१ आश्विन २०८१ मंगलबार
image/svg+xml
अर्थ

विदेशी पर्यटकः जुलाईको आगमन सात महिनाकै कम

सात महिनामा झन्डै साढे ६ लाख विदेशी भित्रिए

सातमहिना अवधिमा नेपालमा झन्डै साढे ६ लाख विदेशी पर्यटक भित्रिएका छन्। जनवरी देखि जुलाईसम्मको अवधिमा नेपाल भित्रिने विदेशी पर्यटकको संख्या ६ लाख ४७ हजार ६ सय १५ पुगेको पर्यटन बोर्डको तथ्यांक रहेको छ। सन् २०२४ को सातमहिना मध्ये सबैभन्दा कम पाहुना यो जुलाईमा आएका छन्।

पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेका अनुसार यो जुलाईमा नेपालमा ६४ हजार ५ सय ९९ जना विदेशी पाहुना भित्रिएका छन। त्यो संख्या २०२३ को जुलाईको तुलनामा झन्डै १२ प्रतिशत बढी हो। अघिल्लो जुलाईमा नेपालमा ५७ हजार ७ सय २६ जना विदेशी पाहुना आएका थिए।  

त्यस्तै नेपालमा सन् २०१९ मा सबैभन्दा बढी विदेशी पर्यटक भित्रिएका थिए। सन् २०१९ को जुलाईको तुलनामा भने यो जुलाईमा केही कम पाहुना आएका छन। सन् २०१९ को जुलाईमा नेपालमा ७० हजार ९ सय १६ जना विदेशी पाहुना भित्रिएका थिए। २०१९ को जुलाईको तुलनामा यो जुलाईको आगमन करिब ९ प्रतिशत कम छ।

‘अघिल्ला महिनासम्मको आमगमान हरेक महिना सुधार देखिएको थियो। तर, योपटक कमजोर रह्यो,’ बोर्डका निर्देशक मणिराज लामिछानेले भने, ‘पाहुना आगमन बढाउन धेरै नै मेहनत गर्नुपर्ने देखिन्छ।’

बोर्डको तथ्यांक अनुसार सन् २०२२ को जुलाईमा नेपालमा ४४ हजार ४ सय ६२ जना विदेशी पर्यटक भित्रिएका थिए। त्यो संख्या २०२१ को जुलाईमा जम्मा ३ हजार ६३ थियो। कोरोना भाइरस संक्रमणले अति नै प्रभावित भएको वर्ष २०२० को जुलाईमा भने नेपालमा जम्मा १ सय ९६ जना विदेशी पाहुना भित्रिएका थिए।

पर्यटन बोर्डका निर्देशक लामिछानेले चिनियाँ बजार अझै सहज नभएको बताए। चिनियाँ पाहुनाको आगमनमा अपेक्षकृत सुधार हुन नसकेको उनले बताए। ‘चिनियाँ बजार खुल्नै सकेन। चिनियाँ पाहुनाको आगमन हुने निकै नै विश्वास हो। तर आउन सकेको देखिएन। चिनियाँ अर्थतन्त्र कमजोर भएको देखिन्छ,’ उनले भने, ‘चिनियाँको आगमन बलियो भएको भए पर्यटन क्षेत्र उकासिन्थ्यो। तर अपेक्षाकृत हुन सकेन।’  

चीनमा पर्यटन प्रवद्र्धनका गतिविधि पनि सोचे अनुसार हुन नसक्दा त्यसको मार आगमनमा परेको उनको भनाई छ। ‘चिनियाँ बजारमा आक्रामक बजारीकरणको अभाव भएको देखियो। त्यसको प्रभावले पाहुना आगमन बढ्न सकेन,’लामिछानेले भने, ‘अपेक्षा गरे अनुसार चिनियाँ भित्र्याउन सकेको भए यो महिना पनि आगमन उकालो लाग्थ्यो।’

सरकारले आगामि आर्थिक वर्षमा १६ लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य राखेको छ। २०१९ पछि कोरोना भाइरस संक्रमणले गर्दा नेपालमा विदेशी पाहुना आगमन ह्वात्तै घटेको थियो। सरकारले पर्यटक आगमन बढ्दै जान थालेपछि आगामि आर्थिक वर्ष २०८१÷८२ को बजेटमा १६ लाख विदेशी पर्यटक भित्र्याउने गरि पर्यटन प्रर्वद्धन कार्यक्रम संचालन गर्ने लक्ष्य समेत सार्वजनिक गरेको छ। त्यसका लागि नयाँ गन्तव्यको पहिचान गर्ने बजेटमा उल्लेख छ। पर्यटक भित्र्याउनका लागि छिमेकी मुलुक भारत र चीन तथा अन्य मुलुकका प्रमुख सहरमा पर्यटक लक्षित रोड–सो, मेला, महोत्सव जस्ता पर्यटन प्रर्वद्धन कार्यक्रम संचालन गर्ने पनि बजेटमा छ।  

‘सरकारले १६ लाख विदेशी पाहुना भित्रयाउने लक्ष्य त राखेको छ। तर, त्यसका लागि पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान संचालन हुन जरुरी छ,’ उनले भने, ‘सरकारी लक्ष्य पुरा गर्नका लागि भएका पूर्वाधारलाई पनि उपयोग गर्नुपर्छ।’ लामिछानेका अनुसार बंगलादेशी पाहुनाको आगमनमा भने सकारात्मक सुधार रहिआएको छ।  

‘सामग्रमा सार्क मुलुकका पाहुनाको आगमन कमजोर होईन। कोरोना संक्रमणपछि सार्क मुलुकको पर्यटक आगमनमा पूर्ण रिभाई भयो। तर, बढी अपेक्षा गरेका बजारबाट अझै पाहुना आउन सकेका छैनन,’ उनले भने, ‘नेपालमा पछिल्ला समय भएका प्राकृतिक विपद्का घटना र त्यसपछिका दुर्घटनाका कारण पनि पर्यटक आगमनमा प्रभाव परेको छ।’

मनसुनको प्रभावका बाबजुत पनि जुलाईमा नेपालमा २१ हजार ४ सय ९१ जना भारतीय पाहुना भित्रिएका छन। यो महिना भित्रिने अमेरिकी पाहुनाको संख्या ७ हजार ८ सय ६४ रहेको छ। त्यस्तै चिनियाँको आगमन संख्या ६ हजार ८ सय १९ जना रहेको छ। चिनियाँको आगमन नेपाल भित्रिने विदेशी पर्यटकको तेश्रो नम्बरमा परेको छ।  

त्यस्तै बेलायती पाहुनाको संख्या ३ हजार ८ सय ६ रहेको छ । बंगलादेशका पर्यटकको आगमनमा भने सुधार रहिरहेको तथ्यांकले देखाएको छ। जुलाईमा नेपालमा सबैगरि ३४ सय ७० जना बंगलादेशी पाहुना भित्रिएका छन। त्यस्तै अस्टे«लियन पर्यटकको संख्या १९ सय १, दक्षिण कोरियाका पाहुनाको संख्या १५ सय ३७, भुटानका पाहुनाको संख्या १२ सय ७, मलेसियनको संख्या ११ सय २५ र जापानी पाहुनाको संख्या ११ सय १४ रहेको छ।  

नेपालमा सन् २०२४ को जनवरीमा ७९ हजार १ सय विदेशी पाहुना भित्रिएका थिए। त्यो संख्या फेब्रुअरीमा ९७ हजार ४ सय २६ थियो। मार्चको आगमन संख्या १ लाख २८ हजार १ सय ६७ थियो। अप्रिलको आगमन भने १ लाख ११ हजार ३ सय ७६ रहेकोमा मे महिनामा ९० हजार २ सय ११ जना विदेशी पाहुना नेपाल भित्रिएका थिए। जुन महिनामा नेपाल भित्रिने विदेशी पाहुनाको संख्या ७६ हजार ७ सय ३६ थियो।  

प्रकाशित: १७ श्रावण २०८१ १३:३७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App