हामीले घरमा डिब्बाबन्द धेरै किसिमका फलफूलका पेयहरू ल्याउने गर्छौं। यस्ता डिब्बाबन्द फलफूलका पेयलाई स्वस्थकर भनी लेखिएको पनि हुन्छ। तर सबै पेय स्वस्थकर हुन्छन् भन्ने छैन। कतिपय अवस्थामा त ती पेय मस्तिष्कका लागि खतरनाकसमेत हुन सक्छन्।
जुन पेयमा अतिरिक्त रूपमा चिनी र अन्य एडिटिभहरू थपिएका हुन्छन्, त्यस्ता जुसले ३७ प्रतिशतले मस्तिष्कघात बढाउने सम्भावना रहेको एक अध्ययनले देखाएको छ। मानौं तपाईंले फ्रुटी वा रियलजस्ता जुसहरू दिनमा एक पटक पिउनु हुन्छ भने त्यसले तपाईंको मस्तिष्कघात ३७ प्रतिशतले बढाउँछ तर दिनमै दुई वा तीन पटक पिउनु भयो भने यस्तो घातको प्रतिशत तेब्बरले बढ्ने गालवे युनिभर्सिटीका अध्येताहरूले पत्ता लगाएका छन्।
धेरैले फ्रुटी तथा रियल जुस पिउनुलाई अन्य पेयको तुलनामा राम्रो ठान्छन् तर यो आफ्नो स्वास्थ्यका लागि घात भएको अध्येताहरूको दाबी छ। उनीहरूले डिब्बाबन्द त्यस्ता पेयको साटो ताजा फलफूलका जुसहरू पिउने सल्लाह दिएका छन्।
‘सबै जुसहरू उत्तिकै र बराबर ताजा हुँदैनन्,’ अनुसन्धातामध्ये एक एन्ड्रयु स्मिथ भन्छन्, ‘तर तपाईंले बजारबाट सुन्तला किन्नु भयो, त्यसको रस पेलेर निकाल्नु भयो भने त्यो जत्तिको फाइदाकारी जुस अरू हुँदैन। त्यसैले डिब्बाबन्द जुसभन्दा पेलेर तत्काल निकालिएको जुस पिउनु स्वास्थ्यका लागि धेरै फाइदाकारी हुन्छ।’
त्यसो त बजारमा सुन्तला, स्याउ या अम्बाको जुस भनेर डिब्बाबन्द पेय बेचिन्छन्। स्मिथका अनुसार, त्यस्ता जुसमा अनावश्यक रूपमा चिनीको मात्रा हालिएको हुन्छ। त्यति मात्र नभई, त्यसमा अन्य किसिमका हानिकारक तत्वहरू पनि हुन्छन्। ती तत्वले पेयलाई लामो समयसम्म कुहिनबाट जोगाउँछ। त्यसले पेयलाई त जोगाउँछ तर हाम्रो स्वास्थ्यलाई भने हानि गर्छ।
कोकाकोलाजस्ता कोला र सोडाजन्य पेय पदार्थ हरेक दिन खाने व्यक्तिको स्वास्थ्य २२ प्रतिशतले खतरामा पारिरहेका हुन्छन्। तर तिनै पेय दिनमा कम्तीमा तीन पटक खानेहरूको स्वास्थ्य अझ बढी खतरामा पर्ने गर्छ। त्यसपछि पछिल्लो समय कम उमेरमै मस्तिष्कघात हुनुमा यस्ता पेयको हात बढी रहेको अध्ययनको निष्कर्ष छ।
त्यसो त जो व्यक्तिले यस्ता हानिकारक पेय पिउँछ, तिनले बढीभन्दा बढी पानी खाएको खण्डमा मस्तिष्कघातको खतरा घटाउन सक्ने पनि अध्ययन निष्कर्षमा बताइएको छ। ह्वाट डक्टर्स डोन्ट टेल यु म्यागेजिनका अनुसार, २७ देशका २७ हजार व्यक्तिहरूमाझ इन्टरस्ट्रोक रिसर्च प्रोजेक्टअन्तर्गत गरिएको यो शोधमा भनिएको छ, ‘तपाईंलाई डिब्बाबन्द पेय र खासगरी फ्रुटी र कोकाकोलाजस्ता पेय खाने बानी छ भने आफ्नो स्वास्थ्य तत्काल जोगाउन त्यो पिउन छाडिदिनुस्। छाड्न नसक्ने अवस्था छ भने कम्तीमा ती पेय पिएपछि बढीभन्दा बढी पानी पिउनुस्। यसले स्ट्रोकको खतरा कम गर्छ।’
प्रस्तुतिः अच्युत कोइराला
प्रकाशित: २३ पुस २०८१ १०:१२ मंगलबार