२३ भाद्र २०८१ आइतबार
image/svg+xml
अर्थ

चार खर्ब बढ्यो विदेशी विनिमय सञ्चिति

मुलुकको आन्तरिक अर्थतन्त्रका सूचक कमजोर अवस्थामा रहे पनि बाह्य सूचक भने मजबुत देखिएका छन्। नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको तथ्यांक अनुसार विदेशी विनिमय सञ्चिति ११ महिनाको अवधिमा करिब सवा चार खर्ब रूपैयाँले बढेको छ। 

२०८० असार मसान्तमा १५ खर्ब ३९ अर्ब ३६ करोड रूपैयाँ बराबरको विदेशी विनिमय सञ्चिति रहेकोमा ११ महिनामा २७.८ प्रतिशतले वृद्धि भई २०८१ जेठ मसान्तमा १९ खर्ब ६७ अर्ब १९ करोड रूपैयाँ पुगेको छ। यसरी हेर्दा यो अवधिमा चार खर्ब २७ अर्ब ८३ करोड रूपैयाँले सञ्चिति बढेको छ।

अमेरिकी डलरमा यस्तो सञ्चिति २०८० असार मसान्तमा ११ अर्ब ७१ करोड रहेकोमा २०८१ जेठ मसान्तमा २५.७ प्रतिशतले वृद्धि भई १४ अर्ब ७२ करोड पुगेको राष्ट्र बैंकले जनाएको छ। चालु आवको एघार महिनाको आयातलाई आधार मान्दा बैकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १५.१ महिनाको वस्तु आयात र १२.६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिएको छ।

विदेशबाट रेमिटेन्स आगमन पनि वृद्धि भएको छ। समीक्षा अवधिमा विप्रेषण आप्रवाह १९.३ प्रतिशतले वृद्धि भएको छ। यो वर्षको ११ महिनामा १३ खर्ब २७ अर्ब ५१ करोड रूपैयाँ आएको छ। अमेरिकी डलरमा विप्रेषण आप्रवाह १७.३ प्रतिशतले वृद्धि भई नौ अर्ब ९८ करोड पुगेको छ। यो वर्ष वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति-संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या चार लाख २२ हजार नौ सय ३६ र पुनः श्रम स्वीकृति लिनेको संख्या दुई लाख ६२ हजार सात सय पाँच रहेको थियो।

यसै गरी चालु खाता पनि दुई खर्ब बचतमा गएको छ। अघिल्लो वर्षको सोही अवधिमा ७९ अर्ब ५३ करोडले घाटामा रहेकोमा अहिले बचतमा गएको हो। अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ६१ करोड ३२ लाखले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा एक अर्ब ५१ करोडले बचतमा रहेको छ। समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर २५.७ प्रतिशतले कमी आई पाँच अर्ब ४६ करोड कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी आठ अर्ब १६ करोडले धनात्मक रहेको छ। 

त्यसैगरी शोधनान्तर स्थिति चार खर्ब २५ अर्ब ६७ करोड रूपैयाँले बचतमा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति दुई खर्ब २४ अर्ब ९० करोडले बचतमा रहेको थियो। अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा एक अर्ब ७१ करोडले बचतमा रहेको शोधनान्तर स्थिति यो अवधिमा तीन अर्ब २० करोडले बचतमा रहेको छ।

यता वैदेशिक व्यापारमा भने गिरावट आएको छ । चालु आर्थिक वर्ष २०८०÷८१ को एघार महिनामा कुल वस्तु निर्यात ३.० प्रतिशतले कमी आई एक खर्ब ३९ अर्ब २६ करोड रूपैयाँ कायम भएको छ। गन्तव्यका आधारमा भारततर्फको निर्यातमा ४.५ प्रतिशतले कमी आएको छ भने चीनतर्फको निर्यात ५७.७ प्रतिशतले वृद्धि भएको छ । 

त्यसैगरी, अन्य मुलुकतर्फको निर्यातमा १.७ प्रतिशतले कमी आएको छ। वस्तुगत आधारमा जिंक सिट, पार्टिकल बोर्ड, जुस, तयारी पोसाक, पिना लगायतका वस्तुको निर्यात बढेको छ भने पाम तेल, सोयाविन तेल, ऊनी गलैंचा, ब्रान्स, चियालगायतका वस्तुको निर्यात घटेको छ ।  

निर्यात मात्र नभएर आयात पनि घटेको छ। यो वर्षको एघार महिनामा कुल वस्तु आयात १.८ प्रतिशतले कमी आई १४ खर्ब ५३ अर्ब ७० करोड रूपैयाँ कायम भएको छ। वस्तु आयात गरिने मुलुक मध्येभारतबाट आयात ३.१ प्रतिशतले घटेकोमा चीनबाट आयात ३४.८ प्रतिशतले बढेको छ। 

अन्य मुलुकबाट भएको आयात २० प्रतिशतले घटेको छ। वस्तुगत आधारमा सवारी साधन तथा स्पेयर पार्टपुर्जा, तयारी पोशाक, विद्युतीय उपकरण, हवाइजहाजको स्पेयर पार्टपुर्जा, लत्ताकपडा लगायतका वस्तुको आयात बढेको छ। कच्चा सोयाविन तेल, सुन, हट रोल्ड सिट इन क्वायल, कच्चा पाम तेल, धान तथा चामल लगायतका वस्तुको आयात घटेको छ।

नेपाल राष्ट्र बैंकका अनुसार महँगी भने घटेको छ। जेठ महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ४.१७ प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ६.८३ प्रतिशत रहेको थियो। समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ५.७६ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति २.९४ प्रतिशत छ।

समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत तरकारी उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकांक १६.०२ प्रतिशत, दाल तथा गेडागुडीको ११.७६ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको ७.३२ प्रतिशत, चिनी तथा चिनीजन्य वस्तुको ६.९८ प्रतिशत र गैर–मदिराजन्य पेय पदार्थको ५.९५ प्रतिशतले बढेको छ भने घ्यु तथा तेल उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकांक ५.५१ प्रतिशतले घटेको छ।

समीक्षा महिनामा गैरखाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवाहरू उपसमूहको वार्षिक बिन्दुगत मूल्य सूचकांक १२.४७ प्रतिशत, शिक्षाको ५.६४ प्रतिशत र कपडाजन्य तथा जुत्ता चप्पलको ३.४६ प्रतिशतले बढेको छ भने सञ्चार उपसमूहको वार्षिक बिन्दुगत मूल्य सूचकांक ०.४८ प्रतिशत र यातायातको ०.१८ प्रतिशतले घटेको छ।

प्रकाशित: २७ असार २०८१ ०८:२१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App