३० चैत्र २०८० शुक्रबार
अर्थ

कागजमै थन्किए दुई दर्जन सुरुङमार्ग योजना

सरकारले बनाएका महत्वाकांक्षी सुरुङ मार्ग योजनाहरू कागजमै थन्किएका छन्। दुई दर्जन सुरुङ मार्ग योजना बनाए पनि एक योजना मात्र निर्माणाधीन रहेको छ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले चालु आर्थिक वर्ष २०८०/८१मा टोखा छहरे सुरुङमार्गको अध्ययन र निर्माणसहित २३ आयोजनाको लागि एक अर्ब ९४ करोड रूपैयाँ मात्र विनियोजन गरेको छ।

चालु आवको सात महिना बित्दासमेत सुरुङमार्ग निर्माण र अध्ययनको कामले भने अपेक्षाकृत गति लिन सकिरहेका छैनन्। मन्त्रालयले टोखा छहरे सुरुङमार्गको अध्ययन/निर्माण शीर्षकमा मात्रै एक अर्ब २५ करोड रूपैयाँ विनियोजन गरेको छ।

सुरुङमार्गमा विनियोजित बजेट अहिलेसम्म अपेक्षाकृत रूपमा खर्च हुन सकिरहेको छैन। गुणस्तर अनुसन्धान तथा विकास केन्द्रका सिनियर डिभिजनल इन्जिनियर राकेश महर्जनले टोखा छहरे सुरुङमार्गको वातावरणीय प्रभाव मूल्यांकनको काम भइरहेको बताए।

‘टोखा छहरे सुरुङमार्गको छिमेकी मुलुक चीनले डिपीआर अध्ययन गर्ने कुरा भइरहेको छ,’ उनले भने, ‘चालु आवमा विनियोजित बजेटमध्ये कति खर्च भयो भन्ने कुरा थाहा भएन।’ उनले अहिले टोखा छहरे सुरुङमार्गको वातावरणीय प्रभाव मूल्यांकनको विषयमा अध्ययन भइरहेको बताए।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले आर्थिक वर्ष २०८०/८१ को वार्षिक कार्यक्रममा २३ वटा सुरुङमार्गको योजना समावेश गरेको छ। जसमध्ये चार वटा सुरुङमार्ग निर्माणको लागि बजेट विनियोजन गरेको छ। अन्य १९ वटा सुरुङमार्ग अध्ययनको लागि बजेट विनियोजन गरेको छ।

मन्त्रालयले सिद्धबाबा सुरुङमार्ग निर्माणको लागि ४५ करोड रूपैयाँ बजेट विनियोजन गरेको छ। धरान–लेउती सुरुङमार्ग निर्माणको लागि ५० रूपैयाँ बजेट विनियोजन गरेको छ। त्यसैगरी ग्वार्काे सातदोबाटो एकान्तकुना फ्लाइओभरको लागि १२ करोड रूपैयाँ बजेट विनियोजन गरेको छ। अन्य १९ वटा सुरुङमार्गको अध्ययन प्रक्रिया अघि बढाउने  बताइएको छ।

सरकारले आर्थिक वर्ष २०७९/८० मा २७ वटा सुरुङमार्ग अध्ययनको लागि एक अर्ब ६ करोड रूपैयाँ बजेट विनियोजन गरेको थियो। तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले प्रतिस्थापन विधेयकमार्फत ल्याएको बजेटमा चालु आर्थिक वर्षमा २७ वटा सुरुङमार्ग अध्ययन र निर्माण गर्ने घोषणा गरेका थिए। सरकारले गत आवमा पनि लक्ष्य अनुसारको बजेट खर्च गर्न सकेन।

आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन अनुसार सडक विभागको झन्डै आधा दर्जनभन्दा धेरै सुरुङमार्गको अध्ययनको काम सकिसकेको छ । बजेट अभावको कारणले निर्माणको काम हुन भने सकिरहेको छैन। धरान लेउती सुरुङमार्गको सम्भाव्यता अध्ययन सम्पन्न भइसकेको छ।

मानेचौर जोड्ने सुरुङमार्गको पनि सम्भाव्यता अध्ययन सकिएको छ। विपिनगर खुटिया दिपालय खण्डमा पनि सुरुङमार्गको सम्भाव्यता अध्ययन सकेको छ। सुरुङ विकास परियोजना अन्तर्गत नयाँ बानेश्वर अन्डरपासको विस्तृत अध्ययन भएर ड्राफ्ट रिपोर्ट प्राप्त भएको छ।

त्यसैगरी फुस्रेखोला छोरेपाटन (पोखरा) देखि स्याङ्जा गुडीकोला टनेल अध्ययनको पनि सम्भाव्यता अध्ययन भइरहेको छ।

रारा राजमार्गको केशे पाटन (जाजरकोट ब्याउलीढुंगा र जुम्ला इमिलचा खोला टनेलको पनि सम्भाव्यता अध्ययन भइरहेको छ। बागलुङ गव्यु नरेठाँटी सुरुङमार्गको पनि सम्भाव्यता अध्ययन भइरहेको छ। त्यसैगरी प्रवास जोर्ते (पाल्पा) सडक सुरुङमार्गको पनि सम्भाव्यता अध्ययन भइरहेको छ।

केन्द्रका अनुसार खरिद व्यवस्थापनको प्रक्रियामा विशेष गरी सुनमाई राजदुबोल सुरुङमार्ग अध्ययन इलामको संभाव्यता अध्ययन भएको छ। मझिम्टार–शक्तिखोर सुरुङमार्ग, दुम्कीबास–बर्दघाट र हेम्जा–नयाँपुल खण्ड सडक सुरुङमार्गको पनि विस्तृत सम्भाव्यता अध्ययन भइसकेको छ।

सुरुङमार्ग विकास कार्यक्रम अन्तर्गत बेंशीसहर–नाल्म बेंशी सुरुङमार्ग, लुम्बिनी रारा राजमार्गको जाजरकोट ब्यउलीढुंगा–जुम्लाको टोप्ला सुरुङमार्ग, लुम्बिनी रारा पर्यटकीय राजमार्ग अन्तर्गत तुलसीपुर लुहमा सुरुङमार्ग, पाणिनि गाउँपालिकादेखि दुर्गाफाँट सुरुङको विस्तृत सम्भाव्यता अध्ययन (डिपीआर) गर्न आवश्यक देखिएको छ।  

प्रकाशित: ११ फाल्गुन २०८० १०:५५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App