७ असार २०८१ शुक्रबार
image/svg+xml
अर्थ

१६ लाख विदेशी पाहुना भित्र्याउने लक्ष्य निकै ‘पर’

१० लाखबाट १६ लाख सम्भव छैनः पर्यटन क्षेत्र

पोखरा आएका विदेशी पर्यटक। फाइल तस्बिरः नागरिक

सरकारले आगामि आर्थिक वर्ष २०८१/८२ को बजेटमा १६ लाख विदेशी पर्यटक भित्र्याउने गरि पर्यटन प्रर्वद्धनका कार्यक्रम संचालन गर्ने उल्लेख गरेको छ। त्यसका लागि नयाँ गन्तव्यको पहिचान गर्ने बजेटमा उल्लेख छ। पर्यटक भित्र्याउनका लागि छिमेकी मुलुक भारत र चीन तथा अन्य मुलुकका प्रमुख सहरमा पर्यटक लक्षित रोड–सो, मेला, महोत्सव जस्ता पर्यटन प्रर्वद्धन कार्यक्रम संचालन गर्ने पनि बजेटमा छ।  

कोरोना भाइरस संक्रमणले थलिएको पर्यटन क्षेत्र उकासिँदै जाने क्रममा नेपालमा सन् २०२३ मा १० लाख १४ हजार ८ सय ८२ जना विदेशी पर्यटक भित्रिएको सरकारी तथ्यांक छ। यी मध्ये ९ लाख १४ हजार २ सय ७० जना हवाईमाध्यम र १ लाख ६ सय १२ जना स्थलमार्गबाट भित्रिएको तथ्यांकमा उल्लेख छ।  

नेपालमा सन् २०१८ मा ११ लाख ७३ हजार ७२ जना र सन् २०१९ मा ११ लाख ९७ हजार १ सय ९१ जना विदेशी पाहुना भित्रिएका थिए। सन् २०१९ को आगमन नै अहिलेसम्मको सबैभन्दा ठूलो संख्या हो। त्यसपछिका वर्षमा कोरोना भाइरस संक्रमणले गर्दा आगमन खस्केको थियो। कोरोना संक्रमणले गर्दा खस्केको आगमनमा सुधार हुँदै २०१३ मा १० लाख नाघेको थियो। यो आगमन २०२२ मा ६ लाख १४ हजार ८ सय ६९ थियो।  

आगामि आर्थिक वर्षमा १६ लाख विदेशी पर्यटक भित्र्याउने सरकारी भनाई रहेपनि त्यो अनुसारको योजना भने कतैपनि नरहेको सरोकारवालाको भनाई छ। कोरोना अघिको आकारमा बल्लतल्ल आगमन हुँदै गर्दा सरकारको १६ लक्ष्य निकै नै पर रहेको उनीहरुको भनाई छ।

‘सरकारले बजेमा १६ लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य त सार्वजनिक गरेको छ । तर, त्यो लक्ष्य निकै पर छ। किनकी हामी अझै कोरोना संक्रमण अघिको संख्यामा उक्लिन सकेका छैनौ, उक्लिने प्रयासमा मात्र छौ। यो वर्ष कोरोना संक्रमण अघि (२०१९) को हाराहारीमा आगमन हुनसक्छ,’ पर्यटनका एकजना जानकारले भने, ‘२०१९ कै लक्ष्य भेट्न कसरत भईरहेको बेला १६ लाख पुर्याउँछौ भन्नु महत्वाकांक्षा मात्र हो। यो वर्ष २०१९ कै हाराहारीमा (झन्डै १२ लाख) विदेशी पर्यटक भित्रिने अनुमान भने सहज हुन सक्छ।’

हवाई मार्गबाट आउने पर्यटकको संख्या मात्र १६ लाख लक्ष्य पुरा गर्न सहज नभएको उनले बताए । स्थलमार्गबाट भित्रिने भारतीय पाहुनालाई पनि समेट्ने हो भने त त्यो आकार सहजै पुरा हुने नत्र हवाई माध्यमको संख्या भेट्न सहज नभएको ती जानकारले बताए। सरकारले सन् २०२५ लाई नेपाल भ्रमण वर्ष र २०२३–२०३२ लाई पर्यटन दशक भनेर यसअघि नै भनेपनि अहिलेको बजेटमा ती कार्यक्रम ओझेलमा परेको पनि उनले बताए।  

पोखरा र भैरहवाका अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आइहालेमा पाहुना आगमन संख्या केही थपिन सक्ने भएपनि बजेटमा ती विमानस्थललाई कसरी संचालन गर्ने भन्ने बारे खासै योजना नरहेकोले आशावादी हुन नसकिने उनले बताए। ‘पोखरा र भैरहवाका अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आएर अन्तर्राष्ट्रिय उडान भईहालेमा केही आगमन थपिन सक्छ। नत्र सरकारी लक्ष्य पुरा हुँदैन,’ उनले भने।

उनका अनुसार कोरोना संक्रमणपछि ओरालो लागेको विश्वको पर्यटन क्षेत्र २०२४ को अहिलेसम्म ९७ प्रतिशत रिकभर भईसकेको छ। नेपालको ९८ प्रतिशत नै रिकभर भईसकेको छ। तर, अहिले रिकभरको बाटोमा रहेको पर्यटन क्षेत्र एकाएक माथि उक्लिने आधार नरहेको उनले बताए।  

पर्यटन बोर्डका पूर्व सदस्य टिकाराम सापकोटाले पनि अहिलेकै हालतमा १६ लाखको लक्ष्य महत्वाकांक्षी रहेको बताए। सापकोटाले भने, ‘हामी १० लाखको हाराहारीमा छौ। एकवर्षभित्रै १६ लाख पुर्याउन सकिने कुनै आधार नै छैन। किनभने पहुँचमा समस्या छ। नेपालसम्मको हवाई भाडा महंगो छ। ध्वजाबाहक नेपाल वायुसेवाको पहुँच पनि कमजोर छ। नेपाल आउने पर्यटक महंगीका कारण अन्यत्र डाइभर्ट भएका छन। ती पर्यटकलाई नेपालतर्फ तान्न विशेष प्याकेज र आकर्षक प्याकेज दिन सकेका छैनौं।’

अहिलेको आगमनलाई केही माथि उकास्न सकेपनि लक्ष्य पुरा गर्न सहज नभएको उनले बताए। ‘अन्तर्राष्ट्रिय बजारमा नेपाल प्रवद्र्धन गर्ने हो भने आगमन केही आकारमा बढाउन सकिन्छ। पर्यटन बोर्डले पनि अन्तर्राष्ट्रिय बजारमा पहुँच बिस्तार गर्नुपर्छ,’ उनले भने।  सरकारले नीति तथा कार्यक्रममा पर्यटनलाई प्राथमिकता नदिँदा लक्ष्य पुरा नहुने सापकोटाले बताए।  

नेपाललाई अन्तर्राष्ट्रिय बजारसम्म जोड्ने एकमात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल रहेकोले त्यसको भरमा मात्र सरकारी लक्ष्य पुरा नहुने उनले बताए। ‘पर्यटक भित्र्याउने अभियान छैनन, विदेशी पाहुनालाई तान्ने खालका छुट, प्याकेज र आकर्षण के दिने भन्नेमा टुंयो छैन,’ उनले भने, ‘संख्या तोक्दैमा पाहुना आउने होइनन। विगतको जस्तो आकर्षण पर्यटनमा छैन। त्यत्ति मात्र नभई व्यावसायीलाइ अहिलेको अप्ठेरोबाट बचाउने खालको योजना पनि छैन।’

अहिले नेपाल आउने पर्यटक अन्यत्र मोडिएको उनले बताए। नेपालतर्फको गन्तव्य महंगो भएको छ। हवाई टिकटमा लागेको मुल्य अभिवृद्धि कर (भ्याट)ले गर्दा यात्रा झनै महंगो पर्ने भएकोले विदेशी पाहुना अन्यत्र मोडिएको उनले बताए। उनका अनुसार हवाई टिकटमा १३ प्रतिशत अतिरिक्त भ्याट लिने प्रावधान नेपालमा मात्र रहेको र यसले नेपालसम्मको हवाई यात्रा महंगो बनाएको छ। ‘जहाज टिकट सस्तो बनाउने हो भने केही हुन्थ्यो। नेपालमा हवाई टिकटमा लागेको भ्याटले पनि यात्रा महंगो बनेको छ। यसले पर्यटकलाई आकर्षण थप्न सकेको छैन,’ सापकोटाले भने।  

पर्यटन बोर्डका निर्देशक मणिराज लामिछाने पर्यटन आगमन बढाउनका लागि बोर्डले अन्तर्राष्ट्रिय बजारमा प्रवद्र्धन थालिसकेकोले आगमन बढ्ने आधार रहेको बताउँछन। उनका अनुसार बोर्डले अहिले दुवई र चीनमा प्रवद्र्धनात्मक अभियान चलाईसकेको छ। केही समयमात्र हङकङमा पनि प्रर्वद्धनात्मक अभियान चलाउँदैछ।

‘कोरोनापछि सुस्ताएको प्रर्वद्धन गति लिएको छ। पछिल्लो समय व्यवासायीले पनि प्रर्वद्धन थालेकोले सरकारले बजेटमा भने झै पर्यटक आगमन बढाउन सकिन्छ,’ उनले भने, ‘सरकारले पनि भारत र चीनमा प्रवद्र्धनात्मक कार्यक्रम गर्ने भनेर बजेटमै उल्लेख गरेकोले पनि पाहुना आगमन बढ्ने अपेक्षा राख्न सकिन्छ।’

प्रकाशित: १७ जेष्ठ २०८१ १६:०० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App