कर्णाली राजमार्गको जुम्ला–नाग्म ३२ किलोमिटर खण्डमा सडक मिचेर बनाइएका घरटहराका कारण दुर्घटनाको जोखिम बढेको छ। जुम्ला खण्डमा पर्ने उमगाड, तातोपानी, ऐरेनी, कुडारी, त्रिवेणी र रारालिहीमा संरचना बनेका र निर्माण सामग्रीसमेत राख्ने गरिँदा दुर्घटनाको जोखिम बढेको हो।
सडक आसपासमा मनपरी रूपमा बनाइएका घरटहरा तत्काल हटाउनुपर्ने स्थानीयले माग गर्दै आएका छन्। तिला गाउँपालिकाका नीराजन गौतमले साँघुरो सडकले जोखिम बढाएको बताए। उनका अनुसार त्रिवेणी र रारालिहीका ३३ जनाले सडक अतिक्रमण हटाउनुपर्ने भन्दै तिला गाउँपालिकामा निवेदन दिएका छन्। सडकमा बनेका संरचना नहटाउने हो भने जुनसुकै बेला दुर्घटना खेप्नुपर्ने उनीहरूको तर्क छ।
सडक डिभिजन कार्यालय जुम्लालाई पटक–पटक सडकमा बनेका संरचना हटाउन माग गरिएको उनले बताए। नापी कार्यालय जुम्लाले रेखाकंन गरेअनुसार सडक बन्नुपर्ने स्थानीयले बताएका छन्। तर न सडक डिभिजनले संरचना हटाउन सकेको छ न अतिक्रमण गर्नेलाई कुनै कारबाही नै। स्थानीयको दबाबमा तिला गाउँपालिका र सडकसँग जोडिएका वडा कार्यालयहरूले अतिक्रमण गरेर बनेका संरचना हटाउन पटक–पटक सूचित गरिसकेका छन्। ‘पटकपटक सूचना जारी हुन्छ, तर घरटहरा जस्ताको त्यस्तै देखिरहेको अवस्था छ’, अर्का कुडारीका स्थानीय ज्वारीलाल भट्टराईले भने, ‘सडक फराकिलो बनाउन तत्काल संरचना हटाइनुपर्छ।’
तिला गाउँपालिका– ३ का वडाध्यक्ष धनबहादुर शाहीले अतिक्रमित घरटहरा हटाउन डिभिजन कार्यालयलाई सहयोग गर्ने बताए। उनले भने, ‘सडकमा संरचना त बनिरहेका छन्। तर त्योभन्दा बढी निर्माण सामग्री राखिएकोले समस्या छ।’ सडक अतिक्रमण हटाउने विषय गाउँपालिकाको प्राथमिकतामा रहेको अध्यक्ष मोतीलाल रोकायाले बताए। ‘लामो दबाब र ताकेताले केहीले घरटहरा हटाइसकेका छन्। बाँकी रहेका घरटहरा पनि छिटै हट्नेछन्’, उनले भने।
सडक डिभिजन कार्यालय प्रमुख दीपेन्द्रकुमार चौधरी घरटहरा हटाउन स्थानीयले असहयोग गरेको बताउँछन्। ‘पटक–पटक सूचना जारी गर्यौं, तर घरटहरा हटेनन्। उल्टै सडक डिभिजन कार्यालयविरुद्ध होमिए’, प्रमुख चौधरीले भने, ‘सातदिने सूचना धेरै निस्किए, तर केही लागेन।’ सार्वजानिक सडक ऐन २०३१ को दफा १९(३) बमोजिम सडकमा बनाएका घरटहरा हटाउनुपरेको खण्डमा लाग्ने खर्च सम्बन्धित व्यक्तिबाटै असुलउपर गरिने उल्लेख छ।
डिभिजन प्रमुख चौधरीले अतिक्रमण गरी सडकभित्र बनाइएका घरटहराको तथ्यांकसमेत पालिकामा नभेटिने गरेको बताए। ‘यसका लागि सडकसँग जोडिएका पालिकासँग समन्वय भइरहेको छ, तर कुनै तथ्यांक छैन’, उनले भने। नाग्मदेखि जुम्ला खलंगासम्मको ३२ किलोमिटर सडक फराकिलो हुनुपर्नेमा जुम्लाबासीको जोड छ।
प्रकाशित: २३ पुस २०८१ १०:२३ मंगलबार