२३ भाद्र २०८१ आइतबार
image/svg+xml
अर्थ

चितवन र मकवानपुरमा सात करोड बढीका कृषि अनुदानका कार्यक्रम प्रस्ताव

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई चितवनले ठूलो संख्यामा कृषिका कार्यक्रमका लागि प्रस्ताव आह्वान गरेको छ।

आज (बुधबार) एक सूचना जारी गर्दै कार्यालयले सात करोड आठ लाख ५३ हजार रुपैयाँ बराबरका ३० वटा कृषि कार्यक्रमका लागि प्रस्ताव आह्वान गरेको हो।

कार्यालयले सिँचाइ पूर्वाधार निर्माण तथा मर्मत, स्यालो ट्यूबेल, मेशिनबाट धान रोप्ने मेसिनका लागि बिउ राख्ने ट्रे, कृषि बजारीकरण, कृषि यान्त्रीकरणमा सहयोग, केराको वाइनको परीक्षण तथा प्रदर्शन, केराको थामबाट सेनेटरी प्याड बनाउने उद्योग स्थापना, बिरुवा तथा बीउ उत्पादन लगायतका क्षेत्रका कृषकलाई दरखास्त दिन आह्वान गरेको छ।

परियोजनाले चितवन र मकवानपुरका तरकारी, केरा, धान र मौरी पालक किसानका लागि प्रस्ताव आह्वान गरेको हो। दुई जिल्लामा सञ्चालित छ वटा जोनमा सबैभन्दा बढी सिँचाइका कार्यक्रम सञ्चालन गर्न लागिएको कार्यालयले जानकारी दिएको छ। एक सय ८५ वटा सिँचाइ पूर्वाधार निर्माण तथा मर्मत सम्भारका लागि दुई करोड ३८ लाख २७ हजार रुपैयाँ रुपैयाँ बजेट विनियोजन गरेको छ। 

चितवन र मकवानपुरमा गरी दुई वटा धान जोन छन्। परियोजनाले सबैभन्दा धेरै धान जोन अन्तरगत झण्डै तीन करोड रुपैयाँका कार्यक्रम सञ्चालन गर्ने भएको छ। चितवन र मकवानपुरमा गरी दुई वटा धान जोनका कार्यक्रम सञ्चालनका लागि परियोजनाले २ करोड ९४ लाख ३६ हजार रुपैयाँको प्रस्ताव आह्वान गरेको छ।

चितवनमा रहेको धान जोन अन्तरगत कृषि यान्त्रीकरणका लागि ४० लाख, ४० हेक्टर क्षेत्रफलमा सिँचाइका लागि स्यालो ट्यूवेल निर्माण, मेशिनबाट धान रोप्नका लागि बिउ राख्ने ट्रेका लागि १० लाख रुपैयाँ बराबरका कार्यक्रममा प्रस्ताव आह्वान गरिएको छ। मकवानपुरमा सञ्चालित धान जोनमा परियोजनाले एक करोड ६ लाख रुपैयाँ बराबरका कार्यक्रमको प्रस्ताव आह्वान गरेको सूचनामा उल्लेख छ।

केरा जोन अन्तरगत एक करोड ५२ लाख ४३ हजार रुपैयाँ बराबरका कार्यक्रम सञ्चालन गर्न लागेको छ। केरा जोनमा अन्तरगत परियोजनाले यस वर्ष ८४ लाख रुपैयाँ सिँचाइमा खर्च गर्नेछ। केरामा उन्नत प्रविधि प्रदर्शनमा २० लाख चार हजार, सुपरजोन क्षेत्रमा कृषि यान्त्रीकरणमा आठ लाख, उन्नत प्रविधिका लागि टिस्यूकल्चार बिरुवा वितरणमा १५ लाख ७५ हजार, केराको थामबाट सेनेटरी प्याड बनाउने उद्योग स्थापना सहयोगमा १५ लाख, केराको बजारीकरण तथा प्रचार प्रसारमा आठ लाख र केराको वाइनको परीक्षण तथा प्रदर्शनमा एक लाख २८ हजार रुपैयाँ बराबरका कार्यक्रम सञ्चालन गर्न प्रस्ताव आह्वान गरिएको परियोजनाका कृषि अधिकृत इन्द्र शर्मा ढुङ्गानाले जानकारी दिए।

सञ्चालित कार्यक्रममध्ये ५० देखि ८५ प्रतिशतसम्म अनुदानका कार्यक्रम छन्। चितवन र मकवानपुरमा गरी दुई वटा तरकारी जोन रहेका छन्। जोन अन्तरगत सूचिकृत भएका किसानका लागि एक करोड दुई लाख रुपैयाँ बराबरका कार्यक्रमको प्रस्ताव आह्वान गरिएको छ। चितवन जिल्लामा तरकारी जोन अन्तरगत सिँचाई, कृषि यान्त्रीकरण र तरकारी प्रवर्द्धनमा ६९ लाख २५ हजार रुपैयाँ बजेट विनियोजन गरिएको छ। मकवानपुरका लागि अकबरे खुर्सानीको बिउ उत्पादन, तरकारी बजारीकरण, कृषि यान्त्रीकरण र अस्थायी प्लास्टिक घर निर्माण गर्न ३३ लाख ५ हजार रुपैयाँको प्रस्ताव आह्वान गरिएको छ।

मौरी जोन क्षेत्रमा महको प्याकेजिङ, महको बजारीकरण, कोल्ड स्टोरको स्तरोन्नति, चक्लाबन्दी खेती प्रवर्धन, उद्यमशीलता कार्यक्रमका लागि अनुदानका लागि प्रस्ताव आह्वान गरिएको छ। यी कार्यक्रम सञ्चालन गर्न एक करोड ५६ लाख रुपैयाँ बजेट छ। परियोजनाले अधिकांश कार्यक्रम ५० देखि ८५ प्रतिशत अनुदानका रहेको परियोजनाका प्रमुख महेश रेग्मीले जानकारी दिए।

यी कार्यक्रममा सहभागी हुनका लागि परियोजनामा सूचीकृत इच्छुक कृषि समूह, सहकारी, कृषि फर्म, कम्पनीलाई आवश्यक कागजातसहित ३० दिन (भदौ १२) भित्र आवेदन दर्ता गर्न अनुरोध गरिएको छ। परियोजनाका कार्यक्रममा सहभागी हुन संस्थाको नवीकरण भएको प्रमाणपत्र, जग्गाको स्वामित्व खुल्ने सम्झौतानामा, कार्यसमितिको निर्णयको प्रतिलिपि, स्थायी लेखा नम्बर दर्ताको प्रतिलिपि, कर चुक्ता लगायतका प्रमाणपत्र पेस गर्नुपर्ने सूचनामा उल्लेख गरिएको छ।

प्रकाशित: १० श्रावण २०८१ १८:३५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App