२३ भाद्र २०८१ आइतबार
image/svg+xml
अर्थ

विराटनगर नाकाको निर्यात २२ प्रतिशतले घट्यो :अदुवाको निर्यात घट्दा डाइपरको बढ्यो

आर्थिक वर्ष ०८०/०८१ मा विराटनगर नाकाको निर्यात अघिल्लो वर्षको तुलनामा २२ प्रतिशतले घटेको छ । विराटनगर भन्सार कार्यालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार विराटनगर नाकाबाट हुने निर्यात २२ प्रतिशतले घटेको हो । 

भन्सारले सार्वजनिक गरेको तथ्याङ्क अनुसार आर्थिक वर्ष ०८०/८१ मा विराटनगर नाकाबाट ३० अर्ब ८० करोड ६६ लाख रुपैयाँको बस्तुहरू निर्यात भएको छ । गत वर्ष ३९ अर्ब ३३ करोड ४३  लाख रुपैयाँ बराबरका बस्तुहरू निर्यात भएको थियो । तथ्याङ्कका आधारमा हेर्दा विराटनगर नाकाबाट ८ अर्ब ५२ करोड ५५ लाख रुपैयाँले निर्यात घटेको छ । विराटनगर नाकाबाट पाम तेलको निर्यात उल्लेख्य रुपमा घटेको छ । 

अघिल्लो वर्षको तुलनामा आर्थिक वर्ष ०८०/८१ मा विराटनगर नाकाबाट करिब ९९ प्रतिशतले पाम तेलको निकासी घटेको हो । आर्थिक वर्ष ०७९/८०मा ६२ करोड १७लाख २३ हजार रुपैयाँका प्रशोधित पाम तेल निर्यात भएको थियो । तर, आर्थिक वर्ष ०८०÷८१ मा घटेर ६९ लाख ३ हजार रुपैयाँको मात्रै निर्यात भएको देखिएको छ । यस्तै जुटको झोला, बोराको निर्यातमा पनि करिब ५० प्रतिशतको गिरावट आएको छ । आर्थिक वर्ष ०८०/८१ मा विराटनगर नाकाबाट ९ करोड ८ लाख १७हजार रुपैयाँको जुटका झोला, बोरा निर्यात भएकोमा अघिल्लो आर्थिक वर्ष १९ करोड ५७लाख७१ हजार रुपैयाँको निर्यात भएको छ ।

 यस्तै अदुवा र सुठोको निर्यात पनि ८९ प्रतिशतको गिरावट आएको छ । आर्थिक वर्ष ०८०÷८१ मा ५६ लाख ४० हजार रुपैयाँको निर्यात भएकोमा अघिल्लो आर्थिक वर्ष ४ करोड ९९ लाख २० हजार रुपैयाँको निर्यात भएको थियो । यस्तै तयारी कपडाको निर्यात पनि करिब ५५ प्रतिशतले घटेको छ । आर्थिक वर्ष ०८०/८१मा विराटनगर नाकाबाट २ करोड ५२लाख ५९ हजार रुपैयाँको तयारी कपडा निर्यात भएको छ । अघिल्लो वर्ष ५५ करोड ७० लाख २ हजार रुपैयाँ बराबरको तयारी कपडा निर्यात भएको छ । विराटनगर नाकाबाट सबै भन्दा बढी मात्रामा निर्यात हुने सेन्थेटिक यार्नको समेत निर्यात झिनो अङ्कले घटेको छ ।

आर्थिक वर्ष ०८०/८१ मा ६८ करोड २० लाख १५ हजार मूल्य बराबरको सेन्थेटिक यार्न निर्यात भएकोमा अघिल्लो वर्ष ६८ करोड ६६ लाख७१ हजार रुपैयाँ बराबरको निर्यात भएको थियो । चाउचाउ, नुडल्स र पास्ताको निर्यात पनि ४१ प्रतिशतले घटेको छ । आर्थिक वर्ष ०८०÷८१ मा ६ करोड १९ लाख ५२ हजार रुपैयाँको निर्यात भएको छ । 

अघिल्लो वर्ष १० करोड ५१ लाख १७हजार रुपैयाँको निर्यात भएको थियो । विराटनगर नाकाबाट प्लास्टिकका बोतल, मोलासिस लगायतका बस्तुको निर्यात पनि घटेको छ । यता सेनेटरी प्याड र डाइपर को निर्यात भने बढेको छ । सेनेटरी प्याड, डाइपर को निर्यात ८८ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष २ करोड १३ लाख ३२ हजार रुपैयाँको निर्यात भएकोमा आर्थिक वर्ष ०८०/८१ मा ४ करोड १ लाख७३ हजार रुपैयाँको निर्यात भएको छ । 

यस्तै प्लाइउडको निर्यात पनि बढेको छ । आर्थिक वर्ष ०८०/८१ मा प्लाइउडको निकासी ३६ प्रतिशतले बढेर १६ करोड ५३ लाख ६२ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष १२ करोड १२ लाख ९८ हजार रुपैयाँको निर्यात भएको थियो । आर्थिक वर्ष ०८०/८१ मा जुटबाट बुनिएका कपडा,अन्य कपडा, लिड सिसा, एमएक स्ट्रील, स्ट्रीप,फलाम र स्पातका पाइपको निर्यात बढेको छ ।

 नेपालबाट हुने निर्यातजन्य अधिकांश बस्तुहरूको कच्चापदार्थ भारत र तेस्रो मुलुकबाटै आयात गर्नुपर्ने भएकाले भन्सारको दरमा हुने परिवर्तनले तयारी बस्तुको प्रतिस्पर्धी क्षमतामा ह्रास आउने र समग्र निर्यातमा नै असर गर्ने मोरङ उद्योग व्यापार संघका पूर्व अध्यक्ष तथा प्रशोधित तेल निर्यातकर्ता प्रकाश मुण्दडा बताउँछन् । सरकारले नयाँ बजेट ल्याउँदा आयातित कच्चा पदार्थको भन्सार दरमा हेरफेर गरिरहने र कतिपय कच्चा पदार्थ निर्यातमा भारत लगायत अन्य देशहरूले पनि निर्यात कर बढाउने गरेका कारण नेपालबाट हुने निर्यात प्रभावित हुने गरेको मुण्दडा बताउँछन् । 

प्रकाशित: ९ श्रावण २०८१ १९:३० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App