१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

पर्यटक भित्र्याउन आफैं कस्सिए पत्रकार

माघ १ गते प्रधानमन्त्रीले शुभारम्भ गर्ने

नेपाल पत्रकार महासंघ अर्घाखाँचीले आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन पहल थालेको छ। गाउँबस्ती रित्तिँदै जान थालेपछि चहलपहल बढाउन महासंघ आफैं तातिएको हो।

जिल्लामा रहेका धार्मिक, पर्यटकीय र ऐतिहासिक क्षेत्रलाई एकीकृत प्याकेजका रूपमा विकास गरेर पर्यटक आकर्षण गर्न पत्रकार नै अग्रसर नहुने हो भने भएका गन्तव्य पनि ओझेलमा परिरहने निष्कर्ष निकाल्दै नेपाल पत्रकार महासंघले ‘अर्घाखाँची पर्यटन प्रवर्धन कार्यक्रम २०८०’ सुरु गरेको छ।

गौतमबुद्धको जन्मस्थल लुम्बिनी क्षेत्रमा आएका पर्यटकलाई सुपादेउराली लैजाने र सुपादेउराली आएका पर्यटकलाई जिल्लाका अन्य गन्तव्यसम्म पुर्‍याउने कार्यक्रमको मुख्य लक्ष्य रहेको छ।

सुपादेउराली आएका पर्यटकलाई अन्य धार्मिक, ऐतिहासिक तथा मनोरम स्थलको जानकारी नहुँदा लुम्बिनीबाटै फर्कने गरेका छन्। जिल्लामा रहेका अन्य गन्तव्यको महत्व, पहिचान र जानकारी नहुँदा पर्यटकको रोजाइमा पर्न सकेका छैनन्।

जिल्लामा रहेको सुपादेउराली मन्दिरमा मासिक ३० हजारभन्दा अधिक पर्यटक आउँछन्। जिल्लाभित्रै, छिमेकी जिल्ला, देश तथा विदेशबाटसम्म यहाँ पर्यटक आउँछन्। ती पर्यटकलाई जिल्लाका अन्य गन्तव्यमा पुर्‍याउने गरी महासंघले पहलकदमी थालेको हो।

जिल्लामा सुपादेउराली मन्दिरका अलावा तत्कालीन बाईसे–चौबिसे राज्यको खाँची दरबार, अर्घा दरबार, जंगबहादुर राणा जन्मिएको (मथुराबेसी) लामपाटी दरबार, जंगबहादुरको न्वारन भएको स्थान बलकोट पौवा, पाकिस्तानबाट आएर पाणीनि ऋषिले तपस्या गरेको तथा व्याकरणको उत्पत्ति भएको पाणीनि तपोभूमि, रूखको खोचमा रहेको पानी कहिल्यै नसुक्ने मालारानीको मनोचिन्ते पानीलगायत मालारानी मन्दिरपरिसर यहाँका ऐतिहासिक क्षेत्र हुन्।

भूमिकास्थानको भुमे मन्दिर, सेङलेङ दह, सिद्धगुफा, मालारानी गाउँपालिकाको नृसिंह थान, जालकाँडा लेक, छत्रदेव गाउँपालिकाको छत्रेश्वर महाराजको मन्दिर, आकाशेदेवीको तेह्रतले मन्दिर, पाणीनि गाउँपालिकाको दुर्वासेश्वर गुफा, शीतगंगाको डम्मरु दह, पतञ्जलीको उत्पत्तिस्थल, जिल्लाको एक मात्र गोही पाइने स्थान बराह दह, सन्धिखर्क नगरपालिकाको रक गार्डेन, एसियाकै ठुलो भगवतीको मुर्ती भएको स्थल अर्घा, मथुराको कृष्ण मन्दिरलगायत दर्जनौं क्षेत्रले यहाँको पर्यटन प्रवर्धनमा टेवा पुर्‍याउन सक्छन्।

यी क्षेत्रको व्यापक प्रचार-प्रसारसँगै पर्यटकीय एकीकृत प्याकेजका रूपमा विकास गर्न नेपाल पत्रकार महासंघले कार्यक्रम अघि बढाएको छ। सुपादेउराली मन्दिरमा आएका पर्यटकका केही हिस्सा जिल्लाका अन्य गन्तव्य स्थानमा पु¥याउँदा यहाँको सुनसान भएको वातावरणमा केही चहलपहल थपिने, अर्थतन्त्र चलायमान हुन मद्दत पुग्ने र बसाइँसराइको दर घट्ने लक्ष्य लिइएको छ।

‘अर्घाखाँची जिल्ला बसाइँसराइको दृष्टिले उच्च विन्दुमा पुगेको छ, ‘पत्रकार महासंघका अध्यक्ष अशोक खनालले भने, ‘सुनसान भएको गाउँलाई चहलपहल बढाउने हाम्रो प्रयास हो। पत्रकारले यसको जिम्मा लिनुपर्छ भनेर हामी लागेका छौं।’ सर्वदलीय, सर्वपक्षीय निर्णयबाट पत्रकार महासंघले यो कार्यको थालनी गरेको उनले बताए।

अर्घाखाँची पर्यटन प्रवर्धन कार्यक्रम २०८० का प्रवक्ता तथा महासंघका सहसचिव हृदयकुमार भुसालले प्रचुर सम्भावना भएको क्षेत्रलाई प्रचारप्रसार र प्रवर्धनका माध्यमबाट चलायमान बनाउन प्रयत्न गरिएको बताए। उनका अनुसार शुभारम्भ कार्यक्रमपश्चात् देशका प्रमुख १० वटा सहर र छिमेकी देश भारतका सहरहरूमा पुगेर यी क्षेत्रको व्यापक प्रचारप्रसारसहित ‘स्वागत अर्घाखाँची’ कार्यक्रम संञ्चालन गरिने छ।

जिल्लाका धार्मिक, ऐतिहासिक तथा पर्यटकीय क्षेत्रको विस्तृत डकुमेन्ट्री (वृत्तचित्र), ब्रोसर, पहिचानसहितका टिसर्ट, टोपी, डटपेन, किचेनलगायतका सामग्रीसहित देशका प्रमुख सहर तथा छिमेकी मुलुक भारतका केही स्थानमा पुगेर व्यापक प्रचारप्रसार गरिने उनले बताए।

जिल्लाका सबै स्थानीय तहले यो कार्यक्रमलाई साथ दिएका छन्। जिल्ला समन्वय समिति, स्थानिय तह, राजनीतिक दल, सुरक्षा निकाय, सरोकारवाला संस्थासँगको छलफलपछि महासंघले कार्यक्रमलाई तीव्र बनाएको छ। महासंघले पर्यटन मन्त्रालय, पर्यटन बोर्ड, पर्यटन परिषद्सँग समेत आवश्यक छलफल चलाएको छ।

जिल्लाको सर्वपक्षीय बैठकले कार्यक्रमको शुभारम्भ प्रधानमन्त्रीबाट गरिने निर्णय गरेको छ, जसअनुसार महासंघको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई सिंहदरबार पुगेरै निम्तो दिएको छ। प्रधानमन्त्रीले कार्यक्रममा आउने प्रतिबद्धता व्यक्त गरेका छन्, जसअनुसार माघ १ गते प्रधानमन्त्रीले कार्यक्रमको शुभारम्भ गर्नेछन्।

शुभारम्भपश्चात् कार्यक्रम चरणबद्ध रूपमा अघि बढ्ने महासंघले जनाएको छ। जिल्लामा पर्यटनका अनेकन सम्भावना हुँदाहुँदै पनि पछि पर्नुपरेको भन्दै महासंघले यो कार्यक्रमको मिसन अर्घाखाँचीमा पर्यटक भित्र्याएर सुनसान भएको माहोललाई तताउने र बसाइँसराइ दरलाई कम गर्ने रहेको बताएको छ।

प्रकाशित: १५ पुस २०८० ०४:२९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App