१५ असार २०८१ शनिबार
image/svg+xml
अर्थ

कोरला नाका खुलेपछि मुस्ताङीको दैनिकी सहज बन्दै

दैनिक दुई सय मुस्ताङी चिनियाँ बजार पुग्छन्

चीनको (नेचुङ–लिजी) बजारतर्फ जाने तयारीमा रहेका मुस्ताङी। तस्बिर: नागरिक

चीनसँगको कोरला नाका खुलेपछि उपल्लो मुस्ताङको लो-घेकर दामोदरकुण्ड गाउँपालिका र लोमान्थाङ गाउँपालिकाका स्थानीयवासी दैनिक सामान लिन कोरला नाका भएर चीनको (नेचुङ-लिजी) बजार गइरहेका छन्।

सस्तो र नियमित प्रयोग हुने सामान पाइने लिजी बजारसम्म सहज तवरले पुग्न नपाएका मुस्ताङीले आफू निकट मानिएका व्यापारीबाट बेलाबेलामा सामान ढुवानी गर्ने गरे पनि नाका खुलेपछि दैनिक मुस्ताङीले आवश्यक सामान ल्याउने गरेका छन्।

अहिले परिचयपत्र भएका उपल्लो मुस्ताङका दुई गाउँपालिकाका बासिन्दाले चिनियाँ व्यापारिक महलबाट दैनिक खाद्यान्न, लत्ताकपडा, कस्मेटिक, विद्युतीय उपकरण र स्थानीयवासीले नियमित उपभोग गर्ने साम्रगीहरू खरिद गर्र्ने गरेको लोमान्थाङ गाउँपालिका–५ का वडा अध्यक्ष डुक के विष्टले बताए।

‘नाका खुलेपछि मुस्ताङीहरू सामान लिन नियमित जान्छन्, ‘भान्सामा पाक्नेदेखि लगाउनेसम्मका सामान सबै तिब्बती बजारबाटै आउँछ’ अध्यक्ष विष्टले भने।

उनले खाद्यान्न र लत्ताकपडाबाहेक निर्माण साम्रगी समेत तिब्बती बजारमा सस्तो भएकाले सिमेन्ट, फलामसहित हेभी मेसिनहरू बिस्तारै आयात हुने बताए। 

खाद्यान्न अन्तर्गत तिब्बतबाट चामल भने निकै कम आउने गरेको वडा अध्यक्ष बिष्टले बताए।

नाका खुलेपछि लुकिछिपी ल्याइने गरेको घोडा, भेडाच्यांग्रा, याकसमेत नाकाबाटै ल्याउन सहज हुने उनले बताए। ‘अब तिब्बती भेडाच्यांग्रा ल्याउनसमेत सहज हुन्छ, ‘नाका खुलेपछि धेरै सहज भएको छ’ उनले भने।

नाका खुलेपछि पहिलोपटक सहजै तिब्वती व्यापारीबाट भेडासमेत खरिद गरेर ल्याइएको उनले बताए। तिब्बतका बासिन्दाले नेपाली चामल मन पराउने भएकाले यताबाट खाद्यान्न सामग्री अन्तरगत चामल निर्यात गर्न सकिने बताए।

जाडो मौसममा उपल्लो मुस्ताङ छोड्ने स्थानीयले घुम्ती व्यापारका लागिसमेत तिब्बती बजारबाट सामान लिएर आउने तयारीसमेत गरेका छन्।

यसपटक खाद्यान्न, लत्ताकपडासहित कस्मेटिक साम्रगी लिएर घुम्ती व्यापारका लागि जाने तयारी गरेको लोमन्थाङकी पर्यटन व्यवसायी कर्चुङ विष्टले बताइन्।

‘कोरला नाकाले मुस्ताङको मुहार फेरिन्छ, हरेक मुस्ताङीलाई नाका खुलेपछि धेरै फाइदा भएको छ’, लोमन्थाङकी अगुवा महिला विष्टले भनिन्।

उनले पर्यटन व्यवसायी, व्यापारीबाहेक सामान्य खेती किसानी गर्नेहरूले पनि तिब्बती बजारबाट सामान खरिद गर्ने गरेको बताइन्। कोरला नाका खुलेपछि चिनियाँ सामानहरू खरिद गरी मुस्ताङीले अन्यत्र पनि बिक्री गर्न थालेका छन्।

नाका खुलेको करिब एक सातामा तिब्बती सामानहरू तल्लो मुस्ताङसम्म आइपुगेका छन्। तिब्बती बजारबाट घरमा सजाउन प्रयोग हुने साम्रगी र पस्मिनाबाट बनेका सामानहरू खरिद गरेको नेकपा (माओवादी केन्द्र) का नेता ङुटुक गुरुङले बताए।

तल्लो मुस्ताङको घरपझोङ गाउँपालिका–३ स्याङमा निर्माणधीन अवस्थामा रहेको घरमा बस्नका लागि प्रयोग हुने गलैंचासमेत तिब्वती बजारबाट ल्याएका गुरुङले केही महिना तिब्बततर्फ निर्यातभन्दा आयात बढी हुने बताए।

कोरला नाकाबाट मुस्ताङका पाँच वटै स्थानीय तहका बासिन्दालाई आवतजावत गर्न दिने सहमति भएको थियो। सहमति भए पनि अहिले परिचय पत्र पाएका उपल्लो मुस्ताङका करिब एक हजार जनाले मात्रै नियमित सामान खरिद बिक्री गर्न पाएका छन्।

लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टासी नर्वु गुरुङ, लोघेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष राजु विष्टलेसमेत स्थानीयलाई आवश्यकता अनुसारको सामान आयात गर्न र चिनियाँ बजारको माग अनुसारको उत्पादनलाई प्रोत्साहन गरेका छन्।

यता मुस्ताङका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले दैनिक दुई सयको हाराहारीमा मुस्ताङीहरू चिनियाँ बजारमा प्रवेश गर्ने गरेको बताए।

‘नाका खुलेपछि निकै सहज वातावरण छ, अहिलेसम्म मुस्ताङीलाई कुनै समस्या भएको छैन’ प्रजिअ पन्तले भने। उनका अनुसार लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाबाहेक अरू पालिकाबासीलाई प्रस्थान प्रवेशपत्र वितरणको प्रक्रिया अघि बढाइएको बताए।

विगतका वर्षमा दुई पटक हुने व्यापार मेला २०७६ सालको भदौदेखि दलाई लामा समर्थकको घुसपैठ लगायत सुरक्षा तथा विविध कारण देखाउँदै दोस्रो अन्तरदेशीय व्यापार मेला स्थगित गरेपछि उपल्लो मुस्ताङीलाई निकै समस्या भएको थियो।

यसैबीच चिनियाँ पक्षले नाकामा धमाधम पूर्वाधार थपिरहेको अवस्थामा नेपालतर्फ भने पूर्वाधार नै नहुँदा समस्या भएको छ। चीनले नाकामै भव्य संरचना बनाउँदा नेपालले भने बोर्डर आउटरिच पोस्ट (बिओपी) पनि नाका भन्दा १८ किलोमिटर वर नेचुङमा राखेको छ।

कोरला २४ नम्बर पिलर आसपासमा नेपाली पक्षबाट भौतिक पूर्वाधार बनाउन ढिलाइ भएपछि चिनियाँ पक्षले नै पूर्वाधार बनाउन चासो देखाएको छ। चिनियाँ टोलीले नाकामा पर्ने नेपाली भूभागमा आवश्यक संरचना बनाउन प्राविधिकसहितको टोली पठाएको थियो। 

प्रकाशित: ४ मंसिर २०८० ०३:२३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App