प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ।
शनिबार भएको फाइनलमा त्रिभुवन आर्मी क्लबलाई छ विकेटले पराजित गर्दै पुलिसले उपाधि जितेको हो।
जितका लागि १५५ रनको लक्ष्य पछ्याएको पुलिसले २५.२ ओभरमा चार विकेटको क्षतिमा पूरा गर्यो। उसका लागि ओपनर कुशल भुर्तेलले ६१ रन बनाए। कूल ७० बलको सामाना गरेका उनले सात चौका र तीन छक्का प्रहार गरे। यस्तै, अमित श्रेष्ठले ३९ र दिलिपनाथले अविजित ३१ रन बनाए।
आर्मीका लागि साहब आलमले तीन र नरेन साउदले एक विकेट लिए। त्यसअघि भैरहवास्थित सिद्धार्थ क्रिकेट रङ्गशालामा टस हारेर ब्याटिङको निम्तो पाएको आर्मीले ४३ ओभरमा सबै विकेट गुमाउँदै १५४ रन बनाएको थियो।
२५ रनमै ५ विकेट गुमाएको आर्मीका लागि कप्तान विनोद भण्डारी र वसीर अहमदले ७५ रन बढीको साझेदारी गरेका थिए। उसका लागि बसीर अहमदले १०४ बलको सामना गर्दै नौ चौका र एक छक्काको सहयोगमा ८६ रन बनाए भने कप्तान विनोद भण्डारीले २९ रनको योगदान दिए।
त्यसबाहेक विवेक यादवले ११ रन बनाउँदा अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अङ्क समेत जोड्न सकेनन्।
आर्मीलाई सस्तोमै समेट्ने क्रममा बलिङतर्फ नेपाल पुलिसका करण केसीले ७ ओभरमा एक मेडेनसहित ३० रन खर्चेर तीन विकेट लिए। सागर ढकालले आठ ओभरमा २९ रन खर्चेर तीन विकेट लिँदा कप्तान दीपेन्द्र सिंह ऐरीले दुई र ललित राजवंशी र गुलशन झाले समान एक/एक विकेट लिए।
प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत यसपटक ४६ वटा खेलहरू खेलाइएको थियो। यी सबै खेल पहिलो पटक काठमाडौं बाहिर रुपन्देहीमा रहेको सिद्धार्थ क्रिकेट रङ्गशाला, तिलोत्तमामा रहेको एकस्ट्राटेक ओभल क्रिकेट रङ्गशाला र दाङ्गको लमहिमा रहेको देउखुरी अन्तर्राष्ट्रिय रङ्गशालामा आयोजना भएको हो।
प्रतियोगितामा ७ वटै प्रदेशका टोली र नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको विभागीय टोली सहित १० वटा टोलीहरूले सहभागिता जनाएका थिए।
प्रकाशित: १६ चैत्र २०८१ १४:५० शनिबार