आज (मंगलबार) बिहान ६.५० बजे गएको शक्तिशाली भूकम्पको परकम्प आउने क्रम जारी छ।
चीनको तिब्बत प्रान्तको दिङ्गे काउन्टीमा केन्द्रबिन्दु भएर सात रेक्टर स्केलको भूकम्प गएको थियो। सो पश्चात् अहिलेसम्म १० वटा परकम्प भइसकेको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका भूकम्पविद् लोकविजय अधिकारीले नागरिकन्युजलाई जानकारी दिए ।
उनका अनुसार उक्त भूकम्पको धक्का नेपाल–चीन सीमामा पर्ने उक्त स्थानमा भूकम्प गएको हो। 'आजको ठूलो भूकम्पपछि अहिलेसम्म १० वटा पराकम्प गइसकेको छ। ४ म्याग्निच्युडभन्दा माथिका १० वटा परकम्प गएको हो,' उनले भने । यीभन्दा ठूलो परकम्प जाने सम्भावना रहेको उनले जानकारी दिए।
दिङ्गे काउन्टी दक्षिण नेपालको सङ्खुवासभा र ताप्लेजुङ तथा दक्षिणपूर्वमा भारतको सिक्किम राज्यसँग सीमा जोडिएको छ। भूकम्पको धक्का काठमाडौँ उपत्यकासहित आसपास, तराई एवं पूर्वी नेपालका झापा, मोरङ, सुनसरी, उदयपुर, खोटाङ, ओखलढुङ्गा, भोजपुर, धनकुटा, तेह्रथुम, पाँचथर, इलाम, सोलुखुम्बु, सङ्खुवासभा, ताप्लेजुङ लगायत जिल्लामा महसुस गरिएको थियो।
यस भूकम्पको प्रभाव नेपाल, भुटान, सिक्किम र भारतको उत्तराखण्डमा पनि देखिएको छ।
प्रकाशित: २३ पुस २०८१ १०:१८ मंगलबार