२३ पुस २०८१ मंगलबार
image/svg+xml
अर्थ

नेपालमा पर्यटक आगमन: ५६ प्रतिशत हिस्सा एसियाको

नेपालमा सन् २०२४ मा सबैगरि ११ लाख ४७ हजार ५ सय ६७ जना विदेशी पाहुना भित्रिए। पर्यटन बोर्डले सन् २०२४ मा नेपालमा १३ लाख २० हजार हाराहारीमा विदेशी पाहुना आउने वर्षको सुरुवातमा अनुमान गरेको थियो। तर, प्राकृतिक प्रकोप, हवाई र सडक दुर्घटना, हिँडडुलमा असहजता, हवाईभाडा वृद्धिका बाबजुद पनि झन्डै साढे ११ लाख विदेशी पाहुना नेपाल भित्रिएका छन्।  

बोर्डको भनाइमा विदेशी पर्यटक आगमनको यो संख्या औपचारिक गणनामा आधारित छ। हवाई माध्यमबाट भित्रिएका पाहुनाको सङ्ख्यालाई बोर्डले औपचारिक रुपमा तथ्याङ्कमा समेट्दै आएको छ।

यसबाहेक गणनामा नसमेटिने गरि स्थलमार्गबाट पनि ठूलो संख्यामा पाहुना आउँछन्। भारतीय पाहुनाको ठूलो संख्या स्थलमार्गबाट नेपाल भित्रिन्छ। स्थलमार्गबाट भित्रिने भारतीय ती पाहुनाको तथ्याङ्क कतै राखिँदैन। तर वर्षमा कम्तीमा १५ लाख भारतीय पाहुना स्थलमार्गबाट नेपाल भित्रिने अनुमान छ।

सन् २०२४ मा नेपाल भित्रिएका विदेशी पाहुनामध्ये सबैभन्दा बढी एसियाली मुलुकबाट भित्रिएको बोर्डको भनाई छ। बोर्डका निर्देशक मणिराज लामिछानेका अनुसार नेपाल भित्रिएका पर्यटकमध्ये सार्क मुलुकका सदस्य राष्ट्रबाट भित्रिएका पर्यटकको मात्र हिस्सा ३६ प्रतिशत रहेको छ।

त्यसबाहेक एसियाका अरु मुलुकका पाहुनाको आगमनको हिस्सा पनि झन्डै २० प्रतिशत रहेको छ। समग्रमा एसियाली मुलुकका पर्यटकको आगमनको हिस्सा ५६ प्रतिशत रहेको उनले बताए।  

‘वर्षभरि भित्रिएका विदेशी पाहुनामध्ये झन्डै ५६ प्रतिशत पाहुना त एसियाली मुलुकका मात्र छन्। त्यस अर्थमा एसियाली मुलुकका पाहुनाको योगदान नेपालमा बढी रहेको छ,’ उनले भने। 

लामिछानेका अनुसार सार्कका सदस्य राष्ट्रमध्ये पनि पाँचवटा मुलुकको आगमनको मात्र तथ्याङ्क राख्ने गरिएको छ। सार्कका सदस्य मुलुकहरू भारत, बङ्गलादेश, पाकिस्तान, भुटान र श्रीलङ्काका पर्यटकको मात्र बोर्डले तथ्याङ्क समेट्दै आएको छ।

अरु मुलुकको आगमन नगन्य हुने भएकोले तथयांकमा समेटिएको छैन। भारत, बङ्गलादेश र श्रीलंका त वर्षभरिमा नेपालमा सबैभन्दा बढी विदेशी पाहुनो भित्रिने १० उत्कृष्ट मुलुकभित्रै समेटिएका छन्।  

लामिछानेका अनुसार एसियाली मुलुकमा पनि चीन, जापान, मलेसिया, सिंगापुर, दक्षिण कोरिया, म्यानमार र थाइल्याण्डको आगमनलाई मात्र गणनामा समेट्ने गरिएको छ। ‘नेपालको पर्यटनमा एसियाली मुलुकको ठूलो हिस्सा रहेको छ।

एसियाली पाहुनाको संख्या पर्याप्त मात्रामा भित्र्याउन सक्ने हो भने पर्यटनलाई राहत मिल्छ,’ उनले भने, ‘पहुँचका हिसाबले एसियाली मुलुकमा बजारीकरण गर्न सहज पनि छ। औषत रकम खर्चने पाहुना एसियाली मुलुकका हुन्छन्,’ लामिछानेले भने, ‘तर महँगो रकम खर्चने पाहुना भित्र्याउनका लागि त अमेरिकी र युरोपियन मुलका पाहुनाको खाँचो पर्छ।’

नेपालमा २०२४ मा भित्रिएका पर्यटकमध्ये १८ प्रतिशत युरोपियन मुलुका छन्। बेलायत, जर्मनी, फ्रान्स, रसिया, युक्रेन लगायतका मुलुका पर्यटकको आगमनले पर्यटनलाई आर्थिक रुपमा अब्बल बनाउन सघाउने पनि उनले बताए।

उनका अनुसार अमेरिकी पासपोर्टबाहक पर्यटकको संख्या ११ प्रतिशत रहेको छ। सन् २०२४ मा नेपाल भित्रिने विदेशी पर्यटकमध्ये भारतपछिको संख्यात्मक आकार अमेरिकाको बढी छ। यो वर्ष १ लाख ११ हजार २ सय १६ जना अमेरिकी पाहुना नेपाल भित्रिएका थिए।

सबैभन्दा कम ओशिनिया (अस्ट्रेलिया र न्यूजिल्याण्ड) का पर्यटकको संख्या पनि झन्डै ५ प्रतिशत रहेको छ। वर्षभरिमा ३० हजार बढी पाहुना अस्ट्रेलियाबाट मात्र नेपाल भित्रिएको तथ्याङ्क रहेको उनले बताए। नेपाल भित्रिएका मध्ये झन्डै साढे ११ प्रतिशत पाहुना त अन्य विभिन्न मुलुकबाट भित्रिएका छन्।

‘एशियालीमुलका पर्यटकको आगमन बढी छ। आउजाउको हिसाब र खर्चको आधारमा त्यो संख्या स्वाभाविक पनि हो। आक्रामक बजारीकरण गर्ने हो भने थप एसियाली पाहुना भित्र्याउन सकिन्छ। बजारीकरणका लागि एसियाली बजारलाई लक्षित गर्नुपर्छ,’ लामिछानेले भने, ‘तर, युरोपियन र अमेरिकी पाहुनाको महत्त्व भने आर्थिक दृष्टिले रहेको छ। अमेरिकी र युरोपियन मुलका पर्यटकले धेरै रकम खर्चने भएकोले पनि ती पाहुना आवश्यक पर्छ। खर्च गर्ने हैसियत भने अमेरिकी र युरोपियन मुलका पर्यटकसँग रहन्छ।’

उत्कृष्ट दश मुलुक

नेपालमा सन् २०२४ मा भित्रिने विदेशी पर्यटकमध्ये सबैभन्दा बढी भारतीय रहेका छन्। एक वर्ष अवधिमा नेपालमा ३ लाख १७ हजार ७ सय ७२ जना भारतीय पाहुना भित्रिएका छन्।

यो संख्या सबैभन्दा बढी हो। दोस्रो नम्बरमा अमेरिकी पाहुनाको संख्या १ लाख ११ हजार २ सय १६ जना अमेरिकी पाहुना नेपाल भित्रिएका छन्। वर्षभरिमा नेपाल भित्रिने चिनियाँ पर्यटकको संख्या १ लाख १ हजार ८ सय ७९ रहेको छ। चीनका पाहुनाको आगमनको आकारले तेस्रो नम्बर लिएको छ।  

चौथो नम्बरमा रहेको बेलायती पर्यटकको संख्या ५७ हजार ५ सय ५४ रहेको छ। पाँचौ नम्बरमा रहेको बंगलादेशका पाहुनाको संख्या ४८ हजार ८ सय ४८ रहेको छ। छैठौं नम्बरमा रहेको अस्ट्रेलियाका पर्यटकको संख्या ४३ हजार ९ सय ८० रहेको छ।

सातौँ नम्बरमा रहेको थाइल्यान्डबाट २०२४ मा ३० हजार ७ सय ४५ जना पाहुना भित्रिएका छन्। आठौं नम्बरको श्रीलङ्काबाट वर्षभरिमा ३० हजार २ सय २६ जना पाहुना भित्रिएका छन्।

नवौं नम्बरमा रहेका जर्मनीका पाहुँनाको संख्या २९ हजार ८ सय १ रहेको छ। दसौँ नम्बरको दक्षिण कोरियाका २७ हजार ७१ जना पाहुना नेपाल भित्रिएको बोर्डको भनाई छ।

प्रकाशित: २१ पुस २०८१ १६:४९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App