नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब बुटवलमा जारी मदन भण्डारी गोल्डकप इन्डो नेपाल रनिङ सिल्ड पुरुष भलिबलको सेमिफाइनलमा प्रवेश गरेका छन्।
सोमबार भएको खेलमा पुलिसले रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रलाई ३–० को सोझो सेटमा पराजित गर्दै सेमिफाइनमा प्रवेश गरेको हो। पुलिसले रुकुमलाई २५–१८, २५–१९ र २८–२६ ले पराजित गरेको थियो।
दोस्रो खेलमा त्रिभुवन आर्मीले सशस्त्रको एपिएफ क्लबलाई ३–१ सेटमा पराजित गर्दै सेमिफाइनल पुग्यो। पहिलो सेट २५–१७ ले आफ्नो बनाएको आर्मीले दोस्रो सेट पनि २५–२१ ले आफ्नो पक्षमा पार्यो। तेस्रो सेट भने १९–२५ एपिएफको पक्षमा गयो। चौथो सेट २५–१५ ले आफ्नो बनाउँदै आर्मी सेमिफाइनलमा पुगेको हो। समूहचरणमा उपविजेता बनेका गुजरात स्टेट भलिबल क्लब र मणिमुकुन्द भलिबल क्लब यसअघि नै सेमिफाइनलमा पुगेका छन्।
मंगलबारको पहिलो सेमिफाइनलमा नेपाल पुलिस क्लब र गुजरात स्टेट भलिबल क्लबबीच भिडन्त हुँदा दोस्रो सेमिफाइनलमा त्रिभुवन आर्मी क्लब र मणिमुकुन्द भलिबल क्लबबीच भिडन्त हुनेछ।
मदन भण्डारी स्पोर्ट्स एकेडेमीको आयोजनामा बुटवलको रामनगर खेलमैदानमा भइरहेको प्रतियोगिताका विजेताले ७ लाख ५० हजार, दोस्रोले ३ लाख ५० हजार, तेस्रोले १ लाख ७५ हजार र सात्वनाले १ लाख नगद पुरस्कार प्राप्त गर्नेछन्।
प्रकाशित: २३ पुस २०८१ १०:०२ मंगलबार