१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

एनआरएनएद्वारा परोपकारमा साढे ६ करोड सहयोग

काठमाडौंमा शनिबार पत्रकार सम्मेलनमा गर्दै एनआरएनए आईसीसीका पदाधिकारी। तस्बिर : नागरिक

गैरआवासीय नेपाली संघको अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनए आईसीसी) ले नेपालका विभिन्न क्षेत्रमा पुगेर परोपकारी कार्यमा साढे ६ करोड बढी आर्थिक सहयोग गरेको छ।

एनआरएनए आईसीसीले शनिबिार पत्रकार सम्मेलन गरी तीन महिनाको अवधिमा  विभिन्न परोपकारी कार्यमा साढे ६ करोड बढी आर्थिक सहयोग गरेको जानकारी दिएको छ।

एनआरएनए आईसीसीका अध्यक्ष डा. बद्री केसी नेतृत्वको नयाँ कार्य समितिले तमाम अड्चन र चुनौतीबीच परोपकार, लगानी, संस्थागत विकासलगायतका काम गरिरहेको प्रवक्ता फणिन्द्र पन्तले बताए।  

यसैगरी कार्य समितिले मोबाइल ब्लड बस, अक्सिजन प्लान्ट स्थापना, जाजरकोट र रुकुम पश्चिममा भूकम्प पीडित, खेल क्षेत्रलगायत मानवीय काममा ९० दिनमा ६ करोड ६५ लाख ९१ रुपैयाँबारबारको आर्थिक सहयोग गरेको छ।

यसैगरी संघले भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिममा स्वास्थ्य शिविर सञ्चालन, छात्रछात्रालाई न्यानो कपडा पनि वितरण गरेको प्रवक्ता पन्तले जानकारी दिए। उनकाअनुसार संघले भूकम्प प्रभावित क्षेत्रमा पुनर्निर्माणलगायत दीर्घकालीन सहयोगका लागि स्थानीय सरकारसँग समन्वय गरिरहेको छ।

यसैगरी, संघले यसै साता कोशी प्रदेशको धरानमा, मधेस प्रदेशको जनकपुरमा ७० लाख रुपैयाँ पर्ने एक-एकवटा मोबाइल ब्लड बस हस्तान्तरण गरेको छ। आगामी २६ जनवरीमा लुम्बिनी प्रदेशमा पनि मोबाइल ब्लड बस हस्तान्तरण गर्ने तयारी रहेको प्रवक्ता पन्तले बताए।

यसैगरी एनआरएनएले टी– २० विश्वकपमा पुग्न सफल क्रिकेट टिमलाई पनि १० लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ । उनका अनुसार नेपाली भलिबल राष्ट्रिय टिमको लागि आठ लाख रुपैयाँ, छैटौं एनआरएनए सुदूरपश्चिम फुटबल प्रतियोगिताको सहयोगार्थ दुई लाख ५० हजार रुपैयाँ, पोखरा म्याराथनका लागि सात लाख ५० हजार रुपैयाँ, एनआरएनए इलाम गोल्ड कपको लागि पाँच लाख रुपैयाँ आर्थिक सहयोग गरिएको छ।

यसैगरी, संघले धनगढीको सेती प्रादेशिक अस्पतालमा १ करोड २५ लाख रुपैयाँ, कञ्चनपुर जिल्लाको महाकाली प्रादेशिक अस्पतालमा १ करोड २५ लाख रुपैयाँको अक्सिजन प्लान्ट स्थापना गर्ने कामले पूर्णता पाइसकेको उनले जानकारी गराए।

यसैगरी एनआरएनएले वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका डोटीका सुरेश सिल्लाको परिवारलाई गैरआवासीय नेपाली संघ कंगोको सक्रियतामा संकलित २६ लाख ६१ हजार रुपैयाँ राहतस्वरुप हस्तान्तरण गरेको छ।

यस्तै, कञ्चनपुरको झलारीस्थित कृष्ण वैजनाथ बहुमुखी कलेजका छात्राहरूको शौचालय निर्माणको लागि २० लाख रुपैयाँ सहयोग हस्तान्तरण गरिएको, सडक बालबालिकाको शिक्षा तथा बसोबासको सहयोगार्थ युसेफ नेपाल भक्तपुरमार्फत् ७ लाख ५० हजार रुपैयाँ सहयोग प्रदान गरिएको प्रवक्ता पन्तले जानकारी गराए।

पत्रकार सम्मेलनमा प्रवक्ता पन्तले गैरआवासीय नेपाली नागरिकता, वैदेशिक रोजगार, सामाजिक सुरक्षा, १० अर्ब लगानी लगायतका विषयमा सरोकारवाला सरकारी निकाय र मन्त्रालयबीच छलफल तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गर्ने तयारी रहेको बताए।

उनका अनुसार अगामी दिनमा संघले कोशी प्रदेश लगानी प्राधिकरणसँग सहकार्यमा चिया प्रवर्धन र प्राविधिक शिक्षामा सहकार्य गर्दै अघि बढ्ने योजना बनाएको छ।

पत्रकार सम्मेलनमार्फत संघले सुदूरपश्चिम प्रदेशमा आयोजना हुन लागेको लगानी सम्मेलनमा सहभागी भएर सहकार्य गर्न विदेशमा रहेको नेपाली समुदायलाई आह्वानसमेत गरेको छ।

प्रवक्ता पन्तले गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद्को आगामी कार्यक्रमहरू तय गर्न संघको पूर्ण बैठक आइतबार र सोमबार काठमाडौंस्थित चन्द्रागिरिमा बस्ने जानकारी पनि दिए।

गैरआवासीय नेपालीको नागरिकतालाई राज्यका निकाय मालपोत, एयरपोर्टले नचिन्ने गरेको भन्दै नागरिकताबाट पाउने अधिकारका लागि छुट्टै निर्देशिका बनाउन गृह र परराष्ट्रमा पहल गरिरहेको बताए।

संघको गत अक्टोबरमा सम्पन्न ११औं महाधिवेशनले केसी नेतृत्वको नयाँ कार्यसमिति चयन गरेको हो। ५९ देशका महाधिवेशन प्रतिनिधिले इतिहासमै पहिलोपटक अनलाइन मतदानमार्फत् नयाँ कार्य समिति चुनेको थियो।

प्रकाशित: ७ माघ २०८० ०३:११ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App