२७ पुस २०८२ आइतबार
image/svg+xml
अर्थ

नयाँ वर्षमा भोजपुरका पर्यटकीय क्षेत्रमा पर्यटकको घुइँचो

नयाँ वर्ष २०८० को अवसरमा जिल्लाको पर्यटकीय क्षेत्रमा पर्यटक बढेका छन्। यहाँका सुन्तले, बाघखोर, चखेवा, टेम्केडाँडा, मैयुङडाँडालगायत स्थान आन्तरिक पर्यटकले भरिएका हुन्। तीमध्ये सुन्दर पर्यटकीय क्षेत्र सुन्तले र बाघखोरमा बढी मात्रामा पर्यटक पुगेका छन्।  

सदरमुकामबाट नजिकै रहेको स्थान पर्यटकीय गन्तव्यको रूपमा स्थापित स्थान हो। सडकको सञ्जाल जोडिएपछि टेम्केमैयुङ चखेवा र टेम्के डाँडामा पनि मानिस नयाँ वर्ष मनाउन पुगेका छन्। प्राकृतिक दृश्यको आनन्दसँगै स्थानीय परिकारको स्वाद लिनका लागि यहाँ दैनिक दर्जनौंको संख्यामा आन्तरिक पर्यटक सुन्तले पुग्ने गरेका छन्।  

भोजपुर सदरमुकाम र दिङ्ला सडकखण्डमा पर्ने यी स्थानमा पुग्नका लागि पर्यटकलाई सहजता छ। खास गरेर सहरी जीवनको व्यस्तताबाट थोरै समय लिएर घुम्न जानेका लागि सबैभन्दा उपयुक्त गन्तव्य बनेको छ। सडक सञ्जालको विस्तारसँगै पछिल्लो समय यहाँ चहलपहल पनि बढ्न थालेको देखिन्छ।  

सदरमुकामबाट करिब १० किलोमिटर दूरीमा सुन्तले र १२ किलोमिटरको दूरीमा बाघखोर पर्दछ। यी क्षेत्रको स्थानीय तहहरूले पनि पर्यटकीय क्षेत्रको रूपमा विकास गरिरहेका छन्। समुद्री सतहदेखि करिब दुई हजार चार सय मिटरको उचाइमा रहेको छ। सगरमाथा, मकालु कञ्चनगङ्घा, गौरीशङ्करलगायत हिम शृंखला, अरूण उपत्यका, अरूण नदी, साल्पासिलिछो चुचुरो, मैयुङडाँडा, भोजपुर सदरमुकाम, टेम्केडाँडा र भोजपुर खोटाङको सिमानाको चखेवा भन्ज्याङको सुन्दर दृश्यावलोकन गर्न पर्यटक यहाँ पुग्ने गरेका छन्। पर्यटकलाई लक्षित गरेर यहाँ भ्यु टावरसँगै वनभोज स्थलसमेत निर्माण गरिएको छ।  

खास गरेर यहाँ राई, शेर्पा र तामाङ समुदायको बसोबास रहेको छ। स्थानीय परिकारले पनि पर्यटकलाई लोभ्याउने माध्यम वनको छ। यहाँ आउने पर्यटकको संख्यामा दिनानुदिन वृद्धि भइरहेको बाघखोरमा व्यवसाय गर्दै आउनुभएका गणेश तामाङले बताए। यो क्षेत्रको अझ विकास गर्नसके पर्यटकको संख्या बढ्ने तामाङको भनाइ छ। ‘नयाँ वर्षको अवसरमा पर्यटक बढेका छन्,’ उनले भने, ‘नयाँ वर्षमा यहाँ बाहिरी जिल्लाबाट समेत पर्यटक आउने गरेका छन्। खास गरेर यहाँको मनोरम दृश्य र स्थानीय परिकारले पर्यटकलाई लोभ्याउने गर्दछ,’ प्रायः भोजपुर आएका मानिस एक पटक सुन्तले पुग्ने गरेको तामाङको भनाइ छ। पर्याप्त पूर्वाधार नभएकाले धेरैको संख्यामा पर्यटक आए भने व्यवस्थापनमा कहिलेकाहीँ समस्या हुने गरेको तामाङको भनाइ छ।  

नगरपालिकाको सहयोगमा बाघखोरमा बुद्धको मूर्ति, बाघको मूर्ति निर्माण भएको छ। यो पनि यहाँको आकर्षणको केन्द्रको रूपमा रहेको छ। असोज महिनापछि पर्यटकको आवागमन झन् बढ्ने तामाङको भनाइ छ।  

प्रकाशित: २ वैशाख २०८० ०१:३६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App