१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

दश वर्षपछि सरकारी जहाजको जुम्ला–सुर्खेत उडान

नेपाल एयरलाइन्सको ट्विनअटर जहाजले १० वर्षपछि पहिलो पटक जुम्ला–सुर्खेत उडान भरेको छ।

सोमबार बिहान नेपालगञ्जदेखि ७:५० मिनेटमा जुम्ला विमानस्थलमा अवतरण गरेको जहाजले दुई जना यात्रु लिएर सुर्खेतको उडान भरेको हो।

दश वर्षपछि सरकारी जहाजले जुम्ला सुर्खेत उडान गरेको म्यानेजर देवीप्रसाद न्यौपानेले बताए। उनले भने, ‘उडान सुरु भएको छ। कहिलेसम्म चल्ने हो थाहा छैन।’

नेपाल एयरलाइन्सको जहाजले जुम्लाबाट सुर्खेत उडान भरेर मन्त्रीहरूको टोली कालिकोटस्थित सुनथराली विमानस्थलमा पुर्‍याएर सुर्खेत फर्किएपछि जुम्ला उडान गर्ने समय तालिका छ। त्यसपछि सुर्खेतदेखि जुम्ला हुँदै नेपालगञ्ज उडान भर्ने म्यानेजर न्यौपानेको भनाइ छ।

बिहानै आइपुगेकोले यात्रु नभेटिएको पनि उनको भनाइ छ। जुम्ला–सुर्खेत भाडा ५ हजार ४० रुपैयाँ निर्धारण भएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरण जुम्लाका प्रमुख सन्तोष अधिकारीले नेपाल एयरलाइन्सको जहाजले पहिलो उडान जुम्लादेखि सुर्खेत गरेको बताए।

‘सुनथराली विमानस्थल कालिकोटमा मन्त्री ल्याउने भएकोले बिहानै जहाजले जुम्ला उडान गरेको छ,’ प्रमुख अधिकारीले भने, ‘सुर्खेतदेखि आजै नै जहाज जुम्ला आएर नेपालगञ्ज उडान भर्ने कार्य तालिका छ।’ नेपाल एयरलाइन्सको नियमित उडान तालिका आइपुगेको छैन। नियमित गर्ने कि नगर्ने आगामी सोमबारको उडानले मात्र निश्चित गर्छ। अर्को सोमबारदेखि मात्र नियमित फ्लाइटको तालिका आउन सक्ने उनको भनाइ छ।

जुम्ला–सुर्खेत हवाई उडान नहुँदा अहिले पनि लुम्बिनी प्रदेश पुगेर कर्णाली प्रदेशको राजधानी सुर्खेत आउनुपर्ने बाध्यता छ। जुम्लामा नेपाल एयरलाइन्स,सीता,समिट र तारा एयरले उडान भरिरहेका छन्। पर्यटन व्यवसायी ललितजंग महतले यसअघि सीता एयरको उडान सुर्खेत–जुम्ला गरेका थिए।

सरकारले पनि जुम्ला–सुर्खेत उडान भर्ने गरी कार्य तालिका बनाउन नेपाल एयरलाइन्सलाई यसअघि नै भनिसकेको छ। नेपाल एयरलाइन्सले हुम्ला–सुर्खेत उडान भर्ने काम सुरु गरिसकेको छ।

प्रकाशित: १४ फाल्गुन २०८० १३:०३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App