२३ भाद्र २०८१ आइतबार
image/svg+xml
अर्थ

एच्एस् कोड भएका भ्याट विल प्रयोग गर्न आग्रह

आन्तरिक राजस्व कार्यालय विराटनगरका प्रमुख कर अधिकृत भुपालराज शाक्यले चालु आर्थिक वर्षदेखि भ्याटमा दर्ता भएका र आयातित बस्तुको कारोबार गर्ने फर्महरूले अनिवार्य एचएस् कोड भएको भ्याट विल प्रयोग गर्न आग्रह गरेका छन्।

शुक्रबार  मोरङ उद्योग व्यापार सङ्घले आयोजना गरेको भेटघाट तथा अन्तर्क्रिया कार्यक्रममा प्रमुख कर अधिकृत शाक्यले चालु आर्थिक वर्ष देखिको कारोबारमा  एच एस् कोड भएको भ्याट विल प्रयोग गर्न उद्योगी व्यवसायीलाई आग्रह गरेका हुन् ।

चालु आर्थिक वर्षको बजेटमा उल्लेख भएको र केन्द्रले परिपत्रसमेत गरिसकेका कारण आयातित बस्तुको कारोबार गर्ने उद्योग,थोक, तथा खुद्रा विक्रेताहरूले समेत एचएस् कोड भएकै भ्याट विल प्रयोग गर्नुपर्ने उनले स्पष्ट पारे। शाक्यले भने ‘चालु आर्थिक वर्षको बजेटमै व्यवस्था भएको र केन्द्रबाट पनि परिपत्र आइसकेका कारण चालु आर्थिक वर्षको साउन १ गते देखिकै कारोबारमा भ्याटमा दर्ता भएका र आयातित बस्तुको कारोबार गर्ने  फर्महरूले अनिवार्य एच्एस् कोड भएको भ्याट विलबाट मात्रै कारोबार गर्नुहोला।’

मोरङ उद्योग व्यापार संघका अध्यक्ष अनुपम राठीले सरकारले ल्याएको नयाँ नियमले उद्योगी व्यवसायी  अन्योलमा परेको बताए । राजस्व कार्यालयले आठ नौ वर्ष पहिलेका फाइलहरू खेलेर राजस्व कार्यालयले भ्याट तिर्न ताकेता गरिरहेकाले उद्योगीहरूलाई समस्या भएको राठीले बताए । उनले भने‘८ वर्ष अघि नै भ्याट तिरेर हिसाब मिलान गरिसकेको तर, अहिले राजस्वले ताकेता गर्दा उद्योगीहरू समस्यामा परेका छन् ।’अहिले यस्तो समस्यामा स्टिल उद्योगहरू परेको राठीले बताए । उनले भ्याटको समस्या समाधान गरिदिन प्रमुख कर अधिकृतलाई आग्रह पनि गर । 

राठीले कारोबार गर्दा फर्महरू भ्याटमा दर्ता भएको देखिने तर, केही समय पछि हराएर जाने र त्यस्ता फर्महरूले गरेको कारोबारमा उद्योगलाई कर तिर्न ताकेता आउने समस्या जटिल बनेको बताए ।

मोरङ उद्योग व्यापार संघका पूर्व अध्यक्ष नवीन रिजालले सरकारले कार्यालयहरूलाई टार्गेट दिएर कर असुल्न लगाउने प्रवृत्ति गलत रहेको धारणा राखे  । व्यापार व्यवसाय राम्रो भए स्वतः कर संकलन बढ्ने रिजालले स्पष्ट पारे । उनले भने‘सरकारले उद्योग, व्यापार बढ्ने वातावरण बनाउन ध्यान दिनु¥यो । कर सङ्कलनमा मात्रै हैन ।’

कार्यक्रममा चार्टर एकाउन्टेन्ट संस्थाको कोसी प्रदेश अध्यक्ष  तीर्थराज यादवले खाद्यवस्तुमा भन्सारमै १० प्रतिशत टिडीएस् काट्ने विषय व्यवहारिक नभएको बताए । ‘१० प्रतिशत टिडीएस् काट्न ४० प्रतिशत नाफा हुनुपर्छ दैनिक उपभोग्य बस्तुको आयातमा ४० प्रतिशत नाफा हुँदैन’ उनले भने । यादवले दुई वर्ष पछि  भन्सारमै १० प्रतिशत टिडीएस् लिने व्यवस्थाले ठुलो सङ्कट निम्त्याउने चेतावनी दिए । कपडा व्यवसायी विनोद बोहोराले खुद्रा व्यवसायीलाई पनि एच् एस् कोडको विल काट्नुपर्ने व्यवस्थाले समस्यामा पार्ने बताए । उनले कपडामा थुप्रै खालको एच् एस् कोड हुने भएकाले बिल काट्दा एचएस् कोड हाल्न अप्ठ्यारो हुने धारणा राखे । 

प्रकाशित: ४ श्रावण २०८१ १९:३३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App