२३ भाद्र २०८१ आइतबार
image/svg+xml
अर्थ

पर्यटन सुधारको खाका बनाउँदै पर्यटनमन्त्री

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले पर्यटन क्षेत्र सुधारका लागि खाका बनाउँदै छन्। मन्त्री नियुक्त भए पटि खाका तयार गर्नका लागि मन्त्री पाण्डेलेमातहतका निकाय र सम्बन्धित विज्ञहरूसँग छलफल गरेर सुझाब लिइरहेका छन्।

मन्त्री पाण्डेले पर्यटन, हवाई उड्डयन तथा संस्कृति क्षेत्रका विज्ञ तथा जानकारहरूसँग सुझाब तथा सम्बन्धित निकायसँग बिफ्रिङ लिइरहेका हुन्।

‘मन्त्रीज्यू पर्यटन, नागरिक उड्डयन र संस्कृति तीनै क्षेत्रका पूर्वमन्त्री, विज्ञ, पूर्वसचिव तथा जानकारहरूसँग छलफलमा हुनुहुन्छ’, मन्त्री पाण्डेका स्वकीय सचिव तालबहादुर रावलले भने ‘अहिले मन्त्रालयसँग सम्बन्धित सबै विषयलाई नजिकबाट बुझ्न यसबारे प्रारम्भिक अध्ययन र छलफलमा व्यस्त हुनुहुन्छ।’

पर्यटन मन्त्री पाण्डेले विगतका वर्षहरूमा कुन कुन विषयमा कसरी काम भएका थिए, के काम भइरहेका छन् र कसरी परिणाममूलक तवरले अगाडि जान सकिन्छ भन्ने विषयमा हाल सरोकारवाल सबैसँग बसेर छलफल गरेर सुझाब लिइरहेको स्वकीय सचिव रावलले बताए।

यस्तै मन्त्री पाण्डेले त्रिभुवन विश्वविद्यालय अन्तर्गत रहेको नेपाल इतिहास, संस्कृति, तथा पुरातत्त्व केन्द्रीय विभागको विभागीय प्रमुख तथा सहप्राध्यापक डा. महेशकुमार आचार्यसँग पनि छलफल गरिरहेको रावलले बताए।

‘पछिल्लो समय मन्त्रीज्यूले नेपालको इतिहास तथा संस्कृतिक पक्षहरूका बारेमा जानकारी लिइरहनु भएको छ’, उनले भने, ‘कसरी नेपालको संस्कृतिलाई विश्वसामु प्रबद्र्धन गरेर नेपालको पर्यटनमा लाभ लिन सकिन्छ भन्ने विषयमा पनि मन्त्रीज्यू लागिरहनु भएको छ।’

मन्त्रालय सम्हालेको केही दिन मात्र भएको हुनाले यस समयमा सकेसम्म मन्त्रालयको सम्बन्धित निकायबाट काम तथा जिम्मेवारीको जानकारी लिने काम गरिरहेकोमा अहिले नै यो विषयमा काम गर्ने भन्ने कार्ययोजनामा काम बनिनसकेको रावलले बताए।

पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङले आफ्नो पहलमा वायुसेवा निगमको जहाजको सम्पूर्ण मर्मत सम्बन्धी छानबिन समिति बनाएको जानकारी दिएका थिए।

न्यारो बडी ए ३२० र ए ३३० दुई वटा जहाजको मर्मतको ढिलाइले एक अर्ब बढी घाटा भएको समितिले तयार गरेको प्रारम्भिक प्रतिवेदनमा उल्लेख भएको पाइएकाले पछि आउने मन्त्रीले पनि नेपालको ध्वजाबाहक जहाजका बारेमा गम्भीर चासो दिनुपर्नेमा उनको जोड थियो।

साथै विमानस्थलको व्यवस्थापनमा निजी क्षेत्रलाई समेत सहभागी गराउने गरी अध्ययन गर्न कार्यदल बनेको र प्रतिवेदन तयार भएको भन्दै खास गरी लुम्बिनीमा निर्मित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा विमानस्थलको व्यवस्थापनमा निजीक्षेत्रलाई पनि समावेश गर्न आफूले पहल गरेको पूर्वमन्त्री तामाङले बताएका थिए। अध्ययन कार्यदलको प्रतिवेदनका आधारमा विमानस्थल सञ्चालन गर्नेबारेमा मन्त्रालय लाग्नुपर्ने मन्त्री तामाङको धारणा थियो।

यसै क्रममा स्वकीय सचिव रावलले मन्त्री पाण्डे हवाई उड्डयनको क्षेत्रमा निकै गम्भीर भएको पनि बताए। उनले यो एकदमै प्राविधिक क्षेत्र भएको र यससँग जोडिएका धेरै निर्णय तथा कामहरूमा अन्तरद्वन्द्व रहेकाले मन्त्री पाण्डेले हवाई उड्डयनको काम र जिम्मेवारीको विषयमा पनि गहन छलफल र अध्ययन गरिरहेको बताए।

पहिलो पटक मन्त्री बनेका पाण्डेले पर्यटन मन्त्रालय सम्हाल्दै गर्दा धेरै काम गर्नुपर्नेछ। अन्य मन्त्रालयभन्दा संस्कृति, पर्यटन तथा नागरिक  उड्डयन मन्त्रालयको कार्यक्षेत्र अलि धेरै भएकाले पनि मन्त्री पाण्डेले धेरै काम गर्नुपर्ने देखिन्छ।

मन्त्री पाण्डेको क्षेत्रधिकारमा रहेका निकायहरूको दीर्घकालीन विकास र विस्तारलाई जनताले महसुस गर्नुपर्ने आवश्यकता छ। यसका लागि उनले सम्बन्धित सबै पक्षमा विवेकपूर्ण र परिणाममुखी तवरले काम गर्नुपर्नेछ। साथै पूर्व पर्यटनमन्त्री हितबहादुर तामाङले पूरा गर्न नसकेको मन्त्रालय मातहतका विभिन्न समितिहरूको समस्यालाई समाधान गर्नुपर्नेछ।

यस्तै पूर्व पर्यटन मन्त्री तामाङले नेपाली जहाजलाई युरोपेली आकाशमाथिको प्रतिबन्ध हटाउन विभिन्न सुधारका काम अघि बढेको र त्यसलाई निष्कर्षमा पु¥याउन सबैले अग्रसरता लिनुपर्ने हुँदा गम्भीर भएर लाग्नुपर्ने छ।

यस्तै पूर्व पर्यटनमन्त्री तामाङले आफ्नो कार्यकाल बिदाईको समयमा समय अभावले मन्त्रालय मातहतका विभिन्न समितिको समस्या समाधान गर्न आफूले नसकेको स्वीकारेका थिए। जसमा  पशुपति क्षेत्र विकास कोष, लुम्बिनी विकास कोष आदिलाई पनि आफूले उल्लेख्य समय दिन नसके पनि मातहतका संस्थाको काम कारबाहीमा आफूले सकेसम्म चासो दिएको बताएका थिए।

यस्तै तारा गाउँ विकास समितिमा देखिएको समस्या समाधानमा पनि आफूले चासो राखे पनि समय अभावका कारण टुंगोमा पुर्‍याउन नसकेको उनको भनाइ थियो। पर्यटन मन्त्रालयअन्तर्गत रहेका समस्याहरूको निराकरण मन्त्री पाण्डेले गर्नुपर्ने छ। यावत समस्याहरू र मुलुकको पर्यटन, संस्कृति तथा हवाई उड्डयनको विकासमा कसरी प्रभावकारी काम गर्न सकिन्छ भनी मन्त्री पाण्डेले पहिलो चरणको काममा सारोकारवाला पक्ष र जानकारहरूसँग धमाधम छलफल गर्ने र सुझाव लिने काम गरिरहेका छन्।

मन्त्रालय सम्हालेको पहिलो पटक भएकाले गर्दा मन्त्री पाण्डे मन्त्रालय मातहत पर्ने सम्पूर्ण विषयमा अध्ययन र छलफलमा ब्यस्त भइरहँदा उनलाई बधाई दिन आउने शुभचिन्तकले भने काममा बाधा पुर्‍याइरहेको मन्त्रालयको एक कर्मचारीले बताए।

शुभचिन्तक तथा कार्यकर्ताहरू बधाई दिन आएपछि उनीहरूलाई इन्कार गर्न नसकिने भएकाले पनि केही बाधाहरू आएका छन्। यद्यपि यो पक्ष सामान्य भएको र हाल मन्त्री कामको पहिलो चरणमै भएको उनले बताए।

प्रकाशित: १० श्रावण २०८१ ०७:३६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App