१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

नेपालको पर्यटनमा चीन र भारतका पाहुनाको भरोसा

फाइल तस्वीर

छिमेकी मुलुक भारत र चीनबाट विदेश भ्रमणमा निस्किने केही प्रतिशत पर्यटक तान्न सके नेपालको पर्यटन फस्टाउन सक्छ।

चीनबाट वार्षिक लगभग २० करोड र भारतबाट १० करोड नागरिक घुमफिर गर्न देशबाहिर निस्किन्छन्। त्यसको २/३ प्रतिशत मात्र पर्यटक नेपाल ल्याउन सके नेपालको पर्यटन क्षेत्रलाई पर्याप्त हुने व्यवसायी बताउँछन्।

नेपाल घुम्न आउने पर्यटकमा सबैभन्दा धेरै छिमेकी मुलुक भारतका नागरिक छन्। सन् २०२३मा भारतबाट तीन लाख १९ हजार नौ सय ३६ जना पर्यटक हवाई मार्गबाट नेपाल आएका छन्।

पर्यटन विभागको तथ्यांक अनुसार गत वर्ष नेपाल भित्रिएका पर्यटकमध्ये यो ३१.५२ प्रतिशत हो। यो प्रतिशत कोरोना महामारी अघिभन्दा पाँच प्रतिशत बढी हो।

होटल एसोसिएसन नेपाल (हान) का अध्यक्ष विनायक शाहले निजी क्षेत्रले अहिले मुलुकमा आइरहेका पर्यटकको तीन गुणा बढी पर्यटकलाई चाहे अनुसारको सेवा सुविधा दिन सक्ने पूर्वाधारको विकास गरिसकेका बताए।

‘भारत र चीनबाट घुम्न निस्किने पर्यटकको दुई प्रतिशत मात्रलाई नेपाल तान्न सके पनि मुलुकको पर्यटनका लागि पर्याप्त हुन्छ’, उनले भने, ‘सरकारले भारत र चीनबाट घुम्न निस्कने पर्यटकलाई नेपाल आउँआउँ लाग्ने योजना र वातावरण सिर्जना गर्नसके नेपालको पर्यटनलाई प्रशस्त हुन्छ।’

हाल नेपालबाट नेपाल एयरलाइन्सले भारतका विभिन्न सहरमा प्रत्यक्ष हवाई उडान गरिरहेको छ। नेपालबाट हप्तामा २१ भन्दा बढी उडानहरू भारतका विभिन्न सहरमा हुँदै आएका छन्।

भारतको दिल्ली, बनारस, मुम्बई, बेङलुरु, कोलकाता लगायतका प्रमुख सहरहरूमा नेपालबाट सिधा हवाई सेवा उपलब्ध छ। साथै कहिलेकाहीँ निजी एयरलाइन्सले पनि भारतका विभिन्न सहरहरूमा उडान भर्ने गरेका छन्।

यस्तै भारतबाट इन्डिगो, एयर इन्डिया, भिस्तारा लगायतका एयरलाइन्सले पनि नेपाल उडान गर्दै आएका छन्। अन्तर्राष्ट्रिय पर्यटक भित्र्याउने सबैभन्दा महत्वपूर्ण पक्ष हवाई उडान पनि हो। हानका सचिव साजन शाक्यले अन्तर्राष्ट्रिय हवाई उडान जति धेरै गर्न सक्यो उति धेरै पर्यटकहरू मुलुक भित्र्याउन सकिने बताए।

 ‘भारत र चीनका पर्यटकले हाम्रो पर्यटन क्षेत्र धानेको छ’, उनले भने, ‘भारत र चीनको पर्यटकलाई अझै आकर्षित गर्न सक्ने हो भने पर्यटन क्षेत्रको मुहार फेरिन्छ।’

गत वर्ष बाह्रै महिना सबैभन्दा धेरै भारतीय पर्यटक आएका छन्। यस वर्षको जनवरीमा पनि भारतीय पर्यटक सबैभन्दा धेरै भित्रिएका छन्।

पर्यटन व्यवसायीहरूले सरकारसँग बाह्रै महिना भारतीय पर्यटक सबैभन्दा धेरै आउने र त्यसपछि चिनियाँ पर्यटकहरू मुलुक भित्रिने भएकाले सरकारको योजना र कार्यक्रम उनीहरूलाई लक्षित गरेर ल्याउनुपर्ने आग्रह गरेका छन्।

‘पर्यटन क्षेत्रलाई निजी क्षेत्रले गर्नुपर्ने गृहकार्य र योगदान पर्याप्त गरेका छौं। अत्याधुनिक सेवा सुविधा सम्पन्न होटल, क्यासिनो, रेष्टुरेन्ट निर्माण, अन्तर्राष्ट्रिय सभा–सम्मेलन तथा कार्यक्रमहरू आयोजना गरिरहेका छौं’, सचिव शाक्यले भने, ‘सरकारले निजी क्षेत्र जस्तै पर्यटक भित्र्याउन परिणाममूखी काम गर्नुपर्‍यो। योजना नीति बनाउने, कार्यान्वयन र सहकार्य नगर्ने गर्नुभएन।’

सरकारले पर्यटन दशक घोषणा गरेको एक वर्षभन्दा बढी बितिसक्दा पनि पर्यटक भित्र्याउने कुनै कार्यक्रमहरू तय नगरेको जनाउँदै निजी क्षेत्रले जति पनि सरकारले परिणाममूलक काम गर्न नसकेको उनले बताए।

भारत र चीनका लागि नेपाल नजिकको देश भएका कारण पनि दुवै देशको पर्यटक आगमनको संख्या सबैभन्दा बढी भएको हो। त्यसमा पनि भारतीय पर्यटकलाई नेपाल आउन भिसा लगाउनु नपर्ने भएकाले पनि भारतीय पर्यटक उल्लेख्य संख्यामा नेपाल घुम्न आउने गरेका छन्।

यस्तै भारत र नेपालको सीमा सहज भएका कारण केही घण्टामै भारतीय पर्यटकहरू नेपाल आइपुग्न सक्छन्।

पछिल्लो समय निजी क्षेत्रले भारतीय पर्यटकलाई लक्षित गरेर बोर्डर साइडमा अत्याधुनिक होटल, रेष्टुरेन्ट, क्यासिनोहरू निर्माण गरिरहेका छन्। जसले गर्दा भारतीय पर्यटकहरू केही घण्टाको दूरीमै नेपाल आएर मनोरञ्जन गर्ने गरेका छन्।

यस्तै नेपाल र भारतको धार्मिक सांस्कृतिक रहनसहन तथा मूल्यमान्यता मेल खाने भएकाले पनि भारतीय पर्यटकहरू नेपाल घुम्न सकारात्मक रहँदै आएका छन्। भारतीय पर्यटक नेपाल आउने सबैभन्दा बलियो कारण भनेको यहाँका मठ–मन्दिर र धार्मिक स्थलहरू पनि हुन्।

भारतीय पर्यटकहरू धेरैजसो नेपालको मठमन्दिर र धार्मिक स्थलहरू घुम्न आउँछन्। अर्को छिमेकी मुलुक चीनले २०२३को मार्चदेखि मात्र आफ्ना नागरिकलाई नेपाल घुम्न जाने अनुमति दिएको थियो।

कोरोना महामारीपश्चात् चीनले नेपाललाई गत मार्चदेखि मात्र घुम्ने गन्तव्य मुलुकको सूचीमा राखेको हो। गत मार्चदेखि मात्र चिनिया पर्यटक नेपाल आउन थाले पनि ६० हजार ८७६ जना चिनियाँ पर्यटक हवाई मार्गबाट नेपाल भित्रिएका छन्।

भारत र चीन विश्वमा सबैभन्दा बढी जनसंख्या भएका मुलुकहरू हुन्। यी दुवै नेपालको छिमेकी मुलुक भएकाले पनि भारतीय र चिनियाँ पर्यटकलाई लक्षित गरी निजी क्षेत्रसँग सहकार्य गरेर विशेष कार्यक्रम ल्याउन सके नेपालको पर्यटन क्षेत्र बलियो हुन्छ।

विस्तारै अन्य मुलुकहरूको पर्यटक लक्षित योजना ल्याई नेपालको पर्यटन क्षेत्रलाई समृद्ध बनाउन सकिने सचिव शाक्यले बताए।

यसबाहेक भारतीय पर्यटकलाई विशेष जोड दिई विभिन्न समयमा गरिएका पर्यटन प्रवर्धन सम्बन्धी प्रचारप्रसार, मेला तथा महोत्सवमा गरिने रणनीतिक भेटघाट भारतीय पर्यटक बढ्नुको अर्को कारण भएको निर्देशक लामिछानेले बताए।

प्रकाशित: १६ फाल्गुन २०८० ०९:१८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App