१६ माघ २०८१ बुधबार
image/svg+xml
अर्थ

नेपालबाट बंगलादेश विद्युत् निर्यातको ढोका खुल्यो

भारत विद्युत् निर्यात गर्दै आएको नेपालले अब तेस्रो मुलुक बंगलादेशमा पनि विद्युत् निर्यात गर्ने भएको छ। बंगलादेशमा विद्युत् निर्यात गर्नका लागि औपचारिक रुपमा ढोका खुलेको छ।

नेपालबाट भारत हुँदै बंगलादेश विद्युत् निर्यात गर्नका लागि बिहीबार नेपाल, भारत र बंगलादेशका तीन कम्पनीबिच विद्युत् बिक्री सम्झौता (पीएसए) भएको छ।

ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री दिपक खड्का र बंगलादेशकी वन, वातावरण, जलवायु परिवर्तन तथा जलस्रोत मन्त्री सैयदा रिजवाना हसनको उपस्थितिमा नेपाल विद्युत् प्राधिकरण, बंगलादेश पावर डेभपलमेन्ट बोर्ड (बीपीडीबी) र भारतको एनटीपीसी विद्युत् व्यापार निगम (एनभीभीएन) बीच त्रिपक्षीय ऊर्जा बिक्री सम्झौता भएको छ।

सम्झौता पत्रमा नेपाल विद्युत् प्राधिकरणमा कार्यकारी निर्देशक कुलमान घिसिङ, बीपीडीबीका अध्यक्ष मो। रेजुल करिम र एनभीभएनकी प्रमुख कार्यकारी अधिकृत रेनु नारंगले हस्ताक्षर गरेका छन्। सम्झौता पछि नेपालले पहिलो चरणमा ४० मेगावाट विद्युत् बंगलादेश निर्यात गर्ने छ। 

विद्युत् प्राधिकरणले प्रतियुनिट करिब ८ रुपैयाँ ६४ पसैका दरले बंगलादेशलाई विद्युत् उपलब्ध गराउने छ। बंगलादेश विद्युत् लैजाँदा भारतको प्रसारण लाइन प्रयोग गरेबापतको शुल्क भने बंगलादेशी कम्पनीले तिनुपर्नेछ।

नेपालबाट भारतको मुजफ्फरपुर हुँदै बंगलादेश विद्युत् निर्यात हुनेछ। भारतको बेहरमपुर –बंगलादेशको भेडामारा प्रसारण लाइनबाट विद्युत् आपूर्ति हुनेछ। यो ४ सय केभीको प्रसारण लाइन हो। वार्षिक १४ करोड ४० लाख युनिट विद्युत् बंगलादेश निर्यात हुने प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले बताए। पहिलो चरणमा २५ मेगावाटको त्रिशूली र २२ मेगावाटको चिलिमे जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् निर्यात हुने प्राधिकरणले जनाएको छ।

प्रकाशित: १७ आश्विन २०८१ १८:०५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App