२३ भाद्र २०८१ आइतबार
image/svg+xml
अर्थ

मुस्ताङमा एकवर्षमा साढे ४ लाख पाहुना

आन्तरिक पाहुनाको संख्या ३ लाख बढी

पाहुना लिएर मंगलबार मुस्ताङको धार्मिक गन्तव्य मुक्तिनाथ पुगेका हेलिकप्टर। एक वर्षमा मुस्ताङले सबैगरि करिब साढे ४ लाख पाहुना पाएको छ। तस्बिरः नागरिक

एकवर्ष अवधि (गत आर्थिक वर्ष) मा हिमालपारिको जिल्ला मुस्ताङमा मात्र करिब साढे ४ लाख पर्यटक पुगेका छन्। ती मध्ये बेनी–जोमसोम सडक खण्ड हुँदै भित्रिने पर्यटकको संख्या ४ लाख २७ हजार २ सय ६१ रहेको छ। बाँकी करिब २० हजार पर्यटक हवाई माध्यम र अन्नपूर्ण फेरोको थोराङला भञ्ज्याङ (५४१६मि) पार गरेर मुस्ताङ ओर्लेका थिए। त्यसबाहेक हेलिकप्टरमा सिधै मुस्ताङ पुग्ने पर्यटक पनि पर्याप्त हुने गरेका छन्।

सबैगरि करिब ४ लाख ४७ हजार पर्यटक मुस्ताङ पुगेको आँकलन पर्यटकको तथ्यांक राखिरहेको प्रहरीले गरेको छ। मुस्ताङ प्रहरीले अहिले मुस्ताङ प्रवेश गर्ने हरेक पर्यटकको बेनी–जोमसोम सडक खण्डको घाँसामा तथ्यांक राख्ने गरेको छ। जिल्ला प्रवेश गरेका सबैखाले सवारीमा सवार पर्यटकको एकएक गरेर घाँसामा विवरण लिने गरेको छ।  

मुस्ताङ प्रहरी प्रमुख डिएसपी भोजराज पाण्डेका अनुसार हिमाली जिल्ला प्रवेश गरेका मध्ये सबैभन्दा बढी पर्यटक आन्तरिक छन्। २०८० साउन देखि २०८१ असार मसान्तसम्मको अवधिमा सबैभन्दा बढी ३ लाख १८ हजार ८ सय १४ जना आन्तरिक पाहुना मुस्ताङ पुगेका छन्। यही अवधिमा मुस्ताङ पुग्ने सार्क मुलुकका पर्यटकको संख्या ९९ हजार २ सय ७६ रहेको छ। अन्य तेश्रो मुलुकका पर्यटकको संख्या ९ हजार १ सय ७१ रहेको डिएसपी पाण्डेले बताए।

‘सबैगरि ४ लाख २७ हजार २ सय ६१ पर्यटक त बेनी–जोमसोम मार्ग हँुदै भित्रिएका छन्। प्रहरीले एकएक गरेर उनीहरुको तथ्यांक राखेको छ। हवाई माध्यम हुँदै र अन्नपूर्ण फेरो पदमार्ग पुरा गरेर मनाङ हुँदै मुस्ताङ प्रवेश गर्ने पर्यटकको संख्या पनि करिब २० हजार रहेको अनुमान छ,’ पाण्डेले भने, ‘बेनी–जोमसोम सडक हुँदै भित्रिने पर्यटकको संख्या पछिल्लो वर्ष निकै नै बढेको छ। मनाङ हुँदै मुस्ताङ मिसिने र हवाई माध्यम हुँदै मुस्ताङ पुग्ने पर्यटक पनि पर्याप्त हुने गरेका छन, तर, त्यसको आधिकारिक तथ्यांक कतै राखिन्न।’  

एकएक गरेर तथ्यांक नराखेपनि अन्नपूर्ण फेरो हुँदै भित्रिने पर्यटकको संख्या धेरै नै हुने उनले बताए। सिजनको बेला थोराङला भञ्ज्याङ हुँदै ठूलै संख्यामा पर्यटकहरु मनाङ हुँदै मुस्ताङ प्रवेश गर्ने गरेका छन्। ती पर्यटक मध्ये आन्तरिक पनि हुने गरेका छन्। तर, पदयात्रा हुँदै जाने पर्यटकको यकिन विवरण भने कतै नरहने उनले बताए।

अघिल्लो आर्थिक वर्ष (२०७९/८०) मा मुस्ताङ प्रवेश गर्ने पर्यटकको संख्या करिब चारलाख रहेको प्रहरीको भनाई छ। कोरोना भाइरस संक्रमणको प्रभावले गर्दा विदेशी पर्यटकको आगमन कम रहेको र आन्तरिकको हिडडुल पनि कमजोर हुँदा पाहुना अघिल्लो वर्ष पाहुना केही कम भएको डिएसपी पाण्डेले बताए। उनका अनुसार अघिल्लो आर्थिक वर्ष (२०७९/८०)मा ३ लाख ३ हजार ८ सय आन्तरिक र करिब ७६ हजार अन्य मुलुकका पर्यटक रहेका थिए। थोराङला भञ्ज्याङ र हवाई मार्ग हँँदै भित्रिएका समेत गरेर करिब ४ लाख पर्यटक आएको उनको भनाई छ।  ‘पछिल्लो समय पहूँचका हिसाबले पनि हिमाली जिल्ला मुस्ताङसँग पाहुनाको पहुँच निकै नै बढेको छ,’ उनले भने। 

स्थलमार्गको सहजता, पर्यटनमा व्यावसायिकता, पूर्वाधार थप, शान्ति सुरक्षाको बन्दोबस्ती, अन्तर्राष्ट्रिय सञ्चार माध्यममा मुस्ताङबारे सकारात्मक प्रचार प्रसार हुनु लगायतले पाहुनाको घुमघाममा मनोबल बढेको डिएसपी पाण्डेले बताए। डिएसपी पाण्डेले चालु आर्थिक वर्षमा भित्रिने स्वदेशी र विदेशी पर्यटकको झनै विस्तृत विवरण राख्ने तयारी भएको बताए। भारतको प्रदेश अनुसार र आन्तरिकमा जिल्ला अनुसार पाहुनाको विवरण राख्न थालेको उनले बताए।  

गत आर्थिक वर्षको कात्तिकमा सबैभन्दा बढी पाहुना मुस्ताङ पुगेका थिए। प्रहरीका अनुसार गत कात्तिक महिनामा सबैगरि ६३ हजार २ सय ३० जना पाहुना मुस्ताङ पुगेका थिए। ती मध्ये ५९ हजार ९७ जना आन्तरिक पाहुना, ४ हजार ९ सय ५३ जना सार्क मुलुकका र तेश्रो मुलुकका ११ सय ८० जना पर्यटक मुस्ताङ पुगेका थिए। त्यसैगरि गत चैतमा ६३ हजार २ सय १० जना पाहुना मुस्ताङ पुगेका थिए। ती मध्ये ४७ हजार ६ सय ३४ जना आन्तरिक पाहुना थिए। सार्क मुलुकका पाहुनाको संख्या १४ हजार ९ र तेश्रो मुलुकका पाहुनाको संख्या १५ सय ६७ रहेको प्रहरीको तथ्यांक रहेको छ।  

गत वैशाखमा पनि मुस्ताङमा सबैगरि ६० हजार ४ सय ६७ जना पाहुना मुस्ताङ पुगेका थिए। ती मध्ये आन्तरिक पाहुनाको संख्या ४४ हजार ७१ थियो। सार्क मुलुकका पाहुनाको संख्या १५ हजार ५ सय ५३ र तेश्रो मुलुकका ८ सय ४३ जना पाहुना बैशाखमा मुस्ताङ उक्लेका थिए। दसैं–तिहार र चैत–बैशाखको बिदाको बेलामा मुस्ताङमा आन्तरिक पाहुना पर्याप्त पुग्ने गरेका छन्।

डिएसपी पाण्डेका अनुसार सार्क मुलुकका पाहुना मध्ये भारतीयको संख्या अधिक हुने गरेको छ। सबैभन्दा बढी गत जेठमा २६ हजार ५ सय ९६ जना सार्क मुलुकका पाहुना मुस्ताङ पुगेका थिए। गत बैशाखमा त्यो संख्या १५ हजार ५ सय ५३ थियो। त्यसअघि गत चैतमा १४ हजार ९ जना सार्क मुलुकका पाहुना हुन्। ‘चैतदेखि जेठसम्म सबैभन्दा बढी भारतीय पाहुना मुस्ताङ भित्रिने सिजन हो। मुक्तिनाथ दर्शन गर्न आउने भारतीयको संख्या त्यो सिजनमा अधिक हुने गरेको छ,’ डिएसपी पाण्डेले भने, ‘सार्क मुलुलका पर्यटक भनिएपनि भारतीयको हिस्सा अधिक छ। सार्क मुलुकका पाहुनामध्ये भारतीय बाहेक अरु मुलुकका निकै नै कम हुन्छन्।’

हिमाली जिल्ला मुस्ताङको धार्मिक महत्व, चीनसँगको नाका कोरला क्षेत्र घुम्न जाने गरि उपल्लो मुस्ताङ पुग्ने साहसिक पाहुना र आन्तरिकको गन्तव्य भएकोले पनि मुस्ताङ जाने पाहुना वर्षेनी बढिरहेको पदयात्रा व्यावसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज एशोसिएसन अफ नेपाल (टान) गण्डकी अध्यक्ष धर्मराज पन्थी बताउँछन्।  

पन्थीका अनुसार गत आर्थिक वर्षमा अन्नपूर्ण क्षेत्र जानेगरि करिब २ लाख विदेशी पाहुनाले अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)सँग अनुमति लिएका थिए। ‘आन्तरिक बाहेक सबै विदेशी पाहुनाले अन्नपूर्ण क्षेत्रमा जाँदा एक्यापसँग अनुमति लिनुपर्छ। त्यो संख्या यो पटक बढेको छ,’ पन्थीले भने, ‘पाहुनाको त्यो घुमघामले पनि मुस्ताङको पर्यटनले गति लिएको छ।’ धार्मिक, साहसिक र आन्तरिकको गन्तव्य भएकोले मुस्ताङप्रति पाहुनाको आकर्षण बढेको उनले बताए।  

प्रकाशित: १ श्रावण २०८१ १७:४४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App