२३ भाद्र २०८१ आइतबार
image/svg+xml
अर्थ

कर्मचारी कै मिलेमतोमा बिना क्वारेनटाइन कृष्ण नगर भन्सारमा फलफूल भित्राइँदै

भन्सार कर्मचारी कै मिलेमतोमा कृष्ण नगर भन्सारमा बिना क्वारेनटाइन फलफूल भित्राइने गरिएको छ । बिना क्वारेनटाइन फलफूल तरकारी, खाद्यान्न जस्ता कृषि उपज भित्राउन नपाइने प्रावधान छ । तर कृष्ण नगर भन्सारमा भने बिचौलिया र कर्मचारी कै सेटिङ  भारतबाट फलफूल आयात गर्ने गरिएको खुलेको छ ।

क्वारेनटाइन कार्यालय कृष्ण नगरले गत साउन ९ गते बिना क्वारेनटाइन नेपाल भित्राइएका ३ ट्रक आँप नियन्त्रणमा लिएको थियो । युपी ३२ एस एन ८६२४, युपी २२ ए १३४७१ र युपी १५ एच टी ११८२ नम्बरको भारतीय  गाडीबाट आँप ढुवानी गरिएको थियो । क्वारेनटाइन कार्यालयका प्रमुख बुद्धिराम भट्टराईले बिना क्वारेनटाइन भारतीय नम्बर प्लेटका ३ ट्रक आँप नियन्त्रणमा लिएको बताए । कृष्ण नगर भन्सारले क्वारेनटाइन रिपोर्ट बिनै तीन वटा आँप बोकेका ट्रकलाई नेपाल प्रवेश गराएको सूचना पाए पछि चेकजाँच गर्दा त्यस्तो भेटिएको उनले बताए ।

‘ एक महिना अघि देखि नै त्यस बारे सूचना पाएको थिए, साउन ९ गते नेपाल भित्राइएका ३ ट्रक आँप पनि बिना क्वारेनटाइन भित्राइएको भेटियो ’ उनले भने । सूचना पाए पछि निगरानी बढाइएको र अनलाइन ट्रक गर्दा यस्तो तथ्य फेला परेको उनले बताए । नियन्त्रणमा लिइएका ३ ट्रक फलफूललाई कारबाही गरिएको उनले बताए । उनीहरूलाई प्रत्येक ट्रक ५० हजारका दरले  डेढ लाख जरिवाना गरिएको उनले बताए ।

भन्सार हुँदै नेपाल भित्रने सबै सवारीसाधनमा चेकजाँचलाई कडाई गरिएको भट्टराईको भनाई छ । कृष्ण नगर भन्सारमा फलफूल मात्र नभै अन्य सरसामान पनि बिचौलियाहरूसँग मिलेर भित्राइने गरिएको श्रोतले जनाएको छ । गत आर्थिक वर्ष २०८०/०८१ मा पनि भन्सारले लक्ष्य अनुसार राजस्व समेत संकलन गर्न असमर्थ बनेको छ ।

चुहावट बढेकाले भन्सारले लक्ष्य भेटाउन नसकेको व्यापारीहरू नै बताउँछन् ।  कृष्ण नगर भन्सार कार्यालयका प्रमुख मान बहादुर पौडेलले सबै गाडीहरू जाँच पास गरेर मात्र भित्राइने गरिएको दाबी गरे । विषादी चेक बिनै ३ वटा आँपको ट्रक नेपाल भित्रिएको बिषयमा भने केही मिस्टेक हुन सक्ने बताए । एउटै प्रज्ञापनबाट ८–१० गाडी आउने हुँदा यसरी छुटेको हुनसक्ने  उनले बताए । ‘कुनै एजेन्टले तलमाथि गरेकोले फरक हुनसक्छ ’ उनले भने ।

प्रकाशित: ११ श्रावण २०८१ २१:१२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App