coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

अमेरिकी समाचार संस्था सिएनएन भन्छः २०२३ मा घुम्नुपर्ने गन्तव्यमा ‘मुस्ताङ उपत्यका’

हिमाली जिल्ला मुस्ताङको मुक्तिनाथ क्षेत्रबाट देखिएको आसपासको क्षेत्र। फाइल तस्बिरः नागरिक

हिमालपारिको जिल्ला मुस्ताङ घुम्न जान जो कोही लालायित हुन्छन्। आन्तरिक मात्र नभई विदेशी पाहुना पनि मुस्ताङ जाने भनेपछि हुरुक्कै हुन्छन्। त्यसैले त अतिरिक्त शुल्क तिरेर माथिल्लो मुस्ताङ घुम्न निस्कने पाहुना पनि पर्याप्त हुन्छन।  

भारतीय पाहुना त झन मुस्ताङ नै भनेर आउने गर्छन। प्रख्यात मुक्तिनाथ मन्दिरका कारण पनि धार्मिक पर्यटनका लागि पनि मुस्ताङ उत्तिकै प्रख्यात छ। धार्मिक गन्तव्यका कारण ठुलो संख्यामा भारतीय पाहुनालाई मुस्ताङले तान्न सकेको छ। त्यसैले सन् २०२२ मा करिब ६० हजार विदेशी पाहुना मुस्ताङ उक्लिएका थिए।  

विदेशी पाहुनाको त्यही आगमनलाई बल पु¥याउनेगरि अमेरिकी समाचार संस्था सिएनएनले मुस्ताङ उपत्यकालाई २०२३ मा घुम्नैपर्ने २३ गन्तव्यभित्र समेटेको छ। मुस्ताङ उपत्यकाको बखान गर्दै पाहुनालाई मुस्ताङ उकाल्ने गरि सिएनएनले समाचारमा ब्याख्या पनि गरेको छ। २०२३ मा घुम्नैपर्ने विभिन्न २३ मुलुकमध्ये नेपालको मुस्ताङ पनि समेटिँदा त्यसले पर्यटनमा सकारात्मक प्रभाव पार्ने पर्यटन व्यावसायीको भनाई छ। विश्वमै प्रख्यात समाचार संस्थाले मुस्ताङलाई घुम्नैपर्ने गन्तव्यमा समेट्दा आगामि दिनमा नेपाल आउने पर्यटकको आकार बढाउन सघाउने व्यावसायीको अपेक्षा छ।  

सिएनएनले मुस्ताङलाई हिमाली भेगको पदयात्रा गर्न सकिने गन्तव्यको रुपमा चिनाएको छ। त्यस्तै हिमालय र भारतबीचको ब्यापारलाई सहज बनाउने पुरानो ट्रेलहरु रहेको पनि ब्याख्या गरेको छ । त्यसैगरि मुस्ताङमा सुविधासम्पन्न रिसोर्टहरु पनि रहेको समाचारमा उल्लेख छ। पदयात्राका अतिरिक्त मुस्ताङमा पर्यटकले पुरातन गाउँ र बौद्ध गुम्बा हेर्न सक्ने पनि समाचारमा उल्लेख गरिएको छ। सिएनएनले उल्लेख गरे अनुसार छुटाउनै नहुने अर्काे कुरा भनेको मानवनिर्मित गुफाहरु रहेका छन, जहाँ २ हजार वर्ष पुराना बौद्ध मुर्तिकला र चित्र देख्न सकिन्छ भनेर समाचारमा छ।  

मुस्ताङ उपत्यका प्रवेश गर्न सक्नु आफैमा साहसिक गतिविधि रहेको पनि सिएसनएनको ब्याख्यामा उल्लेख छ। त्यसका लागि यात्रुले केन्द्रीय राजधानी काठमाडौंदेखि २५ मिनेटको हवाई यात्रापछि पोखरा पुग्नुपर्ने हुन्छ, त्यसपछि अर्काे जहाजमा २० मिनेट उडेपछि जोमसोम पुुग्न सकिन्छ। काठमाडौंदेखि १२ घण्टामा गाडीमै मुस्ताङ पुग्न सकिने भएकोले हवाई यात्रा भन्दा वैकल्पिक यात्राका क्रममा देखिने दृष्य झनै मनमोहक हुनसक्ने पनि समाचारमा उल्लेख गरिएको छ।  

मुस्ताङ अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)को संरक्षित क्षेत्रभित्र पर्छ। एक्याप जोमसोमका संरक्षण अधिकृत अशोक सुवेदीका अनुसार सन् २०२२ मा सबैगरि ६० हजार विदेशी पाहुना जोमसोम पुगेका थिए। तीमध्ये करिब ५० हजार भारतीय र बाँकी तेश्रो मुलुकका पाहुना रहेको सुवेदीले बताए मुक्तिनाथ दर्शन गर्न आउने भएकोले भारतीय पाहुनाको संख्या ठुलो हुने गरेको उनले बताए।

‘विश्वप्रख्यात समाचार संस्था सिएनएनले मुस्ताङ उपत्यकाको ब्याख्या गर्दै यो वर्ष घुम्नै पर्ने गन्तव्यमा समेट्नु आफैमा सुखद समाचार हो,’ सुवेदीले भने, ‘यसले मुस्ताङको पर्यटन प्रवद्र्धनमा सहयोग हुन्छ।’ पछिल्ले समय यात्रामा निस्कने पर्यटकहरुले सम्बन्धित गन्तव्यको अध्ययन गर्छन। अन्तर्राष्ट्रिय र विश्वसनीय समाचार माध्यममा मुस्ताङबारे लेखिदा त्यसको प्रभावले पाहुना आगमनमा वृद्धि गराउन सघाउनेछ,’ उनले भने।  

उनका अनुसार कोरोना भाइरस संक्रमण सुरु हुनु अघि २०१९ मा पनि मुस्ताङमा सबैगरि ६० हजारजति विदेशी पाहुना भित्रिएका थिए। कोरोनाका कारण त्यो आकार पछिल्लो दुईवर्ष केही कम भएपनि अहिले भने पुरानै आकारमा आगमन उक्लिसकेको उनले बताए।  

पर्यटन व्यावसायी पनि सिएनएनको यो गन्तव्य पहिचानले पर्यटन प्रवद्र्धनमा सघाउने बताउँछन्। पदयात्रा व्यावसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज एशोसिएसन अफ नेपाल (टान) गन्डकी अध्यक्ष धर्मराज पन्थी भन्छन, ‘अन्तर्राष्ट्रिय बजारमा पर्यटन प्रवद्र्धनका गतिविधि कम भएको भन्ने गुनासो पर्यटन व्यावसायीले गरिरहन्छन। प्रवद्र्धन नहुँदा तेश्रो मुलुकका विदेशी पाहुना सोचेजति आउन नसकेको भन्ने गुनासो पोखरेली व्यावसायीको पनि छ। तर अन्तर्राष्ट्रिय संचारमाध्यमले नेपालका गन्तव्यलाई घुम्नैपर्ने सुँचीमा समेट्नु समग्र पर्यटनका लागि खुसीको कुरा हो।’ यो प्रवद्र्धनले आगामि दिनमा तेश्रो मुलुकका पाहुनाको नेपाल आगमन बढाउन सघाउने अपेक्षा गर्न सकिने उनले बताए। नेपालको गन्तव्य दूरीका हिसाबले टाढा भएपनि घुमघामका लागि उपयुक्त भन्ने सन्देश फैलिएको उनले बताए।

प्रकाशित: ३१ वैशाख २०८० ११:२६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App