१३ आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

फेवा नववर्ष महोत्सवः पोखराका होटलमा २० प्रतिशत छुट

पोखरामा चैत अन्तिममा हुने फेवा नववर्ष महोत्सवबारे जानकारी दिँदै आयोजक। तस्बिरः सन्तोष/नागरिक

सुस्ताएको पर्यटन क्षेत्र उकास्नका लागि होटल संघ पोखराले १८ औं संस्करणको फेवा नववर्ष महोत्सव आयोजना गर्ने भएको छ। चैत २९ देखि बैशाख १ गतेसम्म आयोजना हुने महोत्सव पोखराको पर्यटकीय क्षेत्र लेकसाइडमा संचालन हुनेछ। संघले आन्तरिक पर्यटक भिœयाउनका लागि महोत्सव सहयोगी बन्ने बताएको छ।

महोत्सव अवधिमा संघमा आवद्ध होटलका कोठामा २० प्रतिशत छुट दिने बुधबार आयोजित पत्रकार भेटघाटमा संघका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए। उनका अनुसार यो छुटले आन्तरिक पाहुनालाई पोखरामा आकर्षण गर्न सहयोगी हुने उनले बताए। ‘होटलले प्रकाशित गरेको मूल्यसुँचीमा २० प्रतिशत छुट दिइनेछ,’ उनले भने, ‘यसले पाहुनालाई पोखरा घुमघामका लागि आउनका लागि सहयोग पुग्नेछ।’

पोखराका अहिले आन्तरिक पाहुना पनि कम भएको बेला यो छुटले केही पाहुनालाई आकर्षित गर्न सघाउने उनले बताए। व्यावसायीका अनुसार यो बेला पर्यटन क्षेत्रका लागि मुख्य सिजन हो। तर, योवर्ष भने मुख्य सिजनमा पनि पोखरामा कम संख्यामा पाहुना आएका छन्। यतिबेला पोखराका होटलको अकुपेन्सी करिब ९० प्रतिशत पुग्नुपर्नेमा विदेशी पाहुना अभावमा होटलको अकुपेन्सी दर २० प्रतिशत हाराहारीमा सिमित रहेको अध्यक्ष सुवेदीले बताए। उनका अनुसार २० प्रतिशत अकुपेन्सीमध्ये पनि ५ प्रतिशत तेश्रो मुलुक, १० प्रतिशत आन्तरिक र बाँकी भारतीय पाहुना रहेको उनले बताए।  

‘यो बेला पोखराका होटलको अकुपेन्सीमा ठुलो हिस्सा तेश्रो मुलुकका विदेशीको हुनुपर्ने हो, तर, त्यो आकारमा पाहुना आएकै छैनन,’ उनले भने, ‘विश्वव्यापी आर्थिक मन्दीका कारण पनि प्रभावित आगमन प्रभावित भएको हुनसक्छ। किनकी कोरोना भाइरस संक्रमणले विश्वव्यापी रुपमा आर्थिक अवस्था कमजोर बनाएको छ । नागरिकले आम्दानी गुमाएका छन्। त्यसले गर्दा खर्च गर्न सक्ने क्षमतामा हस आएको छ।’

पाहुना कम हुँदा यसैपनि पोखराका होटलले सस्तोमा सेवा दिएको उनले बताए। ‘यसै पनि हामीले होटलको कोठाको पूरा मुल्य लिन सकेका छैनौ। त्यसैमा २० प्रतिशत भन्दा बढी छुट दिँदा थप समस्या पर्ने भएकोले हालका लागि होटलले प्रकाशित मुल्यमा छुट दिन थालेका हौ,’ अध्यक्ष सुवेदीले भने, ‘सबैतिर एकरुपता होस भनेर पनि एकैखालको छुटको घोषणा गरेका हौं।’ 

उनका अनुसार पछिल्लो समय स्थलमार्गबाट आउने पाहुना पनि पोखरा आएका छैनन। स्थलमार्गको यात्रा निकै नै झन्झटिलो भएकोले पनि पाहुना आउन नसकेको उनले बताए। ‘यो बेला काठमाडौंबाट मोटरसाइकलमा युवाहरु पोखरा आउँथे। तर, अहिले स्थलमार्गको झन्झटका कारण मोटरसाइकलमा आउने अवस्था रहेन,’ उनले भने।

पोखरामा हरेक वर्ष हुने यो महोत्सवले नेपाली नयाँवर्षलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय बजारमा पहिचान दिलाउन पनि सघाउने अध्यक्ष सुवेदीको भनाई छ। पोखरामा अंग्रेजी नयाँवर्ष भव्य रुपमा मनाउने गरिएकोमा अब नेपाली नयाँवर्षलाई पनि भव्य बनाउन यस्ता मेला महोत्सवले सघाउने उनको भनाई छ। नेपाली नयाँवर्ष मनाउनकै लागि पाहुना पोखरा आउने व्यावसायीको अपेक्षा रहेको छ। पोखराको लेकसाइडस्थित फिस्टेल गेटदेखि हल्लनचोकसम्म आयोजना हुनेछ। उद्घाटनका अवसरमा महोत्सवको पहिलो दिन लेकसाइडमा झाँकी प्रस्तुत गरिने पनि आयोजकले बताए। पोखराको यो महोत्सवले पर्यटन, संस्कृति र खानालाई विशेष जोड दिने आयोजकको भनाई छ।

प्रकाशित: २२ चैत्र २०७९ १०:४९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App