य बन्ने सम्भावना छ।’

भट्टराईका अनुसार पोखरालाई अहिलेसम्म विदेशी पर्यटकले एडभेन्चर हव र अन्नपूर्ण क्षेत्रको ट्रेकिङ ‘गेटवे’ को रुपमा मात्र बुझेका थिए। तर, पोखरामा भएको यो एक्स्पोले पोखरालाई माइस टुरिजमको गन्तव्यको रुपमा विकास गर्न पनि सघाउने उनले बताए। ‘माइस टुरिजम अपरेटर्स लाई नै हामीले पोखराको यो एक्स्पोमा लक्षित गरेका छौं,’ उनले भने, ‘भारतीय र चिनियाँ पाहुनालाई पोखरा भित्र्याउने माध्यम माइस टुरिजम बन्नेछ।’

उनका अनुसार माइस टुरिजम आयोजना गर्न सकियो भने एउटै इभेन्टका लागि सयौं कोठाको माग हुन्छ। ती पर्यटकले पर्याप्त खर्च पनि गर्छन। आउजाउ, खानपिन, घुमिफिर गर्दा पर्याप्त रकम खर्चन्छन। त्यसैले पनि माइस टुरिजम बढी लाभदायक हुने उनले बताए। 

‘एकै पटक होटलका सयौं कोठाको माग हुन्छ, त्यसो हुँदा खानपिन र बसोबासमा मात्र ठूलो रकम खर्च हुन्छ,’ उनले भने, ‘अहिलेसम्म माइस टुरिजमका लागि उत्तिसारो अभ्यास नभएको मात्र हो। अब भने यस्ता क्षेत्रमा लगानी बढेकाले पाहुना भित्रिने सम्भावना छ।’ उनका अनुसार अहिले पनि भारतबाट व्यावसायिक घरानाबाट पोखरामा छलफल, गोष्ठि गर्ने भनेर पाहुना आउने गरेका छन । ‘पोखरामा भएको यो एक्स्पोले थप समूहलाई पोखरा भित्र्याउने अपेक्षा गरेका छौं,’ उनले भने।  

नेपाल उद्योग तथा व्यावसायी महासंघ गण्डकी प्रदेशका अध्यक्ष बोबरजंग गुरुङ पोखराले माइस टुरिजमको अभ्यास थालनी गरिसकेको बताउँछन। ‘भारतीय पाहुनाको सम्भावना ज्यादै छ। चिनियाँको भने उत्तिसारो अभ्यास हुन सकेको छैन,’ गुरुङले भने, ‘भारतीयको समूह भने बेलाबेला आउँछन। अहिलेसम्म साना आकारका कम्पनिका समूह पोखरा आएका छन। ठूला आकारका समूह ल्याउन सकिने अवस्था अझै बनिसकेको छैन, तर, पूर्वाधार बनाउने हो भने अवसर छ।’

माइस टुरिजमबाट व्यावसायमा राम्रो लाभ मिल्ने उनले सुनाए । ‘माइस टुरिजमले राम्रो फाइदा दिलाउँछ। भारतीय कर्पोरेट हाउस अझै भित्र्याउन सकेका छैनौ। त्यो समूहलाई ल्याउन सक्ने हो भने यसले फाइदा हुन्छ,’ उनले भने, ‘अहिलेसम्म ठूलो समूह आउन सकेका छैनन। ठूला समूहका लागि अझै पनि पूर्वाधार अपुग छ। तर, पूर्वाधार उभ्याउने प्रयास भने जारी छ।’  

गुरुङका लागि अहिलेको अभ्यासमा भारतका साना कम्पनिका ८०/९० जनाको समूहमा आउँछन्। ठूला कम्पनिका सयौं कर्मचारी हुने भएकोले उनीहरुलाइ भित्र्याउन भने सकिएको छैन। ‘कुनै कुनै त १२–१५ सयसम्मा सहभागि सहितका भेला गोष्ठि हुन्छन। त्यो समूहलाई भित्र्याउन सकिएको छैन। ठूला कम्पनिको ठूलै समूहलाई ल्याउन सक्ने हो भने पर्यटन क्षेत्रलाई आर्थिक रुपमा लाभ मिल्छ। त्यसको प्रयास बल्ल थालनी भएको छ,’ पर्यटन व्यावसायी समेत रहेका उनले भने, ‘अहिलेको भेलाले केही न केही फाइदा दिनेछ। चिनियाँ भन्दा भारतीय पाहुना भित्र्याउन सकिने पर्याप्त सम्भावना छ।’

पर्यटन बोर्ड पोखराका प्रमुख मणिराज लामिछाने अहिले पोखरामा ठूला आकारका होटल बनिरहेकोले माइस पर्यटनका लागि गतिलो गन्तव्य भएको बताउँछन। ‘पोखरामा निरन्तर ठूला होटल बनिरहेका छन। पोखरामा केही न केही भईरहन्छ भन्ने माहोल अब बनाउनुपर्छ,’ लामिछाने भन्छन, ‘पोखरामा कुनै न कुनै कार्यक्रम भईरहने हो भने माइस पर्यटनको सम्भावना छ।’  

उनका अनुसार पोखरामा पछिल्लो समय विभिन्न इभेन्टहरु निरन्तर भईरहेका छन। ती इभेन्टले पाहुना तान्ने भएकोले पोखरामा केही न केही गतिविधि भईरहन्छन भन्ने सन्देश प्रवाह जरुरी रहेको छ। ‘ठुला इभेन्ट आयोजना गरेर राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरका गतिविधि, सभा सम्मेलन, गोष्ठि, बैठक, पोखरामा गर्ने हो भने त्यसको फाइदा पर्यटनले लिन्छ,’ लामिछानेले भने, ‘ठूला पूर्वाधार बन्ने क्रम रहेकोले आगामि दिनमा यस्ता सभा सम्मेलन अझ बढी पोखरामा आउनेछन।’  

लामिछानेका अनुसार अहिले भारत र चीनका विभिन्न समूह पोखरा आउँछन। भारतीयलाई आउजाउ सहज भएकोले भित्र्याउन सकिने उनले बताए। ‘चिनियाँले त झनै पोखरामा लगानी पनि गरेका छन। त्यसैले सभासम्मेलनका लागि पाहुना भित्र्याउन सहज छ,’ उनले भने, ‘चिनियाँको पनि सम्भावना उत्ति नै छ।’  

परिषद्का अध्यक्ष तारानाथ पहारी पनि पोखराका यो एक्स्पोले भविश्यमा समूहमा पाहुना भित्र्याउन सहज हुने बताउँछन। ‘पोखरा घुमघामका लागि मात्र नभई सभा सम्मेलन, गोष्ठि, छलफल, बैठक गर्नका लागि पनि उपयुक्त छ भन्ने सन्देश प्रवाह भएकोले भविश्यमा माइस टुरिजम अझ फस्टाउनेछ,’ उनले भने, ‘अहिलेसम्म सानातिना समूह आएपनि अब ठूला समूहका लागि पनि सम्भावना रहेको सन्देश फैलिएको छ। राजमार्गको सहजता थपिएको र पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आएकोले आगामि दिनमा पाहुना भित्र्याउन सहज बन्दै गएको छ।’  

इन्सेन्टिभ टुरिजम अन्तर्गत ठुला कम्पनिले आफ्‌ना कर्मचारीलाई वर्षमा एकपटक घुमाउन लैजाने गर्छन। त्यो बेला कर्मचारीका लागि कम्पनिले खर्च गर्छन। त्यस्तो बेला हजारौंको संख्यामा पनि कर्मचारीको मुभमेन्ट हुन्छ। त्यसबाहेक कर्मचारीको परिवारको खर्च पनि कतिपय कम्पनिले बेहोर्ने हुन्छन। त्यस्ता पाहुना तान्न सक्ने हो भने त्यसको लाभ पर्यटनले कमाउन सक्ने लामिछाने बताउँछन। माउन्टेनिरियङ, पदयात्रा जस्तै माइस टुरिजम पनि महंगो हुने उनले लामिछानेले बताए।

प्रकाशित: १३ फाल्गुन २०८१ १७:५४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App