२३ भाद्र २०८१ आइतबार
image/svg+xml
अर्थ

सिबिफिनद्वारा अर्थमन्त्रीको ध्यानाकर्षण

बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)ले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई बैंक तथा वित्तीय क्षेत्रका समस्याको बारेमा ध्यानाकर्षण गराएको छ।

सिबिफिनका अध्यक्ष उपेन्द्रप्रसाद पौडेल नेतृत्वको टोलीले समस्याको बारेमा जानकारी गराएको हो। सिबिफिनले लगानी र व्यवसायमैत्री नीति तथा वातावरण बन्न नसक्दा कर्जा विस्तारमा व्यापक संकुचन आएको जनाएको छ।

वित्तीय संस्थाहरूको खराब कर्जा एवं जोखिमपूर्ण सम्पत्तिमा उल्लेखनीय रूपमा वृद्धि भएको, पुँजीकोषमा दबाब परेको, बैंक तथा वित्तीय संस्थाविरुद्ध अफवाह फैलाउने र कर्जा नतिर्न गरिएका दुरुत्साहनका कार्य निरुत्साहित हुन नसकेको भन्दै चिन्ता व्यक्त गरेको छ।

आर्थिक एवं बैंकिङ क्षेत्रमा खस्केको मनोबल र गुमेको आत्मविश्वासलाई उच्च बनाउँदै दिगो आर्थिक एवं बैंकिङ विकासका प्रयास अवलम्बन हुनेमा विश्वस्त रहेको अध्यक्ष पौडेलले बताए।

त्यसैगरी परिसंघका वरिष्ठ उपाध्यक्ष राजेश उपाध्यायले मुलुकको अर्थतन्त्रको आधारस्तम्भ मानिएको बैंकिङ क्षेत्रमाथि चौतर्फी प्रहार भइरहेको भन्दै चिन्ता व्यक्त गरे।

परिसंघका कार्यकारी सदस्य लीलाप्रकाश सिटौलाले कर्जा र धितोको विषयमा वस्तुगत अध्ययन नै नगरी गैरकार्यकारी भूमिकामा रहने सञ्चालकहरूलाई कागजी जानकारीका आधारमा हिरासतमा लिने प्रवृत्ति बढ्दै जानुले समग्र बैंकिङ क्षेत्र नै भयभित बनेको बताए।

अर्थमन्त्री पौडेलले सुदृढ एवं आत्मनिर्भर अर्थतन्त्र र समृद्ध राष्ट्र निर्माण गर्ने सरकारको अभियानमा सहकार्यको प्रतिवद्धता जनाए। मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउन र समग्र बैंकिङ क्षेत्रका समस्या एवं चुनौतीहरूको समाधानका लागि सरकारले आवश्यक प्रयास गर्ने बताए।

कार्यक्रममा सिबिफिनका उपाध्यक्ष कुशप्रसाद मल्ली, सचिव भरतराज ढकाल, सहकोषाध्यक्ष हिरेन्द्रमान प्रधान सदस्यहरू राधेश पन्त, मनोजकुमार गोयल, डा. चन्द्रबहादुर अधिकारी, महेन्द्रकुमार गोयल र महानिर्देशक रोशन कोइरालाको समेत सहभागिता रहेको थियो ।

प्रकाशित: १० श्रावण २०८१ ०८:५५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App